बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

विपद् उद्दार टोली निर्वाचनमा, समयमा उद्दार नहुँदा पोखरामा बालकको मृत्यु

विपद् उद्दार टोली निर्वाचनमा, समयमा उद्दार नहुँदा पोखरामा बालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७९, आइतबार

पोखरा/ यतिबेला देशभर चुनावी माहोल छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुदैँछ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि यतिबेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ ।

कास्की जिल्लामा पनि सुरक्षालाई चुस्त बनाउनका लागि सूरक्षा निकायका सबै शक्ति निर्वाचन केन्द्रित छ । सूरक्षादललाई निर्वाचन केन्द्रित भएपछि एक बालकले ज्यान गुमाउनु परेको छ । बिहिबार पोखरा महानगरपालिका वडा नं. १५ सीताराम हाउजिङ नजिकै कल्भटको पर्खालमा खेल्ने क्रममा १२ वर्षिय पावल श्रेष्ठको भिरको खोँचमा खस्दा मृत्यु भएको हो ।

एसोएसमा पढ्ने पावल परीक्षा दिएर फर्कने क्रममा टोलछिमककै दिदी तथा शिक्षकसंगै फर्किदा सीताराम हाउजिङ तर्फ खेल्न पुगेका थिए । उनीसहित पाँच जना गएपनि खेल्दा खेल्दै पावल वेपत्ता भएका दिए । बिहिबार करिब १ बजेको समयमा उनी वेपत्ता भएका हुन् । वेपत्ता भएको पाँच घण्टापछि प्रहरीलाई फोन गरेको थियो । तर प्रहरीको उद्दार टोली भने निर्वाचनका लागि स्याङजा पुगेको थियो । प्रहरीको उद्दार टोली नभएपछि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली घटना स्थलमा पुगेपनि बालकलाई नभेटेपछि फर्किएका थिए । एक प्रहरी स्रोतका अनुसार भीरमा चढ्ने वा त्यस्ता प्रकृतिका घटनामा (क्लाइमिङ गर्न) उद्दार गर्न नेपाल प्रहरी पोख्त छ । सशस्त्र प्रहरीको टोली पानीमा खोज्न पोख्त छ अर्थात गोताखोरको टोली हो । क्लाइमिङमा पोख्त नेपाल प्रहरीका टोलीलाई नै जिल्ला भन्दा बाहिर पठाउँदा समस्या आएको हो । दुई दिनसम्म खोज तलासी गर्दा नभेटेको भन्दै फर्किएपछि शनिवार स्थानीय आफैले खोजेका थिए । स्थानीयले खोज्दा पावल घाइते अवस्थामा फेला परेको उद्दार गरेका नयन थापा मगरको भनाइ छ । ‘मैले समात्दा चलेको थियो अनि पानी खुवाए । हामीले बोलाउँदा हँ भन्यो’ उनले भने,‘यदि समयमा उद्दार भएको भए बाच्ने रहेछ । सशस्त्रको उद्दार टोलीको लापरवाहि देखियो ।’ उनले प्रशासनले समाजमा हुने जोखिमलाई ख्याल नगरी सम्पुर्ण सूरक्षालाई निर्वाचनमा खटाउँदा समस्या आएको बताए ।

उद्दारमै खटिएका अर्का चित्र कुमार श्रेष्ठ (नारायण ) ले प्रशासनको ठूलो गल्तिका कारण आज बालकको ज्यान गएको आरोप लगाए । ‘नागरिकको सुरक्षा गर्ने जिम्मा र ज्यान जोगाउने जिम्मा प्रशासनको हो । वेपत्ता भएका बालकलाई खोजिदिन आग्रह गर्दा ४८ घण्टासम्म पनि उचित तरिकाले खोजतलास गरिएन’ उनले भने, ‘हामीले न्याय पाउन पर्छ । प्रशासनले समयमा रेस्क्यु गरिदिएको भए आज हाम्रा भाइ बच्ने थिए । सशस्त्र प्रहरीको टोली आएर घाम तापेर बसेको छ । बालुवा भएको ठाउँलाई पानी छ भनेर टारे । भात खाएर आउछौँ रे । हिजो निकालिदिएको भए बाबू बच्ने थियो । हामी जान्छौ भन्दापनी रोकियो । आज हामीले नै खोज्यौ ।’

