बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘परदेशीका पसिना सदुपयोग भएन’

‘परदेशीका पसिना सदुपयोग भएन’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७९, शनिबार

पोखरा/ नेपाली युवा रोजगारीका लागि इराक जान पाउँदैन । २०६१ भदौ १६ गते इराकका विद्रोहीले १२ जना नेपालीको हत्या गरेपछि सरकारले रोजगारीका निम्ति इराक जान प्रतिवन्ध लगाएको थियो ।
सरकारी प्रतिवन्धका बाबजुद अहिले पनि हजारौं नेपाली युवा रोजगारीको खोजीमा इराक पुगेका छन् । आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङका अनुसार अहिले नेपाली महिला मात्र इराकमा ८ हजार बढी छन् । उनीहरु सबै अवैध बाटोबाट इराक पुगेका हुन् । उनीहरु नेपाल फर्किएपछि फेरी वैदेशिक रोजगारीमा जान चाहने गरेको गुरुङले बताइन् ।

नेपालमा रोजगारीका अवसर नपाएका लाखौं युवा अहिले वैदेशीक रोजगारमा छन् । उनीहरु अधिकांश मलेसिया र खाडी मुलुकमा पुगेका छन् । आप्रवासनविद् डाक्टर गणेश गुरुङका अनुसार नेपालका ६० प्रतिशत घरले कुनै न कुनै रुपमा विदेशमा रहेका आफन्तले पठाएको रेमिट्यान्स बुझेका छन् ।

विदेशमा रहेका नेपालीले यसरी पठाएको रेमिट्यान्स रकमको ७५ प्रतिशत दैनिक उपभोगका समान खरिद गरी घरखर्च चलाउन खर्च भएका छन् । बाँकी रकम घर, जग्गा खरिद, शेयर, विलाशी सामाग्री लगायतमा खर्च भएका छन् । तर उक्त रकम प्रतिफल पाउने गरी उत्पादनका क्षेत्रमा लगानी हुन सकेको छैन ।

पोखरामा शुक्रबार आयोजित ‘परदेशको पसिना, कसरी लिने प्रतिफल ?’ विषयक कार्यक्रमका सहभागीले वैदेशीक रोजगारीबाट भित्रिएको रेमिट्यान्स उत्पादनका क्षेत्रमा लगानी हुनुपर्ने बताए ।

आप्रवासनविद् गुरुङले वैदेशीक रोजगारीमा जान लागेका युवालाई नेपाल छँदा नै यसबारे जानकारी गाराउनुपर्ने बताए ।

‘वैदेशिक रोजगारीमा जान लागेका युवालाई घर खर्चका लागि छुट्टै र लगानीका लागि छुट्टै बैंक खाता खोलेर पठाउनुपर्छ,’ उनले भने, ‘रेमिट्यान्सको रकम दैनिक घरखर्च चलाउनमा मात्र खर्च भयो, लगानी गर्न हामी चुकिरहेका छौं ।’

श्रीलङ्काले यस्तो अभ्यास गरिरहेको भन्दै उनले दोस्रो विश्वयुद्ध पश्चात जापानले पनि वैदेशीक रोजगारीबाट भित्रिएको रेमिट्यान्सबाट आफ्नो जग खडा गरेको उदाहरण दिए ।
वैदेशीक रोजगारीका क्रममा ८ बर्ष कतार बसेर फर्किएका सोलुखुम्बुका भीम श्रेष्ठले विदेशबाट पठाएको रकम दैनिक आवश्यकता र परिवारको शिक्षा एवं स्वास्थ्यमा खर्च भएको बताए । विदेश गएपछि नेपालमा भन्दा विदेशमा बढी पीडित हुनुपरेको भन्दै उनले आधारभूत आवश्यकता पुरा गर्न रेमिट्यान्सको प्रयोग गरेको बताए ।

‘हामीले छोराछोरीलाई राम्रो शिक्षा र स्वास्थ्य दिन सकेका छौं,’ उनले भने, वैदेशीक रोजगारीको फाइदा यही छ ।’विदेशमा बसेर काम गर्दा सिकेको शीप नेपालमा काम नलागेको अर्का सहभागी निरज थापाले बताए । कोरिया र जापानमा काम गरेर फर्केका थापाले भने, ‘नेपालमा सर्टिफिकेट चल्छ, शीप चल्दैन, विदेशमा सर्टिफिकेट भन्दा बढी शीप चल्छ ।’

आप्रवासनविद् थापाले विदेशबाट युवाले ल्याएको शीप, ज्ञान र पुँजी परिचालन गर्न पनि सरकार चुकेको बताए । विदेशमा रहेका युवालाई सरकारले मतदानको अधिकारसमेत नदिएको भन्दै उनले वैदेशीक रोजगारीका विषयमा गम्भीर हुनुपर्ने धारणा राखे ।‘विदेशमा मृत्यु भएका नेपालीका परिवारले पाउने राहत सरकारले दिएको होइन, उनले भने, ‘श्रमिकले नै कल्याणकारी कोषमा जम्मा गरेको रकम हो ।’
किताब पब्लिसर्सले प्रकाशन गरेको पुस्तक ‘परदेशको पसिना’मा आधारित छलफल वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरमा केन्द्रित थियो । वैदेशिक रोजगारीका विषयमा अध्यन, अनुसन्धान तथा तथ्याङ्क समेटेर तयार पारिएको उक्त पुस्तक लेखक यज्ञशले संपादन गरेका हुन् ।

पुस्तकमा मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातवटा लेख समावेश छन् ।
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले विदेशबाट फर्केका युवालाई स्वदेशमै उत्पादनका क्षेत्रमा लाग्न तालिम र अनुदान दिने नीति लिएको बताए । पोखरा महानगरमा रहेका बेरोजगार युवालाई तालिम दिएर रोजगार दिने र विदेश जान चाहनेका लागि पनि तालिम दिएर दक्ष बनाउने आप्mनो योजना रहेको उनले सुनाए । गण्डकी प्रदेशका योजना आयोग उपाध्यक्ष डाक्टर रघुराज काप्mलेले वैदेशीक रोजगारीका विषयमा तीनै तहका सरकार गम्भिर नभएको बताए । वैदेशीक रोजगारीमा जान चाहने युवालाई तालिम दिएर दक्ष कामदारका रुपमा पठाउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->