पोखरा /जलवायु परिर्वतन, अर्गानिक कौसी खेती र नेपालका लोकल बीउबिजन संरक्षणलगायतका क्षेत्रमा कार्य गर्दै आएको कारितास नेपाल फिल्ड कार्यालय कास्कीले आफ्ना कार्यक्षेत्र भित्र रहेका माछापुच्छ्रे कृषक समुहका कर्मचारीहरुलाई महिलाबिरुद्ध हुने हिंसा र उपचारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
महिलाहरुलाई लिंगका आधारमा हुने हिंसा र लैगिंक समानता बिषयमा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कारितास नेपाल जिबिकोपार्जन तथा उत्थानशीलता परियोजनाअन्तर्गत संचालित सो तालिम कार्यक्रममा सामाजिक समावेशी नीति ,कारितास नेपालको यौन शोषण ,दुव्र्यवहार र उत्पीडन नीतिसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा अधिवक्ता दुर्गा भण्डारी प्रशिक्षण गरेकी थिइन् । महिला समुहलाई समुदायमा जादा महिलाविरुद्ध हुने हिंसा र त्यसको कानुनी उपचारको बाटो बारे सचेत गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा अधिवक्ता भण्डारीले लिंगका आधारमा हुने हिंसा र घरेलु हिंसाले परिवार तथा समाजमा पार्ने नकारात्मक असरबारे जानकारी गराएकी थिइन् । हिंसालाई सहेर बस्दा अपराधलाई प्रोत्साहन मिल्ने हुदा महिलाले समयमै उपचार खोज्नुपर्ने साथै पीडित महिलाहरुलाई घरपरिवार, समाज र राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
कारतिास नेपाल कास्कीका फिल्ड कार्यालयका प्रमुख शोभा आर्चायले महिला र पुरुष समविकासको सिद्धान्तलाई व्यवहारमा उर्तानुपर्ने बताए । सो अवसरमा उनले लैंगिक विभेदका कारण समाजमा पछौटेपन अझै विद्यमान रहेकोले महिलाहरु हरेक क्षेत्रमा व्यावसायिक बन्दै जानुपर्नेमा जोड दिए ।





