बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

धुलो धेरै खाइयो बाटो बनाइदेऊ : मतदाता

धुलो धेरै खाइयो बाटो बनाइदेऊ : मतदाता

सो क्षेत्रबाट जितेर प्रदेशका कानूनमन्त्री भएका विन्दुकुमार थापा कानून कार्यान्वयन गर्न असमर्थ देखिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०७९, मंगलबार

पोखरा/सत्तारुढ गठबन्धन र नेकपा एमालेले यतिबेला घरदैलो अभियानलाई तीव्रता दिइहेको छ । कास्कीमा एमाले अघिअघि र गठबन्धन पछिपछि घरदैलोमा पुग्ने गरेका छन् ।

सोही क्रममा पोखरा महानगरपालिका १६ मा एमाले कास्की क्षेत्र २(२) उम्मेदवार मिना गुरुङ कार्यकर्तासहित तामझामका साथ केआईसिंह पुलदेखि घरदैलो सुरु गर्दै सो क्षेत्रमा पुगिन् । आइतबार गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापापनि गटबन्धनका कार्यकर्ताका साथ केआआइसिंह पुलबाटै घरदैलो अभियान सुरु गरे । मतदातासँग गफिदैँ मत माग्दै जाँदा सुन्दुरफिडदेखि गोर्खा बोर्डिङ विद्यालय जाने सडकमा मत माग्न जादाँ स्थानीयमा भने खुसी देखिएन् । आफूले पाएको चुनावी घोषणापत्र हेर्दै स्थानीयले असन्तुष्ट व्यक्त गरिरहेका थिए ।

दुई–तीन जना युवाहरु गफ गर्दै थिए । तीमध्ये सौरव गुरुङले भने,‘यिनीहरुले केही गर्दैनन् । यो घोषणापत्रको कामै छैन् । ठूला सपना देखाएर के गर्ने ? यसरी धुलो खाएर बस्न बाध्य भएका छौँ ।’ त्यसैमा आफ्नो तर्क मिलाउँदै अनिल गुरुले थपे।‘ कांग्रेस आए पनि उही हा,े एमाले आए पनि उही हो । आखिर हाम्रो बाटो बनेन क्यारे ।’

ठेकेदारको लापरवाहीका कारण आम सर्वसाधारणले सास्ति खेप्न बाध्य भएका छन् । लामो समयदेखि सडक अलपत्र छाडिदिँदा दैनिक रुपमा दुई पांग्रे सवारी त्यहाँ लड्ने गरेको छ । हार्डवयर संचालन गर्दै आएकी व्यवसायी लक्ष्मी बास्तोलाले आफूले हरेक दिन दुई तीनवटा बाइक स्कुटर लड्ने गरेको देखेको सुनाइन् । उनले सडक विभाग गैरजिम्मेवारी हुँदा दुर्घटना हुने गरेको सुनाइन् । ‘समस्या धेरै छन् । दिनको एउटा दुईटा दुर्घटना भएकै हुन्छन् । बाइक स्कुटर लडेको–लड्यै हुन्छ । बर्खामा हिलो, हिउँदमा धुलोले अति गरेको छ’, उनले भनिन् । उनले आफुहरु सडक विभागमा पटक÷पटक धाउँदा एकहप्ता, दुई हप्ता भन्दाभन्दै १४ महिनासम्म पनि नबनेको उनी सुनाउँछिन् ।‘कतिपटक धाउने हो थाहा छैन् । जहिले जाँदा पनि यतिगतेबाट बन्छ उति गतेबाट बन्छ मात्रै भन्छन् । बन्ने कहिले हो थाहैँ छैन्’ उनले त्यसैमा थपिन्,‘अहिले पनि मंगलबारबाट काम हुन्छ भनेका छन् तर बन्ने त्यसतै हो । कति जनालाई त मैले नै उद्दार गरेर अस्पताल पनि पठाए । कतिपटक त्यो खाल्डो पुर्ने काम पनि गरे तर पानीले त्यो सबै बगाइदिन्छ । अनि त्यहि दुर्घटना हुन्छ ।’

फरार छन् ठेकेदार

ठेकेदारको लापरवाहीका कारण विगत १४ महिनादेखि पोखरा महानगरपालिका १६ दिपमा सडक अलपत्र परेको छ । विभिन्न स्थानमा गरी ७ किलोमिटर सडक ६ लेनको अस्फाल्ट पिचसहित नाला बनाउने ७ करोड रुपैयाँको टेन्डर शिवशक्ति इन्फा डेभलपमेन्ट प्राइभेट लिमिटेडले पाएको थियो । उक्त कम्पनीका ठेकेदार लक्ष्मी पाठकले अन्य ठेकेदारलाई काम दिएका थिए तर काम नभएपछि स्थानीय आक्रोशित बनेका छन् । ठेकेदारको लापरवाहीका कारण उक्त क्षेत्रमा दैनिक रुपमा सानो ठूलो दुर्घटना भइरहन्छन् । दिप लामाचौर सडक विस्तार एवम् नाला निर्माण आयोजना अन्तरगतको काम ३ महिनामा सक्नुपर्नेमा ठेकेदारको लापरवाहिले १४ महिनासम्म पनि सम्पन्न हुन सकेको छैन् । सडक विभाग अन्तरगत रहेको उक्त योजना हेटौडाँका ठेकेदार लक्ष्मी पाठकले टेन्डर पाएका हुन् ।

