मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

त्रिपालमुनि आशैआशमा बाँचेकाहरु

त्रिपालमुनि आशैआशमा बाँचेकाहरु


  • दिवस गुरुङ
  • मंसिर १२ २०७९, सोमबार

संजय बिटालुहरुले अभाव झेलेको छन् तर आश पारेका छैनन् । संयज भन्छन्,‘ज्यानमा रहेको एक सरो लुगाबाहेक अरु कुनै सामानहरु घरबाट निकाल्न पाएनौं । धन्न घरका सबै सदस्यहरु सकुशल छन् । सम्पत्ति त फेरि जोडाँैला नि । मुख्य सम्पत्ति भनेको त जहान परिवार पो हो त ।’

कार्तिक महिनाको अन्तिम हप्ता । मौसम घमाइलो छ । घाम लागेपनि त्यति न्यानो ताप भने छैन । केटाकेटीको चिसो बाख्राले खान्छ भनेझैं जाडोको पर्वाह नगरी स–साना केटाकेटीहरु सडकमै निस्फ्रिक्री खेलिरहेका छन् । रमाइरहेका छन् । मुगु सदरमुकाम गमगडी जोड्ने मुख्य सडक नै भएपनि सडकको नाजुक अवस्था खाल्डाखुल्डी र धुलाम्य बाटोले प्रस्ट संकेत दिन्छ । जाडो त्यहीँमाथि धुँलो, गाला पटपटी फुटेका छन् उनीहरुका । तर उनीहरु मुस्कान बाड्न पछि पर्दैनन् । मुस्कानको बदलामा म उनीहरुलाई चकलेट दिन्छु । उनीहरु रमाउँदै चौरतिर रहेको त्रिपालतिर कुद्छन् । उत्सुक हुँदै म पनि उनीहरुलाई पछ्याउदै त्यतै लाग्छु ।

रंगीचंगी त्रिपालहरु चौरभरि देखिन्छन् । धेरै त खाली थिए । केही त्रिपालबाट भने धुँवाको मुस्लो माथि उडिरहेको देखँे । म नजिकै रहेको निलो त्रिपालतिर लम्किएँ । त्यहीँ त्रिपालभित्र भेटेँ, सन्जिता बिटालुलाई । उमेरले २५ लागेकी उनी तीन छोरी र एक छोराकी आमा हुन् । चिसो भुइँमा २ वर्षकी कान्छी छोरी खेलिरहेकी थिइन । त्यहीँ छोरीलाई काखमा राखेर उनी एक महिनाअघिको घटनामा फर्किन्छिन् ।

दशा बनेर आएको दशैंः

हरेक वर्षजस्तो यसपालिको दसैं त्यति खास रहेन । रौनकता थिएन देशैभर । विजयदशमीको मुखैमा नवमीबाट देशभर वर्षिन थालेको वर्षा हप्ता दिनसम्म लम्बियो । वर्षाले दसैंमा टीका र आशीर्वाद थाप्न उनी माइत जान पाइनन् । जसोतसो मिठो मसिनो खाएर घरकै जहान परिवारसँग मनाइन ।

दसैंको दुई दिनपछि द्धादशीको दिन । बिहानै कोठाभित्र पानी रसाउन थाल्यो । घरको पर्खाल बिस्तारै चर्किन थालेपछि उनी, श्रीमान र चार सन्तान घरबाट हतारहतार बाहिर निस्किए । ज्यानको एक सरो लुगाबाहेक अरु केही सम्पत्ति उनीहरुले घरबाट निकाल्न सम्म पाएनन् । एकैछिनमा घर माथिबाट आएको पहिरोले ढलाइदियो । नजिकैबाट यो सब एकटकले नियालिरहेकी उनी छाँगाबाट खसेझैं भएकी थिइन ।

छाँयानाथ रारा नगरपालिका वडा नं ८ सिगाडी गाउँमा घटेको घटना थियो यो । अबिरल हप्ता दिनसम्म परेको पानीले पाँच घरलाई उठीबास लगायो । अन्य थुप्रै घरहरुमा पनि धेरै क्षति पु¥यायो । घर भत्किएपछि कति आफन्त त कति छरछिमेकका घरमा बास माग्न पुगेका थिए । कोही भने नजिकै रहेको मन्दिरमा आश्रय लिए । उनीहरु पनि मन्दिरमै बसेका थिए ।

