शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

उमेद्वार दैलोमा, मतदाता भने खेतबारीमै व्यस्त

उमेद्वार दैलोमा, मतदाता भने खेतबारीमै व्यस्त


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७९, सोमबार

बागलुङ/ दक्षिण बागलुङमा मत माग्न पुगेका स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले शनिबार जैमिनी नगरपालिका–२ दमेकमा पुगेर माईकिङमार्फत मत मागे । घरदैलोमा हिँडेका कँडेलले सर्वसाधारण सबै खेतबारीमै देखेपछि ठुलो आवाजमा माईक लगाएर आँफैले भने–‘तपाईंहरु खेतबारीमै हुनुहुँदो रहेछ, हामी भोट माग्न घरमा आएका थियौं, भेटेनौ यतै आयौं ।’

खेतबारीको फाँटतर्फ पिकअप भ्यानमा जोडिएको माईक फर्काएका कँडेलले चर्को आवाजमा मत मागदै थिए । उनले आँफु र आफ्नो पार्टीको एजेण्डा पनि माईकमार्फत नै राखे । प्रतिनिधिसभा सदस्यमा बागलुङ क्षेत्र नं. १ बाट उमेद्वार बनेका कँडेलले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातीक दुवैमा आफ्नो दलका लागि मत मागे र अर्को खेतको फाँटतर्फ लागे ।

आगामी मंसिर ४ गते हुने निर्वाचनले राजनीतिक दल र उमेद्वारमा जति धपेडी छ, त्योभन्दा बढी कृषकलाई धान, कोदो लगायत बाली थन्क्याउने छ । उमेद्वार तथा दलका नेताहरु मतदाताको घरदैलोमा पुगेपनि मतदाताभने बिहानदेखि साँझसम्म खेतबारीमै व्यस्त छन् । दलका कार्यक्रममा मतदाताको उपस्थिति ज्यादै न्यून छ ।

मत माग्दै बरेङ गाउँपालिकाको सुखौरामा पुगेका बागलुङ क्षेत्र नं. १ मा एमाले उमेद्वार डा.सूर्य पाठक र क्षेत्र नं. १ प्रदेशसभा ‘ख’का उमेद्वार नवरजा पौडेलले मतदाता घरमा भेट्न पाएनन् । सबैलाई पायक पर्नेगरी आयोजना भएको चुनावी सभामा न्यून उपस्थिती भएपछि उनीहरु पनि खेतबारीमै पुगे । सडकमा सवारी रोकेर खेतबारीका फाँटमा पुगेका उमेद्वारहरु फाँटहरुमै दिन बिताउने गरेका छन् ।

‘यो बेला मतदाता घर हुने समयनै होईन्, हामीलाई भन्दा उहाँहरुलाई अझै चटारो छ’ डा. पाठकले भने ‘मतदाताको सहजताका लागि हामि खेतबारीमै पुग्ने गरेका छौं, उहाँको समस्या र दुःख बुझ्न खेतबारीमा पुग्दा झन् सहज हुँदोरहेछ ।’ बर्षभरी खाने बाली थन्काईरहेका किसान मतदातालाई आँफुहरुले समय खर्च गराउनेभन्दा खेतबारीमै पुगेर आफ्ना कुरा राख्ने गरेको पाठकले बताए ।

सत्ता गठबन्धनका साझा उमेद्वार चित्र बहादुर केसीले पनि शुक्रबार जैमिनी नगरपालिकाको राङ्खानीमा घरदैलो गर्दै थिए । केसीले प्रदेसभा सदस्यका उमेद्वार डिल्लीराम सुवेदीसहित घरदैलोमा पुग्दा मतदाताको सहभागिता न्युन पाए । किसान खेतबारीमा र उमेद्वार घरमा हुँदा दलतथा उमेद्वारका भेटघाटका कार्यक्रममा सर्वसाधारण सहभागिता न्यून छ ।

चिसो बतास चल्न थालेकाले पानी परिहाल्ला भन्नेमा कृषक चिन्तित छन् । पाकेर काट्न ठिक्क परेको धान, कोदो असिनाले झार्ला भन्ने उत्तिकै चिन्ता किसानलाई छ । क्षेत्र नं. १ मा भैरहेका कार्यक्रममा मात्रै होईन जिल्लाभरीकै एमाले र सत्ता गठबन्धनका उम्मेदवार, अन्य दल र स्वतन्त्रका चुनाव प्रचारप्रसार गर्न आयोजित सभाहरूमा पनि मतदाताको उपस्थिति न्यून छ ।

कतिपय स्थानमा दलका चुनावी सभामा उपस्थित मतदाताभन्दा बढी आयोजक दलका नेता कार्यकर्ता देखिएका छन् । चुनावी सभाहरूले मतदातालाई आकर्षित गर्न नसकेपछि उनीहरूले चुनावी रणनीति परिवर्तन गरी समूह समूहमा मतदाताको घरदैलो अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->