नवलपुर / बालमैत्री नगरपालिकाका असल अभ्यासका बारेमा पोखराको टोलीले देवचुली नगरपालिकासँग अन्तरक्रिया गरेको छ । शनिवार देवचुली नगरपालिकामा पोखरा महानगरपालिका वडा नं.३ नदीपुरको टोलीले अन्तरक्रिया गरेको हो ।
देशकै पहिलो बालमैत्री गाविस प्रगतिनगर र देशकै दोस्रो बालमैत्री नगरपालिकाको रुपमा परिचित रहेको देवचुलीबाट असल कार्यको जानकारी हासिल गरि पोखराको ३ नम्वर वडालाई बालमैत्री वडा बनाउने उदेश्यले बालमैत्री देवचुली नगर भ्रमण सहित अन्तरक्रियामा बालबालिकालाई सहभागी बनाएको पोखरा महानगरपालिकाका शाखा अधिकृत एवं वडा नं. ३ का वडा सचिव चन्द्रावती वाग्लेले बताईन् ।
वडाभित्र रहेका बालक्लवका पदाधिकारी प्रतिनिधी सहितको टोलीलाई देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाताद्वय खिमानन्द भुसाल र नारायणप्रसाद पौडेलले बालमैत्री स्थानीय शासन बनाउन गरिएका पहलकदमी, सूचकको पालना, घरपरिवारदेखि समाज, बिद्यालय हुदै सरकार समेतले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी, स्वयं बालबालिकाको क्षेत्रमा क्रियाशील अधिकारर्मी ब्यक्तित्व र संस्थाले कर्तब्य गतिविधिका विषयमा खेल्नुपर्ने भूमिकाका बारेमा धारणा प्रस्तुत गरेका थिए ।
सहभागी बाल प्रतिनिधिले बालमैत्री शासनले बालवालिकामा पार्ने सकारात्मक प्रभाव, बालवालिकाले प्राप्त गर्न सक्ने अवसर, सम्भावना र प्रोत्साहनका साथै बालमैत्री स्थानीय शासन घोषणा हुनुभन्दा अगाडीको अवस्था र घोषणापछि थपिने जिम्मेवारी, आईपर्ने समस्या र चुनौतीसँगै समाधानका निम्ति गरिएका प्रयास र अभ्यासका बारेमा जिज्ञासा राखेका थिए ।
देवचुली नगर बाल सञ्जालका उपाध्यक्ष बिनिता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरि प्रसाद न्यौपानेले अन्तरक्रियाबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गर्दै अनि मात्र कार्य योजनामा सफलता मिल्ने भनाई राखे ।
कार्यक्रममा देवचुली नगर स्तरीय बाल सञ्जालका पदाधिकारी प्रतिनिधीले पनि सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रमको सञ्चालन बालमैत्री कार्यान्वयन सहजीरकण समितिका सदस्य शुसिल चापागाईले गरेका थिए ।





