जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतान्तरले पराजीत गर्दै थकाली निर्वाचित भएका हुन् । थकालीले ३ हजार ९९२ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।
त्यस्तै मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मतमात्र प्राप्त गरेका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । जसमध्ये १३ मत तिर चिन्हमा प्राप्त भएको थियो भने ८७ मत बदर भएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । यसपटक पार्टीले रोमी गौचनलाई टिकट दिएको थियो तर उनले आफु नलडी सो टिकट छोरालाई दिएका थिए ।
निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी रहेको छ । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । यस निर्वाचनमा तुलाचनले उम्मेदवार हुन नचाहेको तर जितेपछि मन्त्री बनाइदिने पार्टी नेतृत्वले आश्वासन दिएकाले उम्मेदवारी दिएको थियो ।
ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनले लेतेमा होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालन गरिरहेका छन् । उनले मुस्ताङमा किविलगायत अर्गानिक कृषि फार्म पनि सञ्चालनमा छ ।