हप्तादिन पछि वर्षा रोकिएपछि उनीहरु गाउँ नजिकै रहेको चौरमा सरे । जाडो याम अनि चिसो भुइँ । न उनीहरुसँग ओछ्याउने म्याट र ओढ्ने न्यायो कम्मल थिए न छाउने त्रिपाल नै । स–साना केटाकेटीलाई चिसोले समात्यो । सुत्केरी र बुढाबुढीलाई उस्तै सास्ती । यो उनको परिवारको मात्र दुर्दशा थिएन, उनीजस्तै अन्य चार परिवारले पनि यहीँ नियति भोगे ।

सुत्केरीलाई सकस :

सञ्जय बिटालु उमेरले २६ पुगे । मलाई उनी कुनै संघसंस्थाको प्रतिनिधि लाग्दो हो, छेवैमा आएर मेरो कुराकानी एकटकले सुनिरहेका थिए । उनी मनभरिको वेदना शब्दमा पोख्दै सुनाउछन्, ‘क्षति टिपाउन र दुःख सुन्न त यहाँ कति संस्था आए, आए । वीरेन्द्रनगरबाट प्रदेश कार्यालकका प्रतिनिधिहरु आए, सदरमुकामबाट कर्मचारीहरु धाए । एन.जि.यो. का कति गाडीहरु आए, आए तर हाम्रो घाउमा मलम लाउने खासै कोही आएनन् । फर्केर आउनेहरु कमै थिए । आश्वासनले मात्र त हाम्रो भोको पेट कहाँ अघाउँदो हो र ? त्यहीँ भएर आजकाल त जो आएपनि खासै वास्ता लाग्दैन ।’

अत्याधिक चिसोले गर्दा केही दिनमा नै दुई छोरी, श्रीमती र उनी आफन्तमा आश्रय लिन पुगेका थिए । त्रिपालमा बस्दा कान्छी छोरीलाई समातेको चिसो अझै निको हुनसकेको छैन । सामान्य औषधिले खोकी निको हुने छाँटकाट देखिदैन । सदरमुकामसम्म पु¥याएर उपचार गर्ने आँटसम्म उनी गर्न सक्दैनन् । यता श्रीमती गर्भवती छिन् । न उनलाई राम्रो स्याहारसुसार छ न त पर्याप्त पोषणयुक्त खानेकुरा नै । मनभरीको वेदनाहरु पोख्दै उनी थप्छन्, ‘ज्यानमा रहेको एक सरो लुगाबाहेक अरु कुनै सामानहरु घरबाट निकाल्न पाएनौं । भाडाकुडा र लत्ताकपडा सबै घरभित्रै पुरिए । भकारीको धान र कोदी सबै माटोमा मिसियो । धन्न घरका सबै सदस्यहरु सकुशल छन् । सम्पत्ति त फेरि जोडाँैला नि । मुख्य सम्पत्ति भनेको त जहान परिवार पो हो त ।’

नाम मात्रको सरकार :

देशैभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रन्को छाएको छ । जताततै चुनावी प्रचारप्रसार र भागदौड मात्र प्रष्ट देखिन्थ्यो । राजनीतिक पार्टीका उमेदवार र कार्यकर्ता भने भोजभतेर र चियापानमै व्यस्त थिए । चुनावी प्रचारका कैयौं चिल्ला गाडी र बाइकको लस्कर नजिकैको सडकबाट हुइकिएर अगाडि बढ्दा कसैको ध्यान त्रिपालतिर जाँदैनथ्यो । फुर्सद पनि कहाँ हुँदो नेताहरुलाई ? कसैले त्रिपालमुनिको दर्दनाक अवस्था नियाल्न त के एक नजर पनि त्यता फ्याक्दैनथे ।
घरबारबिहीन भएको महिना दिन भइसक्दा पनि न नगरपालिकाले चाँसो दियो न प्रदेश सरकारको नै । नजिकै रहेको वडा कार्यालयका कर्मचारीहरु केवल आश्वासन दिन मात्र टुप्लुक्क त्रिपालभित्र आइपुग्थे । आश्वासनले मात्र कहाँ पेट भरिन्थ्यो र ? कहाँ आङ तातिन्थ्यो र ?

हुने खानेकै हालीमुहाली :

रेडक्रस लगायत विभिन्न संघसंस्थाहरु सहयोगका लागि आउने खबर सबैले थाहा पाएका रहेछन् । भकाभक त्यो चौर रंगीचंगी त्रिपाल नै त्रिपालले ढाकियो । पहिरोले घरलाई कुनै क्षति नै नपु¥याएका घरहरु पनि अस्थायी त्रिपालमा आएर पीडकको धज्जी उडाएका थिए । त्यति मात्र हैन, नेता र समाजका ठुलाठालुलाई पोस्न सक्ने भएपछि उनीहरुले नै सबैभन्दा पहिला राहत पाए । सन्जिता र सञ्जयको परिवारले केवल एक एक थान त्रिपाल, बाल्टिन, म्याट र दुईचारवटा भाडाकुडाका चित्त बुझाए । नक्कली पीडकहरु राहत पाएपछि टाँगेको पुरानो त्रिपाल त्यहीँ छाँडेर घर फर्किएछन् । यता वास्तविक पीडकहरुको अवस्था भने जस्ताको तस्तै ।