स्थानीय वृद्धा पदम बहादुर थापाले हराएको दिन रातमा आएको उद्दार टोली आवस्यक पुर्व तयारी विना नै आएको बताए । ‘बच्चा दिउँसोको १ बजेतिर खसेको हो । प्रहरीालाई चार बजेतिर थाहा भयो । राति सशस्त्रले इमरर्जेन्सी लाइट छैन भन्दै फर्कियो । बच्चा झरेको ठाउमा गए तर खोंच देखेपछि फर्किएर आए’ उनले भने,‘बच्चालाई पानी खुवाएर ल्याएको हामीले पनि देखेका हौँ । ल्याउँदा ल्याउँदै हिक्क गरेको थियो । त्यसपछि बाबु चिसो भयो ।’ प्रहरीले खबर पाएपछि वालक खोज्न जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश शाहको कमाण्डमा ७ जना ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बल २४ नं. गण कालिका मालेपाटनबाट सहायक प्रहरी निरीक्षक दुर्गा खडायतको कमाण्डमा ११ जनाको टोली खटिएको थियो । बिहिबार र शुक्रबार उनीहरुको टोलीले खोजेपनि भेटाउन सकेका थिएनन् ।
हाम्रो उद्दार टोली नभएको सत्य हो ः प्रहरी

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारीले प्रहरीको उद्दार टोली नभएको कुरा सत्य रहेको बताए । उनले निर्वाचनका कारण उद्दार टोली स्याङजाको चापाकोटमा खटिएकाले समस्या आएको सुनाए । ‘यदि निर्वाचन नभएको भए नेपाल प्रहरीको पुरै उद्दार टोली हुनेथियो । हाम्रो रेस्क्यु टिम स्याङ्जाको चापाकोट गएको छ । रेस्क्यु टिमको हाम्रो चार पाँच जना एक्सपर्टहरु हुनुहुन्छ उहाँहरु एक जनापनि यहाँ छैनन् । त्यो सत्य हो । अहिले दुर्भाग्य हुन पुग्यो ।’ उनले भने, ‘निर्वाचनको समय नभएको भए भेटिन्थ्यो होला । एक्सपर्टहरु गए त्यो बाहेक अन्य मेनपावर परिचालन गरिएन ।’

उनले बच्चा खसेको हामीले ढिला गरी थाहा पाएको बताए । उनले नेपाल प्रहरीको उद्दार टोली चापाकोट निर्वाचनका लागि स्याङजा भएका कारण तत्कालै सशस्त्रको उद्दार टिमसंग समन्वय गरेर अघि बढेको सुनाए । तिवारीले खोज तलास गर्ने क्रममा त्यहाँ सानो खोंच देखिएको र सानो प्वाल भएकाले मान्छे नै खस्ने अनुमान नभएको समेत सुनाउ । ‘त्यहाँ सानो खोंच रहेछ । त्यहि खोंचमा सानो प्वाल रहेछ । त्यहाँ कहिले काँहि प्लाष्टिकका थैलो सम्म खस्न सक्ने तर मान्छे नै खस्न नसक्ने रहेछ’ उनले भने । डोको जस्तो खोंच भएको र त्यसको पिंधमा प्वाल भएको उनले सुनाए । त्यो देख्दा खसेन भन्ने अनुमान भएको र रातको समय भएको र त्यहि बाट खसेको भन्ने यकिन सूचना नभएकाले हो होइन भन्न समस्या भएको उनले सुनाए । दोस्रो दिन समेत सशस्त्र प्रहरीको सहायक प्रहरी निरीक्षक दुर्गा खडायतको कमाण्डमा खटिएको ११ जनाको टोलीले खोज तलास गरेका थिए । तलबाट घुमेर आउने ठाउँ रहेछ त्यो हामीलाई पनि जानकारी भएन स्थानीयलाई पनि । आज (शनिबार) माछामार्नेहरुले जानकारी दिएपछि जान मिल्ने ठाउँ रहेछ भनेर अभिभावकहरु खोज्न जाँदा भेटिएको उनले बताए । हामीले पहिला नै थाहा पाएको भए जान्थ्यौँ । थाहा नहुँदा जान सकेनौ हाम्रो हेलचक्रयाइ होइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->