पोखरा/ खेलाडीको भविष्य र खेल जीवनसँग जोडिएको राष्ट्रिय खेलकुदमा अक्सर केही न केही घटना भएकै हुन्छन् । राष्ट्रिय कीर्तिमानदेखी खेलाडीले पाएको सास्ति, खेल सामग्रीको अभाव आदी इत्यादी ।
गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता विवाद, अभाव र समस्यामै सम्पन्न भएको छ ।
३९ वर्षअघि भएको दोस्रो खेलकुद प्रतियोगिता भएकै अधिकांश खेल मैदान प्रयोग गरि सम्पन्न गरिएको प्रतियोगिताको नयाँ भनेको पुनः निमार्ण भएको फुटबल मैैदानमात्रै हो ।
नवौंमा विवाद नभएको खेल सायदै रहेनन् । खेलाडीले पाएको जर्सीमा समेत खेलाडी स्वयम्ले खर्च उठाएर प्रदेशको नाम र अंक राखे । हक्कीमा खेलाडीले किट नपाएकै कारण ८ खेलाडीले खेल्न बाध्य भए । आर्चरीमा पनि आवश्यक खेल सामग्री नहुँदा जुगाड गरेरै खेल सम्पन्न भयो । उद्घाटन र समापन भव्यताका साथ सम्पन्न भएको नवौंको पुरुष भलिबलमा त पुरानो म्याट भएकै कारण ३ जना खेलाडी घाइते नै हुन प¥यो । खेलाडीहरुले यातायात, होटल व्यवस्थापन लगायतको क्षेत्रमा समेत सास्ति खेप्न बाध्य भए । एक खेल पदाधिकारीले केन्द्रिकृत मानसिकताका कारण प्रदेशको साथ नपाएको सुनाए । कस्ति, बक्सिङ, सितोरियो कराँतेलगायत खेलमा त विवाद नै सिर्जना भयो ।
तर, समस्या विवाद, अभावमा सम्पन्न भएपनि खेलाडीहरुले भने पुर्ण जोशका साथमा खेल कौशल देखाए ।
खेलाडीहरुले एथलेटिक्समा सबैभन्दा बढी कीर्तिमान कायम गरेका छन् । एथलेटिक्सका विभिन्न विधामा गरी १० वटा नयाँ कीर्तिमान कायम भएको हो । १० नयाँ कीर्तिमान कायम हुँदा नवौं च्याम्पियन बन्न सफल त्रिभुवन आर्मीकै वर्चस्व कायम रह्यो ।
आर्मीका महिला १ सय मिटर दौडमा सरस्वती चौधरीले १२.१३ सेकेन्डको कीर्तिमानी कायम गरिन् ।१० हजार मिटर पुरुमा दिपक अधिकारीले ३० मिनेट १० सेकेन्ड ३ मिलिसेकेन्डको रेकर्ड राखे, ४ सय मिटर महिला हडल्समा जयरानी थारुले १ मिनेट ४ सेकेन्ड १३ मिलिसेकेन्डको नयाँ रेकर्ड राखिन् उनले लङ्ग जम्प महिलामा५.५८ मिटरको कीर्तिमानी कायम गरिन् । १०० मिटर महिला हडल्समा उनले १५ सेकेन्ड १६ मिलिसेकेन्डको रेकर्ड कायम गरिन् ।
४०० मिटर पुरुष दौडमा सोमबहादुर कुमालले ४७.९५ सेकेन्डको कीर्तिमानी कायम गरे । ४०० मिटर महिला दौडमा एपीएफकी रमिता कमाुरी थारुले ५८.१० सेकेन्ड, एपीएफकै सलिम देवानले लङ्ग जम्पमा ७.०६ मिटरको कीर्तिमानी कायम गरिन् । कर्णालीका दुर्गा बहादुर बुढाले ३०० मिटर स्टीपल चेसमा ८ मिनेट ५५ सेकेन्ड १९ मिलिसेकेन्डको कीर्तिमान कायम गरे । नेपाल पुलिसकी चन्द्रकला लाम्गाधेले ज्भाभ्लिन थ्रोमा ४७.६० मिटरको कीर्तिमान कायम गरिन् ।





