बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

हराउनेहरुमा बालकभन्दा बालिका तेब्बरले बढी

हराउनेहरुमा बालकभन्दा बालिका तेब्बरले बढी

शतप्रतिशतको खोजी गरेको प्रहरीको दाबी ।


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७९, शुक्रबार

काठमाडौं/भविष्यको कर्णधार मानिने बालबालिकाहरु वर्षेनी हराउने क्रम बढ्दो देखिएको छ । बेपत्ता हुनेहरुमा बालकभन्दा बालिका झण्डै तेब्बरले बढी रहेका केन्द्रीय प्रहरीको तथ्यांकले देखाएको छ ।

सामाजिक, मानसिक तथा मनोवैज्ञानिक कारणबाट बालिकाहरू धेरै घर छाड्ने गरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेक प्रसाद राईले बताए ।

उनले भने, ‘बालकहरू भन्दा बालिकाहरू अलि बढी दयालु, भावनामा बग्ने हुनाले घर छाड्ने गरेको पाइएको छ ।’ नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ८ सय ३१ बालक र १८ सय ९८ बालबालिका गरी २७ सय २९ जना बालबालिका हराएका थिए भने २५ सय ७ बालबालिका फेला परेका छन् ।

तीमध्ये दुईजना बालक मृत फेला परेका थिए भने २ सय १० जना बालबालिका अझै कहाँ कस्तो अवस्थामा छन्, पत्ता लागेका छैनन् । यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा ३ हजार ६ सय ५८ जना बालबालिका बेपत्ता भएका थिए । जसमा ८ सय ४९ जना बालक थिए भने २ हजार ८ सय ९ जना बालिका हराएका थिए। उनीहरुमध्ये ३ हजार ३ सय ७६ जना फेला परिसकेका छन् । २ सय ६८ जना अझै बेपत्ता नै रहेका छन् ।

गत आर्थिक वर्ष २०७८÷७९ मा ४ हजार ६ सय ४६ जना बेपत्ता भएका थिए । उक्त आर्थिक वर्षमा १२ सय १५ बालक हराउँदा ३४ सय ३१ बालिका बेपत्ता भएका थिए । तीमध्ये ४३ सय ९७ जनालाई नेपाल प्रहरीले खोजी गरेको छ भने २ सय ४९ जना अझै बेपत्ता रहेका छन् ।

हराउनेमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ९ सय ४३ बालबालिका छन्। तीमध्ये ८ सय ४१ जना फेला परेपनि एक सय २ जनाको अवस्था अज्ञात नै छ । त्यस्तै प्रदेश १ बाट हराएका ८१५ बालबालिकामध्ये ७७० जना फेला पारेको तथ्यांक प्रहरीको छ ।

अन्य ४५ जनाको खोजी जारी रहेको प्रहरीको दाबी छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट ६ सय ८३, गण्डकीबाट ५ सय १७, सुदूरपश्चिमबाट ४ सय ११, बागमती प्रदेश बाहिरका जिल्लाबाट ३ सय ७३ र बागमती प्रदेशबाट ६ सय ३२ बालबालिका हराएका निवेदन परेको छ ।

प्रहरीका अनुसार हराएकामध्ये अधिकांश बालबालिका फेला पर्ने गरेका छन् । तथ्यांकमा ९४ दशमलव ६४ प्रतिशत फेला परे पनि ५ दशमलव ३६ प्रतिशत बालबालिकाका अझै बेपत्ता नै छन् । तर, हराएकामध्ये शतप्रतिशत बालबालिका भेटिइसकेका दाबी प्रहरीको छ।

डिआइजी राईले भने, ‘छोरा छोरी हराएपछि बुबा आमाले प्रहरीलाई निवेदन दिन्छन् । तर, बच्चा घरमा फर्किएपछि प्रहरीमा खबर नगर्ने गरेकाले तथ्यांकमा बेपत्ता नै राखेको हुन्छ ।’

पारिवारिक वातावरण राम्रो तथा बालमैत्री नभएका परिवारका बालबालिका हराउने गरेको उनको तर्क छ । अभिभावकले राम्रो भूमिका निर्वाह नगर्दा पनि बालबालिकाले घर छाडेर हिंड्ने गरेको उनको बुझाई छ ।

‘बाबु आमाबाट हेरचाहको कमी भएको, घर झगडा भइराख्ने, बुबा वा आमा नभएका बालबालिकाहरु हरायो भनेर निवेदन पर्ने गरेको छ ।’, उनले थपे, ‘आमाबुवाले मादक पदार्थ सेवन गरी झगडा गर्ने पारिवारिक वातावरणमा बालबालिकाले घर छाड्ने गरेको पाइन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->