बागलुङ / आईटीएफको मंगलबारको खेलमा प्रदेश १ ले स्वर्ण पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १८ स्वर्ण पदकको फाइनल भैसक्दा प्रदेश १ ले भने पहिलो स्वर्ण हात पारेको हो ।
मंगलबार बिहान भएका २ खेलमध्ये पहिलो खेलको ५१(५५ केजी तौल समूहमा प्रदेश १ की कुशुम राजवंशीले स्वर्ण पदक जितेकी छन् । राजवंशीको अगाडि गण्डकीकी हिसिला अदै टिक्न सकिनन् । अग्लो कदको फाइदा उठाएर राजवंशीले अदैलाई पराजित गरेकी थिइन् । उक्त खेलमा आर्मीकी रीना धिमाल र नेपाल प्रहरीकी सजनाकुमारी घर्तीले कांस्य पदक जिते ।
मंगलबारकै दोस्रो खेलमा ४०(४५ केजी तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण पदक जितिन् । सेमिफाइनलको यात्रा तय गर्दा घाइते भएकी भण्डारीले फाइनलमा राम्रो खेल प्रर्दशन गरिन् । दुईपटकसम्म घाइते भएर प्राथमिक उपचारपछि भण्डारी मैदान प्रवेश गरेकी थिइन् । उनले वाग्मतीकी सुस्मिता तामाङलाई पराजित गरिन् । तामाङले रजत पदकमा चित्त बुझाइन् । उक्त खेलमा नेपाल प्रहरीकी मनिसा घर्ती मगर र सशस्त्र प्रहरीकी लीलाकुमारी सापकोटाले कांस्य पदक जिते ।
अहिलेसम्म फाइनल भएका १८ स्वर्ण, १८ रजत र १० कांस्य पदकमध्ये आर्मीले ८ स्वर्ण‚ ४ रजत र १ कांस्य गरी १३ पदक जितेर सबैभन्दा अगाडि छ । वाग्मतीले ५ स्वर्ण र १ रजत गरी ६ पदक जितेको छ भने गण्डकीले ४ स्वर्ण ५ रजत गरी ९ पदकसहित अगाडि छ । प्रदेश १ ले १ स्वर्ण र २ रजत पदक हात पारेको छ ।
नेपाल प्रहरीले पनि १ कांस्य पदकमा चित्त बुझाएको छ । लुम्बिनी प्रदेशले ४ रजत र ४ कांस्य, कर्णालीले १ रजत र १ कांस्य, सशस्त्रले १ रजत र ३ कांस्य पदक जितेको छ ।





