तालकुमारी अडै सशस्त्र द्वन्द्वकालमा माओवादीबाट यति पीडित बनिन् कि, गाविसको सचिव भएको निहुँमा श्रीमानलाई मरणासन्न भएको आँखैले देखिन् अनि माओवादीकै श्रमदानको उर्दीमा पठाउँदा छोरी गुमाइन् ।
माओवादीले दश वर्षे जनयुद्ध सुरु गरेको थलो हो, रुकुम– रोल्पा । बाग्लुङ र बेनी जिल्लाहरु पनि जनयुद्धमा अति प्रभावित जिल्लाहरुमा पर्दछन् । माओवादीले युद्धमा सफलता मात्र हासिल गरेन, २ सय चालीस वर्ष लामो राजतन्त्र अन्त्य गरेर देशमा लोकतन्त्र र गणतन्त्रसमेतस्थापित भयो ।शान्ति सम्झौतापश्चात माओवादी मुलधारको राजनीतिमा आयो ।
युद्धविरामपश्चात आफ्नै पार्टीको बहुमतको सरकार बन्यो । युद्धको जग बसालेका माओवादी कमाण्डरहरु पार्टीका शीर्ष नेता बनेर कोही जिल्ला त कोही राजधानी पुगे ।उनैको हातमा देशको चापी सुम्पियो । उनैले देश चलाए । शासन गरे । हैकम जमाए ।देश बदल्ने भनेर गएकाहरु आफैं बदलिए । अनि बदलियो उनीहरुको सबथोक। लवाइखवाइदेखि आर्थिक समृद्धिसम्म । झुप्रो महलमा परिणत भयो । चढ्ने गाडी किने, बस्ने महल जोडे तर कहिल्यै युद्धमा साथ दिने जनताका मनलाई सँगै जोडेनन् । जनताका मुद्धालाई शहरको बिलासीले बिसाइदियो तर के जनताले ती नेताहरुलाई बिर्से होलान् त ?२६ औं जनयुद्ध दिवस भव्यताका साथ राजधानीमा मनाइयो । यता तिनै माओवादीले जनयुद्धमा आफन्त गुमाएका वा अंगभंग भएकाहरुका मन भने मनाउन सकेन । उनीहरुले युद्धकालीन समयमा गरेका ज्यादतिमा न
जनतासँग खुलेर माफी मागे न आफैले युद्धमा होमेकाहरुको मन नै बुझाउन सके । जनयुद्धका पीडाका बाछिटा बुझ्न यसपालि लागौं ढोरपाटनतिर ।
तालकुमारी अडै उमेरले ४८ लागिन् । घर उनको ढोरपाटनमा अवस्थित पाखाथर गाउँ । यता औलो बोबाङमा रहेको घरमा छोराछोरी अनि श्रीमान बस्छन् । माओवादी अनि जनयुद्ध,यी शब्दहरु उनको कानमा पुग्दा उनी नराम्ररी झस्किन्छिन्,तर्सिन्छिन् एउटा नराम्रो सपना देखेझैं ।शान्ति सम्झौता भएर यतिका वर्ष बितिसक्दा पनि उनको मनमा भने शान्ति छाएको छैन । अझै दुखिरहन्छ उनकोमन । अनि बल्झिरहन्छ द्वन्द्वकालका घाउहरु ।
अझै सम्झना छ उनलाई त्यो मिति । साल २०६१ असार २० । कान्छो छोरा जन्मेको तीन दिन मात्र भएको थियो । सुत्केरी भएपछि स्याहारसुसारसँगै आराम गर्ने बेला जो थियो तर ठीक विपरीत उनले भोगिन् । न स्याहारसुसार पाइन्, न पर्याप्त आराम नै । उल्टै माओवादी छापामारको अन्याय र अत्याचारमा परिन् । उनका श्रीमान धनबहादुर अडै त्यतिबेला गाविसका सचिव थिए । त्यसैले श्रीमान मात्र हैन, उनको सिंगो परिवार माओवादीको निशानामा थियो । रसाएका आँखाहरु पछ्यौरीको सप्काले