बागलुङ/नेपाल प्रेस युनियनले पत्रकार डम्बर बुढामगरलाई ज्यान मार्ने धम्की आएकोमा बिरोध गरेको छ । अज्ञात समूहले फेसबुक आइडी बनाएर बुढालाई मार्ने धम्की दिएको घटनाप्रति युनियनले बिज्ञप्तीमार्फत बिरोध गरेको हो ।
स्पोर्ट नेपाल नामको फेसबुकबाट म्यासेज बक्समा आएको धम्कीबारे बुढाले युनियनलाई जानकारी गराएका थिए । बुढाको घर ठेगानासमेत खुलाएर मार्ने धम्की सहितको म्यासेज आएको थियो । युनियनका अध्यक्ष प्रदिप पन्तले उक्त घटनाले गम्भिर ध्यानकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
पत्रकारले लेखेको समाचारमा चित्त नबुझेमा खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिन सक्ने कानूनी व्यवस्था भएको उनले स्मरण गराएका छन् । घटनाको सत्यतथ्य छानविन गर्न युनियनले जिल्ला प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएको छ । साथै, यस्ता घटना दोहारिन नदिन सबैलाई सचेत गराएको छ ।





