बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतको चुनाव : शीर्ष नेताका दुई विश्वासपात्रको प्रतिष्पर्धा

पर्वतको चुनाव : शीर्ष नेताका दुई विश्वासपात्रको प्रतिष्पर्धा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७९, बिहिबार

पर्वत/ देशकै चौथो सानो जिल्ला र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतको राजनीतिक परिस्थिति ०७४ को भन्दा विपरीत छ । त्यतिबेलाको वाम गठबन्धनको एक घटक अहिले कांग्रेससँग मिसिएर लोकतान्त्रिक वाम गठबन्धन बनेको छ । एउटा समानता चाहिँ के छ भने, दुवै प्रतिष्पर्धी ०७४ कै हुन ।

अघिल्लो निर्वाचनमा एकल रुपमा चुनावमा होमिएको कांग्रेसका अर्जुनप्रसाद जोशी एमाले माओवादी सहितको वाम गठबन्धनका उमेदवार पदम गिरीसँग १२ हजार ४५६ मतान्तरले पराजित भएका थिए ।
तर, अहिले परिस्थिति फेरिएको छ । स्थानीय तह चुनावमा पर्वतका ७ पालिकामध्ये कुश्मा र फलेवास नगरपालिकासहित विहादी, पैयुँ र जलजला गाउँपालिका कांग्रेसले जितेको छ । मोदी र महाशिला गाउँपालिका एमालेले जितेको छ । तत्कालीन सत्ता समीकरण उल्टिनु र चुनाव हारे पनि जनताकै माझमा निरन्तर गइरहेकाले आफ्नो जीत सुनिश्चित भएको जोशीले बताए । उनी यसपटक चौथो जीतको खोजीमा छन ।

चुनावी कार्यक्रममै व्यस्त रहेका उनले भने, ‘मुख्य कुरा त गठबन्धन नै हो । पर्वतको राजनीति भनेको कहिले १२÷१५ सयले कांग्रेस त कहिले सोही मतले एमालेले जित्ने हो । चुनाव जित्नेमा म ढुक्क छु । मतदाताको प्रतिक्रिया पनि निकै सकारात्मक छ ।’

उनका प्रतिष्पर्धी गिरीले नै जोशीलाई ०७४ को चुनावमा ठूलो मतान्तरले हराएका थिए । अर्जुनप्रसाद जोशीको अविराम जीतमा विराम लगाउने उनै गिरी थिए । अन्यथा, २०५६ यताका कुनै पनि चुनावमा जोशीले पछाडि फर्केर हेर्नुपरेको इतिहास छैन । यतिसम्म कि माओवादीको जगजगी रहेको पहिलो संविधानसभाको निर्वाचन २०६४ को चुनावमा पनि कांग्रेसका दिग्गज नेताहरु पराजित हुँदा जोशीले आफ्नो क्षेत्रमा दबदबा कायमै राखेका थिए ।तर, संघीयतापछिको पहिलो चुनाव ०७४ मा पर्वतका दुई संविधानसभा क्षेत्र एउटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र बन्यो । उनकै सरकारले जारी गरेको संविधान र त्यसपछिको पहिलो चुनावमा चाहिँ जोशीको ह्याट्रिकपछिको चौथो जीतलाई तत्कालीन बाम गठबन्धनले रोकेको थियो ।

अघिल्लो चुनावबारे बोल्दै जोशी भन्छन्‘अघिल्लो निर्वाचनमा एमालेले अपत्यारिला भएतापनि आकर्षक मुद्धा ल्याएको थियो, हाम्रो (कांग्रेस) को अलि कमजोर देखिन्थ्यो । त्यसमाथि कांग्रेसलाई अनावश्यक आरोप पनि लगाइएका थिए ।ओलीले पानीजहाज, चुच्चे रेल, ग्यास, चुलोजस्ता नाटकीय एजेण्डा ल्याए । त्यसले गर्दा सोझा जनताले पत्याएर केही भोट थपिदिए । अनि गठबन्धन पनि थियो ।’
तर, त्यतिखेलाका ती अपत्यारिला एजेण्डा झुट भएको भनेर जनताले पत्याइसकेको, संसद विघटन गरेर देशलाई अस्थिर बनाएको तथा एमालेभित्रै पनि ठूलो विचलन र जनताले पनि देशको स्थायित्व र विकासका लागि कांग्रेससहितको गठबन्धन नै विकल्प हो, भन्ने बुझेको उनले बताए ।

