पोखरा/ अण्डरग्राउण्ड पार्किङका लागि भनेर पोखरा महानगरपालिकाले बारम्बार सूचना निकाल्दा पनि व्यवसायीले नटेरेपछि पोखरा महानगर आफैले पार्किङ खाली गराउने भएको छ । सोमबार एक सूचना निकालेर महानगरले मंगलबार (आज)देखि आफैले पार्किङ खाली गर्ने भएको छ ।
सूचनामा भनिएको छ, “पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङहरुलाई सोही प्रयोजनका लागि प्रयोग गर्न/गराउन सम्बन्धित घरधनी/व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटकपटक आग्रह गर्दा पनि अटेर गरि प्रयोजन विपरित सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगरपालिका आफैले खाली गर्ने व्योहोरा जनाकारीका लागि अनुरोध छ ।”
महानगरले दशैँ अगाडि महानगरबाट भूमिगत पार्किङको अनुमति लिएर व्यापारिक प्रयोजनमा लगाएको सटरहरु ३५ दिने सूचना दिएर खाली गराउन निर्देशन दिएको थियो ।
पोखराका मेयर धनराज आचार्यले दशैँ, तिहार, छठ लगायतका ठुला पर्वहरु सकिएपछि एक्सनमा उत्रिने बताएका थिए ।





