पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल प्रतियोगितामा प्रदेश नं. १ आफ्नै खेलाडी सम्मिलत एनआरएनसँग हार व्यहोर्न बाध्य भएको छ ।
एनआरएन विधान विपरित तयार पारिएको एनआरएनको टिमले प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराएको हो । पोखरा महानगरपालिका वडा नं. १९ स्थित गोस्तेघाट खेलमैदानमा बिहिबारदेखी सुरु भएको प्रतियोगिताको पहिलो खेलमा संजोग राई र विमल घर्तिमगरको गोलमा एनआरएन विजयी भएको हो । पहिलो हाफमा १ गोलको अग्रता लिएको एनआरएनले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
खेलको आठौं मिनेटमा संजोग राईको उत्कृष्ट गोलमा एनआरएनले अग्रता लिएको हो । उनले सुजल श्रेष्ठले दिएको कर्नरपासमा रिवाउन्ड भएको बलमा गोल गरे ।

११ औं मिनेटमा सुजलको फ्रिकिक प्रहार सोझै प्रदेश १ का गोलरक्षको हात पुग्यो । १४ औं मिनेटमा कप्तान राजकुमार कुमाईको प्रहार फस्टबार नजिकैबाट बाहिरियो ।
खेलको २४ औं मिनेटमा प्रदेश १ का कैलाश बस्नेतको प्रहार बारमा लाग्दै बाहिरिदाँ बराबरी गोलगर्र्नबाट चुक्यो । २७ औं मिनेटमा प्रदेश १ ले अर्को अवसर खेर फाल्यो ।
विजय भुजेल तयारी अवस्थामा रहेको समयमा उमेश राईले पास दिन ढिला गरे । खेलको ३२ औं मिनेटमा कोमल खवासको फ्रिकिक प्रहार बाहिरियो ।

खेलको ४५ औं मिनेटमा विमल घर्तिमगरले गाले गर्दै अग्रता दोब्बर पारे । खेलको ५३ औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा अनन्तको हेडर क्रसबारमा लाग्दै बाहिरियो । एनआरएनबाट खेलेका ६ जना खेलाडी प्रदेश १ का हुन् ।
यस्तै प्रतियोगिता अन्तरगत भएको दोस्रो खेलमा बागमतिले र मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मधेश प्रदेश सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतिले दोस्रो हाफमा २ गोल गरेको हो । खेलको ३९ औं मिनेटमा बागमतिका अमित तामाङको पासमा सुनिल बलले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।
खेलको ४५ औं मिनेटमा मधेशका रवि कुमार राखलले बागमतिका एरिक विष्टलाई पेनाल्टि एरियामा लडाएपछि पेनाल्टिको अवसरका पाएको थियो । अञ्जन विष्टले पेनाल्टिमा गोल गर्दै टोलीका जित निश्चित गरेको थियो ।





