लमजुङ / नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।
वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिले सधैं लिइरहने उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिने क्रममा नेकपा माओवादी केन्द्रका महासचिव एवं प्रतिनिधिसभा उम्मेदवार देवप्रसाद गुरुङले दुवै मिलेर वाम शक्तिलाई एक गराउनेतर्फ लाग्नुपर्ने बताएका थिए ।
पार्टी एकता जोगाउन एमाले उपमहासचिव गुरुङ र माओवादी केन्द्रका महासचिव गुरुङ दुवै लाग्नुपर्ने बताए । ‘म देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्ति एक हुनुपर्छ, एकता हुनुपर्छ भन्ने विचार बोकेको व्यक्ति हुँ । वाम शक्तिबीच कार्यगत एकताको नीति हुनुपर्छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेताको प्रमाणपत्र दिएपछि शुक्रबार पत्रकारहरूसँग उनले भने, ‘सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ । त्यो अभियान फेरि जारी रहन्छ ।’
अहिलेको जनमतले कुनै एउटा दलको बहुमत नपुग्ने पनि उनले बताए । ‘अहिलेको जनमत जसरी जुनखालका अभिव्यक्ति भइरहेको छ, के देखियो भने कुनै पनि दलले बहुमत प्राप्त गर्दैन । कुनै पार्टीलाई बहुमत नदिएपछि समन्वयको आधारमा, मिलिजुली आधारमा, गठबन्धनको आधारमा सरकार बनाउनुपर्ने देखिन्छ’ उनले भने ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ४० महिनामा गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीबाट बाहिहिरिएका गुरुङले संघीयता कार्यान्वयन र प्रदेश सरकारलाई बजेट, नीति निर्माणका कुरामा बलियो बनाउन आफू लागिपर्ने बताए ।
उनले आफू मुख्यमन्त्री भएको बेला अगाडि सारिएका कार्यक्रमहरू संघीय सरकारले पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘देश संचालनका लागि महत्त्वपूर्ण नीति निर्माण गर्ने, सुशासन कायम गराउने सन्दर्भमा ध्यान रहन्छ,’ उनले भने । उनले लमजुङको समृद्धि र विकासमा लागिपर्ने पनि प्रतिबद्धता जनाए ।