तीन कार्यकाल सांसद भइसकेका जोशी राजधानी छाडेर गाउँ गइरहने नेता भनेर पनि पर्वतमा चिनिन्छन । सांसद निर्वाचित भएतापनि प्राय जिल्ला र गाउँमा पुग्ने आफ्नो स्वभावलाई अघिल्लो निर्वाचनको पराजयपछि पनि निरन्तरता दिएको उनले बताए ।

‘अहिले एमालेभित्र अत्यन्त ठूलो विचलन छ । त्यसमाथि चुनाव जितेर गाउँमा नै नफर्किएको भनेर मतदाताले मलाई सुनाइरहनुभएको छ’,जोशी भन्छन,‘अर्कातर्फ चुनाव हारेतापनि म पाँच वर्ष जनताको माझमा रहेर काम गरेँ । चुनाव जितेर पनि मान्छेहरु गाउँमा नफर्किने प्रचलन छ ।

म १३/१४ वर्षजति सांसद भएँ, त्यो समयमा म सकेसम्म बढि गाउँगाउँमा गएँ । गाउँमा जाँदा मैले विकासको मोडल फेर्नुपर्ने देखेँ । त्यतिबेला पूर्वाधार भए हुन्छ भन्ने थियो, अहिले त्यसले हुँदोरहेनछ ।
पूर्वाधारलाई विकास, समृद्धि, रोजगारी र जनताको भावनासँग जोड्नुपर्ने रहेछ । जस्तो कि बाटो बन्यो, जनताले अनुभूति गरेनन् भने त्यो बाटो के का लागि ?

पूर्वाधारलाई बहुआयामिक क्षेत्रसँग जोड्नुपर्ने आवश्कता छ । विकास, विकास, विकास मात्र भनेर भएन, जनताको भावना, युवाको चाहनासँग जोडिनुप¥यो । म यही कुरालाई लिएर जनताको बीचमा गएको छु । घरदैलोमा पुगेको छु ।’

उनले थपे,‘पछिल्लो समय म हार्दै गर्दा पनि बरु फलानाले केही गर्दोरहेछ, त्यतिबेला बरु केही काम भएका थिए, अहिले भएनन् भन्ने व्यापक जनमत बढेको छ । जितेका फर्केनन, हारेपनि अर्जुन जोशी फर्केर आए, उनले केही सुरुवात गरेका थिए, भन्ने छ । हाम्रो लागि चाहिँ तपाईंल े नै जित्नुपर्ने रहेछ भन्ने खालको प्रतिक्रिया पाइरहेको छु ।’

गत स्थानीय तह चुनावमा पर्वतमा कांग्रेसले पाँचवटा पालिका जितेतापनि जिल्लाभरिका ६१ मध्ये जम्मा २४ वटा वडामात्र जितेको थियो । वडाध्यक्षले पाएको मत हेर्दा चाहिँ गठबन्धन भन्दा एक्लो एमाले नै पर्वतमा बलियो देखिन्छ । वडा हार्दैगर्दा पर्वत कांग्रेसमा कारवाहीको कुरा पनि उठेका थिए । तर, न उजुरी प¥यो, कारवाही त हुने कुरा नै भएन ।
कांग्रेसभित्रको असन्तुष्टि कसरी मिलाउनुहुन्छ त ?