पुछ्दै उनी विगतमा फर्किन्छिन्, ‘ढोरपाटनमा श्रीमानलाई माओवादीको ज्यादै डर थियो । जुनै पनि बेला तलमाथि हुन सक्थ्यो । त्यसैले छोराछोरीसँगै उहाँ बोबाङतिरै हुनुहुन्थ्यो । साँझ छ बजेको हुँदो हो । झिस्मिसे साँझमा एक हुल माओवादी घरभित्र छिरे । काखमा च्यापेको तीन दिनको छोरा अनि मेरो सुत्केरी अवस्थालाई वेवास्था गर्दै उनीहरुले मेरो कपाल लुछेर मलाई पछारिदिए । उनीहरुको राय थियो, मैले श्रीमानलाई लुकाएँ । अगेनामा पाक्दै गरेको कसौंडीको भात हु¥याइदिए, आँगनतिर । भाँडाकुडा सबै तितरबितर । छरपष्ट पारिदिए ओढ्ने ओछ्याउने लत्ताकपडा । मन कहाँ थामिन्थ्यो र ? रुदैँ मैले उनीहरुलाई बिलौना गरेँ तर मानव भए पो मन पग्लन्थो । ढुंगा रसाउथ्यो होला तर उनीहरुको मन रसाएन । अलिअलि भएको रासन पनि उनीहरुले नै उठाएर लगे ।’
एकपटक हैन, बारम्बार उनी माओवादीको अन्याय र अत्याचारमा परिन । औलोमा श्रीमान र सन्तानको अवस्था के भयो होला ? यसले झन् उनको मन बेचैन बन्थ्यो । कैयौं दिनहरुभोकभोकै बिते । अनि बिते कैयौं रातहरु अनिदोमा ।मात्र डर थियो मनमा, कतै माओवादीले अनिष्ट केही गरिदिने पो हुन् कि ?
धेरै पछि उनका श्रीमान बोबाङबाट ढोरपाटन आउँदै छन् भन्ने सुइको माओवादीले पाइसकेका थिए । घोडामा सरसामान बोकेर आएका उनलाई देउरालीमै माओवादीले समाते । साथमा भएको असी हजार पैसा र घोडाहरु त लुटे लुटे, पट्टीले आँखाहरु बाँधेर उनलाई माओवादी सेल्टरमा पु¥याए । केरकार गरे । कुटे । पिटे । अचेत अवस्थामा पु¥याएपछि उनलाई नजिकैको चौरमा मिल्काइदिए । यो घटना तालकुमारीको कानसम्म आइपुग्दा उनी छाँगाबाट खसिन् । सुरुमा त पत्याइनन् तर स्वयं आफैंले श्रीमानको दर्दनाक अवस्था देख्दा उनी आफैं अचेत झैं बनिन् । लामो समय कैयौं रकम खर्चेर उपचार भयो । शरीरको घाउ निको भयो तर मनको घाउ कहाँ यति सजिलै निको हुन्थ्यो र ?ज्यान कै जोखिम भएपछि उनका श्रीमान राजधानी भासिए । त्यसपछि त उनको मन पनि भासियो ।
श्रीमान राजधानी भासिँदैमा कहाँ ढुक्क हुनु उनमा ? झन् छटपटी र बेचैन बढ्यो । मन बाँडियो तीनतिर – ढोरपाटन, बोबाङ र राजधानी । बुढेसकाल लागेका सासु, ससुरा, उनी र कान्छा छोरा ढोरपाटन बस्थे । बाँकी दुई भाई छोरा र तीन बहिनी छोरी बोबाङमा । श्रीमान माओवादीबाट बच्न राजधानीतिरै थिए । चारैतिर परिवार फिजिँदा आमाको मन कति पटक टुक्रियो होला ? कुनै हिसाब थिएन ।