बाध्यता कि रहर – भारत भासिनेः

उनै सञ्जय बिटालु दुई वर्ष भारतमा रोजगारका शिलशिलामा विदेशिएका थिए । कमाएको पैसाले जेनतेन टहरासम्म बनाएका थिए । ओत लाग्ने छाप्रो भएपछि सुखदुख आफ्नै माटोमा दश नंग्रा खियाएर जहान परिवार पाल्ने उनको सपना थियो । दसैंको पहिरोले सबै भताभुङ्ग बनाइदियो । निन्याउरो मुहार बनाउँदै उनी भन्छन्, ‘ठुल्ठुला देश गएर राम्रो कमाइ गर्ने न लगानी छ न त सीप नै । अब हामी पस्ने भनेको कि खाडी मुलुक कि त्यहीँ भारत । छिट्टै भारततिर कामको खोजीमा लाग्नेछु ।’

थिएन चुनावको रन्कोः

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आउन हप्ता दिन रहँदा उनीहरु भने त्यति उत्साहित देखिदैनन् । ‘राजनीतिक पार्टीलाई ठुलै साथ सहयोग गर्न नसकेपनि हामीहरुसँग दश बाह्रवटा मत त थिए नि,’ न्यास्रो मुहारमा सञ्जय थप्छन्, ‘हामीलाई कुनै राजनीतिक पार्टी वा सरकारमा रहेका पार्टीबाट खास सहयोग मिलेन । चुनावको दौडधुप र भोजभतेरमा भ्याइनभ्याइ उनीहरुको नजरमा हामी कहाँ पर्न सक्नु ? मतदाताको नामवालीमा नाम रहेपनि मतदान गर्ने रहर मरेर गयो । आखिर हाम्रो साथमा कोही पनि रहेनछन् ।’

बालबालिकाको पढाइ अन्योलः

त्यसै त सरकारी विद्यालयमा चाडपर्व र विभिन्न अवसरका नाममा पठनपाठनमा अवरोध हुन्छ । दसैं र तिहार बिदा सकिएपनि विद्यालय भने सुचारु भइसकेको थिएन । निर्वाचन पछि विद्यालय सुरु हुने भएपनि उनीहरुमा भने अर्को पिरलो मनमा थियो, छोराछोरीका लागि पोसाक, झोला र पुस्तक किन्ने पैसा कहाँबाट जोहो गर्ने ? पहिरोमा विद्यालयका पोसाकदेखि कापी कलपसहितको झोला सबै पुरिए । अनि यसैमा पुरिए, पढेर ठुला बन्ने बालबालिकाका सपनाहरु ।

अन्योलमा भविष्य :

जाडो त जसोतसो काटिएला तर अर्को सालको वर्खा याम कसरी काट्ने ? उनीहरु सबैको एउटै चिन्ताको विषय बनेको छ । उनीहरुको बस्ती रहेको गाउँको जमिन धुजाधुजा बनेर फाँटेको छ । अर्को सालको वर्खा याममा अन्य घरधुरीहरु पनि अन्यत्र सारिनु पर्ने देखिन्छ । नत्र यसले ठूलो जोखिम निम्त्याउने देखिन्छ ।

उनीहरु अहिले आश्रय लिँदै आएको खुला चौर रारा राष्ट्रिय निकुञ्जको भुभाग पर्दछ । गाउँमा फर्किएर डरैडरमा रात काट्नु भन्दा उनीहरुलाई यो ठाउँ नै घर बनाएर स्थायी रुपमा बस्न मन छ । यसका लागि नगरपालिकाले निकुञ्जसँग साझेदारी गरिदिए हुने, उनीहरुलाई लाग्छ । यता सरकारमा रहेका प्रतिनिधिहरुलाई भने बेखबर छन् । पार्टीका प्रतिनिधिहरुले निर्वाचन जितेर राजधानी पस्नलाई हतार भएकाहरुलाई जनताको मर्म बुझ्ने समय कहाँ हुँदो हो र ?
बिदा माग्दै गर्दा सञ्जय बिटालु मेरो मोबाइल नम्बर टिपाउँछन् अनि भन्छन्, ‘पोखरातिर कुनै कामसाम भेटिए, खबर गर्नु है सर, म तुरुन्त आइहाल्छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->