बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

आज छठको मुख्य दिन, अब पोखरामा छठ महोत्सव

आज छठको मुख्य दिन, अब पोखरामा छठ महोत्सव

तराइ भेगमा मनाइँदै आएको छठ पछिल्लो समय पहाडमासमेत मनाउन थालिएको छ । पर्यटकीय नगरी पोखरामा समेत छठ पर्व मनाउने गरिन्छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०७९, आइतबार

पोखरा/ पोखराको चार घाटमा छठ मनाइन्छ । पोखरा उक्लिएको छठ पूजालाई थप व्यवस्थित र विश्वसामु चिनाउन आगामी वर्ष छठ पूजा महोत्सवको आयोजना गरिने भएको छ । पर्वलाई महोत्सवको रुपमा विकसित गर्न १६ सदस्यीय पोखरा छठ पूजा समिति गठन गरिएको छ । रामआधार गुप्ताको अध्यक्षयतामा समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा अनिल गुप्ता र विनोद रोमिया, महासचिवमा सन्तोष बानियाँ सचिवमा गोरखनाथ जैसवाल, कोषाध्यक्षमा दिनेशकुमार चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा राजकुमार गुप्ता, भाष्कर उपाध्याय, मनोज कुशतामा, रोमितकुमार चौधरी, कृष्णप्रसाद गुप्ता, प्रदीप गुप्ता, शिलप्रसाद कुशतामा, विक्रम कुशतामा, सुजेत कुमार, कृष्ण धोली, उदेय शाह, भुतरेश्वर ठाकुर र सुरेन्द्र कुमार रहेका छन् ।

समितिका अध्यक्ष रामआधार गुप्ताले पोखराको केदारेश्वर मन्दिर, भद्रकाली मन्दिरस्थित माछापोखरी, नदीपुरस्थित नारायणस्थान मन्दिर र कालीखोलामा मनाइने छठ पर्वलाई संयुक्त रुपमा मनाउने योजना अघि सारेको बताए । उनले छठलाई पर्वको रुपमा मात्रै सीमित नराखी महोत्सवको रुपमा लैजाने तयारीका साथ कार्यसमिति गठन गरिएको बताए ।

‘हामीले पोखराका विभिन्न स्थानमा छठ पर्व पूजा गर्दै आइरहेका छौँ । अब संयुक्त रुपमा लैजाने योजना अघि सारेका छौँ । यसमा महानगरपालिकाको पनि साथ पाएका छौँ । त्यसैले अब महोत्सवको रुपमा लैजान्छौँ’, उनले भने ।

समितिका कोषाध्यक्ष दिनेशकुमार चौधरीले नेपालको वीरगंज विराटनगरबाट सुरु भएको छठ पर्व मनाउने प्रचलन अहिले देशभर फैलिएको सुनाए । उनले पोखरा पर्यटकीय स्थलमात्र नभइ धार्मिक पर्यटनको क्षेत्र समेत रहेकाले छठ पर्वका लागि भारतीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको सुनाए । उनले यो पर्वलाई तराइको मात्र पूजा भनेर मानिँदै आए पनि यो सनातन धर्मको अंगको रुपमा रहेकाले सबैले मनाउनुपर्नेमा जोड दिए । पोखरामा करिब पाँच हजार बढीले छठ पूजा गर्ने समितिका सचिव गोरखनाथ जैसवालले जानकारी दिए ।

छठ पर्व सूर्यको अनुष्ठान हो । सद्भाव र भातृत्वको प्रतिकसमेत मानिने यस पर्वलाई बढो हर्षोल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारमा श्रृंगार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिइन्छ ।

छठी माताको व्रत लिने ब्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरु दिने चलन रहेको छ । केराका हाता,उखुको लाँक्रा, नरिबल, भोगटे अनि अन्य फलफूलहरुलाई छठको प्रसादका रुपमा लिने चलन छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अघ्र्र्य दिँदा उदाउँदो सूर्यलाई देखाउने र प्रसादस्वरुप घर लैजाने चलन छ ।

यसको पहिलो दिन कात्तिक शुल्क चतुर्थीमा घरको पूजास्थल लिपपोत गरिन्छ । यसलाई नहाए खाय भनिन्छ । नवाए खाए भनेको सोझो अर्थमा नुहाएर खाने हो । दोस्रो दिन पञ्चमीमा खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन् । तेस्रो दिनलाई सँझिया अघ्र्य अर्थात् छठ भनिन्छ । ब्रतालुले दिनभरि आ–आफ्नो घरमा विभिन्न प्रकारका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बस्ने र भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व समापन गरिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->