साल ठ्याक्कै सम्झना छैन उनमा तर त्यो घटना उनको शरीरमा दबेर बसेको खिलझैं समय समयमा बल्झिरहन्छ । ऐठन गरेझैं बारम्बर झस्किरहन्छिन्,उनी । द्वन्द्वकालको राग दन्किरहेको थियो । यहीँ माझ बोबाङ गाउँमा बिजुली ल्याउने चटारो थियो । त्यसका लागि चाहिन्थ्यो, स्थानीयको श्रमदान । हरेक परिवारबाट एकएकजना अनिवार्य । श्रीमान माओवादीबाट बच्न राजधानी, उनी कहिले ढोर त कहिले बोबाङ गरिरहनु पर्ने । त्यसैले ९ वर्षकी जेठी छोरी श्रमदानमा पठाइन । टाढा भिङखेतीबाट डोकाभरि बालुवा बोक्न ९ वर्षकी बालिकाले कहाँ सक्नु ?दिनभर गह्रौं तौल बोकेको असर उनको स्वास्थ्यमा देखियो । नाभी फुटेर धेरै रगत बगिसकेछ । जीवन र मृत्युको दोसाँधमा रहँदा मात्र उनले खबर पाइन । कैयौं कोश टाढा राजधानीमा रहेको श्रीमानलाई यो पीडा सुनाउने कसरी ? उनी आफैंले बल्लतल्ल बुर्तिबाङ अस्पतालमा पु¥याइन तर धेरै ढिलो भइसकेको थियो । अथक प्रयास गर्दा पनि उनले छोरीलाई बचाउन सकिनन् ।
यता लघु जलविद्युत तयार भयो । गाउँ झलमल्ल भयो तर उनको मनमा भने कहिले उल्लास छाएन । सधैं अन्धकार छाइरह्यो । आफ्नै जीवनको ज्योति (सन्तान) गुमाउँदा बाहिरी झलमलले खास अर्थ नराख्दो रहेछ, उनी थप्छिन् ।
आफ्नो कोखबाट जन्मिएको पहिलो सन्तानले संसार त्याग्दाको पीडाभन्दा बढी कुनै असह्य पीडा होला र एउटी आमालाई ?उतिबेला न मोबाइल फोन थियो न खबर पु¥याउने कुनै माध्यम । भएको टावर माओवादीले ध्वस्त पारिदिएका थिए । उनी सुकसुकाउँदै विगतमा फर्किन्छिन्, ‘छोरीको अन्त्यष्टि आफैंले गरेँ । कोशांै टाढा श्रीमान रहेको राजधानीसम्म यो क्षतिको खबर पुग्न हप्तौं लाग्यो । उहाँले यो खबर थाहा पाउँदा बेहोस नै हुनुभएको थियो रे ! अन्तिम पटक छोरीलाई हेर्ने उहाँको पनि रहर थियो होला तर त्यो कहिल्यै पूरा हुन सकेन ।’
यो सब क्षति माओवादी र जनयुद्धले नै गर्दा भएको हो, उनी बारम्बार यहीँ दोहो¥याइरहन्छिन् । ‘श्रीमानलाई माओवादीले नलखेटेको भए, बालुवा बोक्न कसैलाई पठाइन्थ्यो होला वा छोरीलाई नै पठाएर यो घटना घटेपनि समयमै अस्पताल पुगेर छोरीलाई बचाउन सक्थ्यौं होला । आफ्नै कोखबाट जन्मिएको सन्तानले आफ्नै आँखा अगाडि संसार त्यागेको क्षण कल्पना पनि गर्न नसकिँदो रहेछ । मलाई आजको दिनसम्म पनि एउटै हीनताबोध हुन्छ, मैले छोरीलाई बचाउन सकिन । छोरी त केवल एकपल्ट मरिन्, म जिउँदै बारम्बार मरिरहेँ, उनकै यादमा ।’
गाउँमा माओवादीको बिगबिगी रोकिएन । त्रासदी कहाँ घट्नु ? झन चर्किदै गयो युद्ध ।ज्यान जोगाउन काठमाडौं भागेकाश्रीमान वर्षौ बित्दा पनि ढोरपाटन फर्केनन् । फर्किए मारिने डर जो थियो । ज्यान जोगाउन आफ्नै जहान परिवार अनि घर त्यागेर शहर भाग्नु पर्ने कस्तो त्यो बिडम्बना? जनयुद्धले आखिर के उपलब्धीहरु दिए र ? उनी घोत्लिएर सोचमग्न हुन्छिन् ।
