पोखरा कप्तान रुविना क्षेत्री बेलबासे चम्किदाँ नेपाली राष्ट्रिय महिला क्रिकेट टिम सम्मिलित क्यान ११ विजयी भएको छ ।
क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले हराएको हो ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको खेलमा जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९.५ ओभरमा ८० रनमा अल आउट हुन पुग्यो ।
एमसिसीको लागि एलिसा हुबर्ड २८ बलमा २ चौकासहित सर्वाधिक २० रनमा अविजित रहिन् ।
अबी व्हाइब्रोले ३४ बलमा २ चौकासहित १९, जेनी किल्जिंगर १४ र अमान्दा पोटटिगरले १४ रन जोडिन् । रुविनाले २० औं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा लगातार चार विकेट लिएकी थिइन् ।
उनले अमान्दा, रवी रावल, सारा क्रे र ईशाबेल गुर्नेलाई बोल्ड गरेकी थिइन् ।

रुविनाले २.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन बनायो । नेरी थापाले ३१ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाइन् ।
सुमन खतिवडा १७ बलमा २ चौकासहित १६ र कविता कुँवरले ११ बलमा २ चौकासहित १७ रन जोडिन् ।

ओपनर काजल श्रेष्ठ २, सीता रानामगर १०, सम्झना खड्का १७ र रुविना एक रनमा आउट भइन् । एमसिसीको लागि राहेल पोटरले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिइन् ।
रवी रावल र अमान्डाले दुई दुई विकेट लिए । एमसिसी पहिलो खेलमा नेपालको मिक्स्ड ११ सँग १ सय ७ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा एमसिसीले आइसिसी यू१९ टोलीलाई १६ रनले हराएको थियो । आइतबार एमसिसीले मिक्स्ड ११ र मंगलबार क्यान ११ सँग खेल्नेछ ।





