नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ ।
लामाचौर गोस्ते खेल मैदानमा जारी खेलमा समूह सी अन्तरगत शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ को फराकिलो गोलअन्तरले हराएको हो ।
एकपक्षिय खेलमा आर्मीले खेलको सुरुवातमै गोल गर्दै अग्रता लियो । खेलको पाँचौं मिनेटमा दिनेश हेम्जनको गोलमा आर्मीले अग्रता लिएको हो ।
२४ औं मिनेटमा लुम्बिनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो ।
खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो ।
तर बलियो आर्मी विरुद्ध लुम्बिनी चल्नै सकेन । आर्मीका नवयुग श्रेष्ठले ९२ औं मिनेटमा गोल गरे ।