छोरीले संसार छाडेको खबर समेत कैयौं हप्तापछि पाएका धनबहादुरले अन्तिम पटक आफ्ना बुबाको मुखसमेत हेर्न पाएनन् । अन्य दाजुभाइले बुबाको अन्त्यष्टि गरिदिए गाउँमा । एक त खबर नै उनीसम्म ढिलो पुग्यो । अर्को अन्त्यष्टिका लागि गाउँसम्म आउने माहोल पनि कहाँ थियो र ? धन बहादुरजस्ता कैयौं सन्तानले युद्धताका आफ्ना बाआमाको अन्तिम मुहारसम्म हेर्न पाएनन् ।
उता श्रीमानको चिन्ता । यता औलो र ढोरपाटकमा दुई घर अनि सन्तानको रेखदेख र सुरक्षाको जिम्मा उनकै काँधमा थियो । गाईभैँसी गोठभरि बाँधेका थिए । सुत्केरी भएर आराम गर्ने समयमा समेत नाम्लो बोकेर घाँस मुठार्न उनी बुकी उक्लेकी थिइन । साच्चै ताल कुमारीजस्ता कैयौं आमाहरुका जनयुद्धका व्यथा, दुःख र बाध्यताका कथाहरु कति लेखिए होलान् ? के ती त्याग, बलिदान र आँशुले न्याय पाए त ? जनयुद्धले के रसाएका ती कैयौं आँखाहरुको मलम बन्न सक्यो ? यी यावत् प्रश्नहरु जवाफ स्वयं उनीसँग छैन ।
कैयौं दुःख, बाधा र पीडा सहेर उनले परिवार समालिन । घर धानिन । कैयौै पटक टुक्रिसकेको मुटुलाई जोडेर परिवार चलाउनु चानचुने साहसले पुग्दैन । देशमा जनयुद्ध रोकियो । शान्ति सम्झौतापश्चात् मात्र वर्षौपछि उनका श्रीमानले गाउँ टेके । सकुशल श्रीमान घर फर्किनु यसैमा उनी खुसी थिइन ।
सचिव पदमा वर्षौ गाउँ र जनतालाई सेवा गरेर अवकास पाउनै लागेका थिए श्रीमानले । ज्यान जोगाउन पेन्सन पाउने बेलामा उनी काठमाडौं भाग्नुप¥यो । यता उनको जागिर खोसियो । अनि खोसियो पाउनु पर्ने सुविधाहरु । तैपनि उनले हरेस खाएनन् । सानैदेखि राजनीतिमा रुचि राख्ने उनको समाजमा राम्रो राजनीतिक छाप थियो । गाउँ र गाउँबासीको सेवामा अहोरात्र खटिने उनी वि.सं. २०७९ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भए । जनताको आवाज बोकेर सधैं लागिरहने श्रीमानको यस उपलब्धीमा श्रीमतीको पनि ठूलो हात छ ।
चाहेर पनि उनले बाल्यकालमा विद्यालय जान त के अक्षरसम्म चिन्न पाइनन् । अक्षर चिन्न नपाएर पाएको दुःख सन्तानले नभोगोस्, उनलाई लाग्छ । सन्तान पढ्न कोही बोबाङ त कोही शहरतिर छन् तर उनको दुःख भने कहीँ पुगेको छैन । हरेकका आमाबुबाले झैं सन्तानकै खुसीमा रमाउने उनी पनि हुन् ।
दसैंमा घर छोराछोरी, बुहारी नातिनातिनीले भरिन्छ । श्रीमान र उनको मन पनि खुसी र उमंगले भरिन्छ । तर सबै सबै खुसीले घर भरिँदा पनि कतै केहीको अभाव भने उनमा खड्किरहन्छ । उनलाई पिरोल्छ त उनै जेठी छोरीको सम्झनाले । अनि आशु पुछ्दै उनी भन्छिन्, ‘छोरीको त्यो अन्तिम हाँसो अझै पनि झल्झली सम्झिन्छु । सबथोक भरिपूर्ण भएर पनि अझै म रित्तिएको महसुस गर्छु बाबु ।’