जोशीले भने,‘कांग्रेसमा देखिएका समस्या, असन्तुष्टि पनि समाधान भइसकेका छन । टिकट पाइसकेपछि सबै एकजुट भएर चुनावमा लाग्नुभएको छ ।’
कांग्रेसभित्र कोइराला खेमामा रहेका जोशीले १३ औँ महाधिवेशनदेखि समूह परिवर्तन गरेर देउवा क्याम्पमा लागेका थिए । उनी देउवाका विश्वासपात्र समेत हुन ।उनै जोशीको ह्याट्रिकमा रोक लगाउने एमालेका उमेदवार गिरी पनि मतदाता फकाउन घरदैलोमा व्यस्त छन, गाउँगाउँमा उनी पुगेका छन । मतदाता भेटेका छन ।

चुनाव जित्नुहुन्छ त ?

उनले जीतको आधारसहित भने,‘चुनाव राम्रो मतले जितिन्छ भन्ने विश्वास छ । पछिल्लो साढे तीन, चारवर्षमा पर्वतको विकासको लागि मैले खेलेका भूमिकाहरु, नेकपा एमाले सरकारले गरेका राम्रा कामहरु र पछिल्लो समय सम्पूर्ण रुपले असफल भएको गठबन्धन सरकारका कारण मैले चुनाव जित्छु ।’

गठबन्धन सरकार पूर्णरुपमा असफल भएको र ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको बारेमा मतदाता खुसी रहेको र आफूले पनि त्यही आधारमा मत मागिरहेको उनी सुनाउँछन । पर्वतमा पछिल्ला दुई दशकमा नभएका काम आफूले गरेको उनको दाबी छ ।

चुनावी दौरानकै क्रममा एक टेलिभिजिन कार्यक्रमको लाइभ डिबेटमा एकजना मतदाताले ‘पदम गिरीलाई मत नदिने, बरु मतपत्र नै खाली राख्ने’ बताएका थिए ।
उक्त कार्यक्रममा सहभागी गिरीलाई उक्त प्रश्न सोध्दा, ‘ती व्यक्ति प्रायोजित र सिकाएर पठाइएका गठबन्धनका कार्यकर्ता रहेको’ टिप्पणी गरे ।
‘त्यो प्रायजित कुरा हो । सिकाएर पठाएको मान्छे हुन । धेरै मान्छेले राम्रो गर्नुभएको छ नि त्यही कार्यक्रममा’,उनले भने ।

उनी एमाल पर्वतको अध्यक्ष हुँदा पर्वतमा भएको ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले सातमध्ये चारवटा पालिका आफ्नो पक्षमा पारेको थियो । पर्वतमा एमालेलाई पहिलो बनाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई बधाई पनि दिएका थिए ।

त्यसपछि नै गिरीको संसदीय निर्वाचनको ढोका खुल्यो, चुनाव जिते र संसद विघटनदेखि अन्त्यसम्म ओलीकै पक्षमा रहिरहे । ओलीको विश्वासपात्र भएर काम गरेका गिरीले अहिले पनि ओली नेतृत्वका सरकारमा भएगरेका कामकै कारण आफूले चुनाव जितिने बताए ।

‘पालिका गुमेतापनि धेरै मतको अन्तर छैन । संसददेखि गाउँसम्म मेरो भूमिका र सरकारले गरेका कामका कारण मलाई चुनाव जित्न गाह्रो छैन’, उनले भने ।
अहिले यी दुवै उम्मेवार जोडतोडका साथ प्रचारप्रसारमा जुटेका छन । दुवैजना पर्वतमा चिनिएका नेता हुन भने संसदीय अनुभवमा जोशी अगाडि छन ।
अहिले एमालेका गिरी एक्लै चुनाव लड्दैछन भने कांग्रेसका जोशीलाई माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको आड छ ।यी दुइजनामध्ये चुनाव जसले एउटा रेकर्ड भने रहन्छ ।
जोशीले जितेको खण्डमा पर्वतबाट लगातार चौथोपटक जित्ने उम्मेदवार बन्नेछन भने गिरीले जितेको खण्डमा प्रतिनिधीसभाका दुवै निर्वाचन जित्नेमा उनको नाम आउनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->