अनिल गुरुङले लक्ष्मी पाठकले अन्य ठेकेदारलाई दिएको र जिम्मा पाएका ठेकेदार भाग्ने गरेको बताए । ‘हेटौडाँका ठेकेदार लक्ष्मी पाठकले यो ठेक्का पाएका हुन् । तर, उनले अन्य ठेकेदारलाई यो काम सुम्पिएका थिए । ती ठेकेदारले पनि काम नगरि फरार भए’, उनले भने,‘हामीले सडक विभागमा बारम्बार खबर गरेपछि काम सुरु भएको थियो तर, सानो योजनामा ३ जना ठेकेदार आए अनि भागे । यो ठेकेदारको चरम लापरवाहीका कारण भएको हो ।’ उनको यो मात्र होइन अन्य स्थानमा पनि ठेक्का रहेको छ । पाएको योजनामध्यको एक टुक्रा योजाना रहेको र पाठकले पाएका योजनाहरु कुनै पनि पूरा नगरेको गुरुङले बताए ।

वर्षेनी जान्छ ज्यान

सडकको छेउमा रहेको नालीमा खसेर वर्षेनी मानिसको मृत्यु हुँदै आइरहेको छ । अघिल्लो वर्ष एक बालिका दिउँसो उक्त नालीमा खसिन् । उज्यालोमै खसेका कारण उनको जिवितै उद्धार भयो । २०७७ सालमा मोटरसाइकलसहित एक युवा सोही नालीमा खस्दा वेपत्ता भए । मोटरसाइकल भेटियो तर युवा भेटिएनन् । ०७६ सालमा गण्डकी बोर्डिङ स्कुलका एक कर्मचारी पनि सोही नालीमा खस्दा बगेर मृत्यु भयो । भदौमा पनि एक बालकको मृत्यु भएको छ । अघिल्लो वर्ष टेन्डर पाएको शिवशक्ती इन्फो प्रा.लि.ले सडक विस्तार, अस्फाल्ट पिच र नाला बनाउनुपर्ने भएपनि सडक विस्तार र नाला बनायो । निमार्ण कम्पनीले नालामा राख्नुपर्ने ढकनी (स्ल्याब) नराखेकै कारण बालकले ज्यान गुमाएको स्थानीयहरुको आरोप छ ।

भदौमा आमा र दिदीसँगै तिज मनाएर घर फर्कर्दै गरेका ११ वर्षे रविन तिवारीको नालाले बगाएर मृत्यु भएको थियो । उनको चिप्लिएर नालामा खस्दा मृत्यु भएको हो बगाएको ४५ मिनेटपछि रविनको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो । उक्त नालामा अहिले ढकनी (स्ल्याब) राखिएको छ । राखिएको स्ल्याब नै जोखिमपुर्ण छ ।

ठेकेदारको लापरवाही भएको हो : डिभिजन प्रमुख हमाल

सडक डिभिजन कार्यालय पोखराका डिभिजन प्रमुख पारसमणि हमालले ठेकेदारको लापरवाहि देखिएको बताए । उनले ठेकेदारले समयमा काम नगरेका कारण आफुले कारवाहिका लागि पत्राचार गरेपछि मात्रै सम्पर्कमा आएको सुनाए । ठेकेदार पाठकलाई कारवाहिको विकल्प छैन् भनेपछि पोखरा आउँदै गरेकोसमेत सुनाए । ‘त्यहाँ ठेकेदारले समयमा काम गरेन त्यसपछि मैले समयमा काम गरेन भनेर पत्र काटेपछि सम्पर्कमा आएका छन् । पोखरा आउँदैछन् ।’ उनले भने, ‘भोलि उसलाई (लक्ष्मी पाठक) लाई राखेर काम गर्ने चित्तबुझ्दो तालिका दिएर काम गर्छ भने ठीक छ नभए ठेक्का रोक्ने गरी कारवाहि प्रक्रियामा जानेछ ।’ वडाबाट जनप्रतिनिधि, स्थानीयहरु गुनासो लिएर आएपछि आफुले छठ पर्वपछि काम गरेन भने तत्कालै काम गराउने नभए कारवाही गर्ने बचनबद्ध दिएको र ठेकेदारले काम नगरेको कारण आफुले पत्राचार गर्न परेको बताए । अन्य क्षेत्रको काममा गएका कारण यहाँको काम नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->