बागलुङ/नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को गण्डकी प्रदेश कार्यालयको आयोजनामा विश्व हात धुने दिवस मनाइएको छ ।
हरेक बर्ष अक्टोवर १५ गतेका दिन यो दिवस मनाइन्छ । नेवाले आफ्नो कार्यक्रम रहेका बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका र म्याग्दीको धौलागिरि गाउँपालिकामा पनि दिवस मनाइएको हो ।
सरसफाईबिना मानव स्वास्थ्य संभव नभएकोले हात धुने बानी बसाल्नु परेको भन्दै नेवाका कार्यक्रम अधिकृत विनोद कोइरालाले जानकारी दिए । कोरोना कालमा सरसफाइका साथै नियमित हात धुने विषयले बढी चर्चा पाएको थियो । ‘नियमित हात धुँदा किटाणुहरु मर्ने र त्यही हातले खाना खाँदा स्वस्थ्य बन्न सकिने भएकोले हात धुनुको महत्व बढी छ’ कोइरालाले भने, ‘खानेपानीका उपभोक्तालाई पनि प्राविधिक साथीहरुमार्फत हात धुन प्रोत्साहन गरिएको छ ।’
अन्तराष्ट्रिय दिवस भएकोले सबै कार्यालय वा सरोकारवालाले पनि हात हुने दिवश तथा यो अभियानलाई नियमित प्रयोगमा ल्याउनुपर्ने उनले सुझावसमेत दिए । कार्यक्रम रहेका स्थानमा नेवाले साबुनपानी राखेर सबैलाई हात धुने अभ्यास गर्न लगाएको थियो ।





