आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मतदाताको फेरिएको ‘मुड ’

मतदाताको फेरिएको ‘मुड ’


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७९, सोमबार

पोखरा/ यो पटकको आम निर्वाचनमा ‘झडप’का घटनाहरु कम हुने आँकलन गलत थिएन । कारण,फरक विचार र दर्शन बोकेका दलहरु एउटै कित्तामा उभिएका थिए भने २०६४ सालको पहिलो संविधानसभा चुनावजस्तो ‘ज्यान फालेर’ दल वा उम्मेदवारको पछि लाग्ने युवाहरु पातलिएका थिए ।

२०४८ सालको कुरै छाडौँ ! भयो, त्यस्तै ! गण्डकीलाई नै हेर्ने हो भने, नवलपुरको एउटा बुथमा गडबडी र स्याङ्जाका दुई ठाउँमा हवाइ फायर भयो । नत्र,चुनाव ‘शान्तिपूर्ण’ रह्यो । निर्वाचनको उपक्रममा हामी पुगेका मतदान केन्द्रहरुमा खटिएका दलका प्रतिनिधिहरु कुममा कुम मिलाएरै हिँडेको देखियो । भला, उनीहरुको लागि व्यवस्था गरिएको ‘भान्छा’ भने फरक थियो ।

यो पटक मत कम खस्यो । आम निर्वाचनप्रति खस्कँदो विश्वास झल्काउन २०७० सालमा ७८.३४,२०७४ सालमा ६८.६७, गएको स्थानीय चुनावमा ६४ र अहिले आएर भएको करिब ६१ प्रतिशतमात्र मतदानको आँकडा नै काफी छ । मतदानमा किन उत्साह देखिएन ? किन मत कम खस्यो ? बहसको विषय होला र हुनुपर्छ ।

तर,यो चुनावमा अर्को एउटा कुरा पनि फरक देखियो । त्यो हो, वैकल्पिक राजनीतिक शक्तिप्रति आम मतदाताको आकर्षण । मुख्य दलका प्रतिनिधिहरु मुखामुख र कानेखुसी गर्दै थिए । ‘यो पटक ‘घण्टीले बित्यास पार्ने भयो’,उनीहरुको एउटै स्वर सुनिन्थ्यो । देशभरजस्तै लमजुङ र कास्कीका निर्वाचन क्षेत्रमा मंसिर ४ को बिहान खासै उत्साहपूर्ण उपस्थिति थिएन । अरु त अरु, लमजुङ सदरमुकाम बेंसीसहरको जनविकास मावि मतदान केन्द्रमा मध्यान्न १२ बजेतिर कर्मचारी र दलका प्रतिनिधिहरु घाम तापिरहेका थिए । बाहिर भेटिएका केही प्रबुद्धहरुसँग हामीले सोध्यौँ,‘मतदाताको रुझान कस्तो छ ?’

तीमध्ये एकले भने,‘घण्टी बजिरहेको छ ।’ उनको संकेत रवि लामिछानेले नेतृत्व गरेको स्वतन्त्र पार्टीतर्फ थियो । मतदाताहरुले स्वतःस्फूर्तरुपमा ‘घण्टी’ रोजेको र त्यसले मुलधारका राजनीतिक दलहरुलाई सकसमा पारेको उनीहरुले सुनाए । कतिसम्म भने एमालेको तर्फबाट गण्डकी प्रदेशसभामा उम्मेदवारी दिएका कृष्ण अधिकारीलाई मत हाल्न काठमाडौंबाट लमजुङ पुगेका ‘दाइ’ले समेत मत बाँडेको बताए ।

उनलाई सजिलो थियो । किनकि, प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएकै थिएन । ‘घण्टीले प्रदेशको मत नबिगारे पनि संघको र समानुपातिकको मत भने उल्टोपाल्टो बनाइदिने भयो’,एमालेका एक नेता भन्दै थिए,‘यस्तै ताल हो भने मुलधारका राजनीतिक दलहरु किनारा लाग्ने भए ।’

न संगठित प्रचार, न उम्मेदवार नै को हो भन्ने जानकारी ! युवाको कुरै छाडौँ,बृद्धहरु पनि एउटा भोट घण्टीलाई भन्दै भन्दै मतदान केन्द्रतर्फ लाग्नुमा मतदाताको फेरिएको ‘मुड’ प्रतिबिम्बित हुन्छ । पुराना दलहरुप्रतिको बितृष्णाकै कारण मतदाताहरुले मन परिवर्तन गरेका हुन् । परिणाम फरक आउने आँकलन सुरु भइसकेको छ । देशका केही निर्वाचन केन्द्रमा पुनः मतदान हुँदैछ । सोमबारदेखि सुरु हुने मतगणनाले कुन दलको कति हैसियत दिलाउँछ ? समानुपातिकको परिणामसम्म कुर्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->