नवलपुर/ देशैभरका उम्मेदवारहरुको भीडमा एकमात्र दृष्टिविहीनले नवलपुरबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेर सवैको ध्यान खिचेका छन् । नवलपुरको क्षेत्र नं. २ को प्रदेशतर्फ ‘क’ मा लौरो चिन्ह लिएर उम्मेदवारी दिएका दृष्टिविहीन हुन्– यदुनाथ सिग्देल । उनले आफू नेपालमा अहिलेसम्मकै इतिहासमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने दृष्टिविहीनमध्ये पहिलो उम्मेदवार भएको बताउँछन् ।
उनले भने,‘प्रत्यक्षतर्फ उठ्ने उम्मेदवारमध्ये विश्वमै पहिलो उम्मेदवार हो भन्ने पनि छ, आधिकारिक नभइकन हो नै भन्न मिलेन तर नेपालको पहिलो उम्मेदवार हुँ । अब संसद छिरेर दृष्टि नभए पनि मेरा दृष्टिकोण कार्यान्वयन गराउने इच्छा छ ।’
उनी जन्मदै दृष्टिविहीन थिएनन् । २०६२÷०६३ सालको जनआन्दोलनमा विद्यार्थी मोर्चाको नेतृत्व सम्हाल्दा गैंडाकोटमा भएको प्रदर्शनको क्रममाउनीमाथि निर्मम लाठी चार्ज गरियो । म¥यो भने भृकुटी चोक नजिकैको सडक किनारामा फालिएका उनलाई स्थानीयले उद्धार गरी अस्पतला पु¥याए । अस्पतालमा उनको होस फक्र्यो तर सदाका लागि आँखाको ज्योति गुम्यो । उनी अतित सम्झँदै भन्छन्,‘लोकतन्त्रका लागि आँखा नै दान गरेको छु । मेरो दृष्टि गुमेको हो, दृष्टिकोण होइन । लामो बलिदानीबाट प्राप्त भएको यो सुन्दर व्यवस्था चलाउन नजान्दा दुःख लागेको छ । मेरो उम्मेदवारी बेथिति, विकृति, भ्रष्टाचार, कुरिति, कुसंस्कार र महंगीका विरुद्धमा हो ।’
उनी अरु उम्मेदवार जत्तिकै फुर्तिलो र जोसिलो शैलीमै मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अपील गरिरहेका छन् । उनी घरदैलोमा मात्रै सीमित छैनन्,अरु उम्मेदवारले भन्दा भिन्न शैलीमा मत मागिरहेका छन् । जनताका गुनासा र आक्रोशलाई गम्भीर भएर सुन्ने, बृद्ध, युवा, महिलाका कुरा सुन्ने, चौर, चौतारा, खेतवारीमा भेला भएका विभिन्न उमेर समूह र पेशाका व्यक्तिसँग समस्याका सुझाव समेत टिपोट गर्ने गर्छन् । त्यसपछि अहिलेसम्म देशको बागडोर सम्हालेका नेतृत्वबाट भएको गल्ती सुधार्ने मौका आएकाले सही निर्णय गर्न आग्रह गर्छन् ।
शिक्षा, स्वास्थ्य, रोजगार र गास, बास, कपास आफ्नो मूल एजेण्डा रहेको उनी बताउँछन् । सिग्देलले आफ्नो क्षेत्रको भूमिको आकार र अवस्थाको आधारमा उत्पादनमा जोड्ने र कृषि उपज संकलन केन्द्र, कृषि एम्बुलेन्सको अवधारणा रहेको बताएका छन् । यस्तै सडक स्तरोन्नति, नारायणी डुवान कटान न्यूनीकरणका लागि तटबन्ध गर्ने योजना रहेको सुनाए ।
सिग्देलले आफूजस्तै अपाङ्गका लागि सीपयुक्त शिक्षा र तालिममार्फत् रोजगार बनाएर आत्मनिर्भर बनाउने योजना रहेको सुनाए ।‘थुप्रै संस्थाको नेतृत्व गरेको छु । कावासोतीमा नौ कोठाको अपाङ्ग पुनःस्थापनाको भवन बनाएको छु । गैंडाकोटमा २ करोडको लगानीमा कृषि वजार केन्द्र र संकलन केन्द्र स्थापना गरेको छु । ससाना योजनाका बाटो–घाटो, नहर, कल्भर्ट निर्माण मर्मतका लागि प्रदेश–संघ लगायतका सरकारसँग समन्वय गरेर योजनाहरु पूरा गरेको छु’,उनले जित्ने आधार प्रस्तुत गर्दै भने,‘कुनै पदमा नरहँदा त काम गरेको छु जिम्मेवार ठाउँमा पुगेपछि नगर्ने भन्ने कुरै छैन ।’
नवलपुरको तल्लो क्षेत्र कावासोती, मध्यविन्दु र हुप्सेकोटका वडाहरुको घरदैलो सकेर उनी पहाडी क्षेत्र बौदीकाली र हुप्सेकोटको पहाडी वडामा घरदैलोमा लागेका छन् । यहाँ गठबन्धनबाट माओवादी केन्द्रका सोम सिर्पाली र एमालेका पद्मा जिसीसहित १२ जना उम्मेदवार छन् ।





