नवलपुर/ जिल्ला समन्वय समिति नवलपुरले पदवहालीपछिका १ सय दिनका उपलब्धी सार्वजनिक गरेको छ । कावासोतीस्थित समन्वय समितिको कार्यालयमा शुक्रवार पत्रकार सम्मेलनमार्फत् भए÷गरिएका कार्यहरु सार्वजनिक गरिएको हो ।
संघीयतापछिको भौगोलिक संरचनामा नवलपरासी जिल्ला टुक्रिएर बनेको बर्दघाट सुस्ता पूर्व नवलपरासी आफैमा कान्छो र गरीब जिल्ला हुँदा यसको असर समन्वय समितिलाई पनि परेको समन्वय प्रमुख बावुराम विश्वकर्माले गुनासो गरेका छन् । यद्यपि, स्थानीय तहको निर्वाचनपछि आफ्नो नेतृत्वमा बनेको समन्वय समितिले अधिकार क्षेत्रभित्र रहेर अहिलेसम्म बुँदागत रुपमा ४३ वटा काम गरेको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
अधिकांश स्थानीय तह, प्रशासन लगायत सम्बन्धित पक्षसँगको सहकार्यमा अनुगमन, निरिक्षण, तथ्याङ्क अद्यावधिक गर्ने कार्यमा जुटेका बुँदालाई थालनीको प्रयासका रुपमा समेटिए पनि स्तरोन्नतिका क्रममा रहेको बुटवल नारायणगढ सडक खण्डअन्तर्गत नवलपुर खण्ड स्तरोन्नति, मर्मत सम्भार लगायतका कार्यमा आयोजना कम्पनीसँग समन्वय, सुझाव, निर्देशन गरेका कारण जीर्ण र खाल्डाखुल्डी परेको सडक बेला बेलामा मर्मत गराउन सफल भएको बताए ।
समन्वय प्रमुख विश्वकर्माले यस अवधिमा नदिजन्य पदार्थमा हुने गरेको दोहन, अबैध निकासी र भण्डारण रोक्न सफल भएको दाबी गरे ।





