काठमाडौं / बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन् । मृतक मध्ये जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २५ जनाको चुरेहिल अस्पताल हेटौँडा, पुरानो मेडिकल हस्पिटल चितवन, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र नयाँ मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । घाइते मध्ये ७ जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचार भईरहेको छ। जसमध्ये १२ वर्षीया प्रीति चौधरीको अवस्था गम्भीर रहेको छ । यस्तै १५ जनाको पुरानो मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ। जसमध्ये नाम नखुलेका अन्दाजी १५ वर्षीया किशोरीको पनि अवस्था गम्भीर रहेको छ ।





