मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मृत्यु जितेर घर फर्कनेहरु….

मृत्यु जितेर घर फर्कनेहरु….

मैले उनीहरुसँग कफी र खाजा बाँडें । छु्ट्टिँदै गर्दा कमल गोजीबाट पैसा निकाल्दै मगर लबजमा भन्छन्, ‘हाम्रो कफी र खाजाको कति भयो सर ?’ म निःशब्द हुन्छु । पैसाको कुरा गर्ने भए त म तपाईहरुसँग खाजा नै बाँड्दैनथेँ नि ! सबै जना हाँस्छन् ।


  • दिवस गुरुङ
  • मंसिर १९ २०७९, सोमबार

नेपालकै सबैभन्दा गहिरो ताल हो फोक्सुण्डो । समुन्द्री सतहबाट ३ हजार ५ सय ८९ मिटर उचाइमा अवस्थित यो तालको सुन्दरता शब्दमा वर्णन गर्न सकिदैन । वर्णन गर्न खोज्नु आफैंमा मूर्खता हो । फोक्सुण्डो काखमा तीन रात बिताएपछि मलाई यस्तै लाग्यो ।
रिंमो गाउँबाट करिब चार घण्टा पैदलमा तालको पूर्वी किनार छोलफु पुगिन्छ । बाटोमा देखिने फोक्सुण्डोको प्यानारोमिक दृश्य लोभलाग्दो छ । यही बाटो भएर देशी विदेशी पर्यटकहरु डोल्पा फेरो मार्न माथिल्लो डोल्पाको यात्रा तय गर्छन् ।रिंमोको भीडभाड र हो–हल्लाबाट कतै पर मलाई एक रात फोक्सुण्डोसँग बिताउने रहर जो थियो । त्यसैले म आइपुगेको थिएँ, छोलफुमा । ताल किनारमा टेन्ट लगाएर त्यतै एक रात बिताएँ ।

बिहानको स्वागत सेताम्य हिमालमा घामका सुनौला किरणहरुको चुम्बनसँगै भयो । खोलामा जमेका बरफहरु बिस्तारै पग्लिएर तालमा मिसिन पुगेको थियो ।वरपरका लोभलाग्दा हिमालहरु देख्दा म पनि पानीपानी भइसकेथेँ । पारिलो घाम ताप्दै म भने कफी पिउन थालँे । माथिल्लो डोल्पाको बाटो हुँदै तीनजना मानिसहरु मतिर आउँदै गरेको देखेँ । दूरी धेरै टाढा नभएपनि उनीहरुलाई ताल नजिक आइपुग्न करिब आधा घण्टा लाग्यो । उनीहरुको हिँडाइ नियाल्दा उनीहरु बिरामी छन् कि भन्ने अनुमान मैले लगाएँ तर यथार्थ भने अर्कै रहेछ ।
उनीहरु तीनै जना दाजुभाई रहेछन् । अनि घरचाहिँ पश्चिम रुकुमको नेपानी गाउँ । कामको सिलसिलामा उनीहरु माथिल्लो डोल्पा हरेक वर्ष पुग्दा रहेछन् । दसैं परिवारसँग मनाउन नपाएपनि दिदी बहिनीको हातबाट तिहारमा टीका थाप्ने रहर भाइहरुको थियो, २८ वर्षीय कमल बुढा मगर थप्छन्, ‘वैशाखमा हामी घरबाट डोल्पा उक्लिएका थियौं । करिब ६ महिना घरबाट टाढा हुँदा घरपरिवारको न्यास्रो त मलाई पनि लागेको थियो । त्यसैले पनि हामी घर फर्कने विचारसहित तल झरेका थियौं तर यात्रा सोचेझैं सहज भइदिएन । बारबार मृत्यु
जितेर बल्ल आज तेस्रो दिनमा यहाँ आइपुगेका हौं ।’

यसपालि असोज महिनामै सुरु भएको हप्ता दिन लामो हिमपातले उच्च हिमाली जनजीवन कष्टकर बन्यो । त्यहीँ हिमपातमा कैयौं पर्यटक, भरिया एवं स्थानीयहरुले पनि ज्यान गुमाएका थिए । भिजेर गाउँबाट छोलफुसम्म आइपुग्दा नाग्दाला भञ्ज्याङ (५३५० मि.) पार गर्नुपर्ने हुन्छ । हप्ता दिनको हिमपातले भञ्ज्याङमा तीन चार फिट हिउँ जमेकाले आवातजावात नै अवरुद्ध भएको थियो ।त्यही लेकको बाटो उनीहरुका लागि चुनौती बनेर आयो । जसले झण्डै उनीहरुको ज्यानैसमेत लिएन ।

कमलका कान्छा भाइ हुन् चन्द्र मगर । ६ कक्षा पढ्दापढ्दै बाध्यताले पढाईलाई पूर्णविराम लगाएर उनले पनि दाइकै बाटो समातेका थिए । हरेक वर्ष कामको खोजीमा डोल्पा उक्लेको वर्षले ४ लाग्यो उनको ।उनको खुट्टामा छन् गोल्डस्टार जुत्ता । त्यही जुत्ता माथि तुनाले खुट्टा बाँधेर उनले करिब ६ घण्टा यात्रा गरे । कारण अत्याधिक चिसोले उनका दुवै खुट्टा सुन्निसकेका थिए । खुट्टा जुत्ताभित्र राखेर हिँड्न सम्भव नै थिएन । बलजस्ती खुट्टालाई घिसारेर उनी यहाँसम्म आइपुगेका थिए ।

भिजेर गाउँबाट हिँडेका उनीहरु पहिलो रात से–गुम्बामा बिताए । हिमपात पछि से–गुम्बाबाट नाग्दाला लेकको बाटो हुँदै फोक्सुण्डो अहिलेसम्म कसैले छिचोलेका थिएनन् । बाटो पुरै हिउँले अवरुद्ध थियो । से–गुम्बाबाट धो तरप हुँदै लामो बाटो लगाएर दुनै बजार पनि झर्न सकिन्थ्यो तर यो बाटो पछ्याउँदै आएमा तिहार मनाउन घरसम्म नपुगिने डर उनीहरुमा थियो । त्यसैले ज्यानकै बाजी मोलेर उनीहरु हिउँ छिचोल्दै तालसम्म आइपुगेका थिए ।

हिमाली लेकको बाटो । त्यसमाथि कम्मर कम्मरसम्म हिउँ । सामान्य जुत्ता र लुगा लगाएर यस्तो बाटो हिँड्नु मृत्यु मोल्नु हो । यी दाजुभाईका लागि यो रहर नभइ बाध्यता थियो ।हामी तीन बजे बिहानै से–गुम्बाबाट दोस्रो दिनको यात्रा सुरु गरेर लेक उक्लेका थियौं, कमल थप्छन्, ‘नाग्दाला भञ्ज्याङसम्म आइपुग्न छ घण्टाको कठोर र संघर्षपूर्ण यात्रा ग¥यौं । चारैतिर हिउँ नै हिउँको थुप्रो मात्र थियो । कम्मर कम्मरको हिउँ छिचोलेर बाटो बनाउन पालैपालो लाग्यौं । अत्याधिक चिसो, भोक, थकान र उचाईले हामीलाई नराम्ररी गलायो । दुई जोर मोजा लगाएर जुत्तामाथि दुइटा प्लास्टिक बेरेर हिड्दा पनि चिसो जुत्तामा पस्यो । हिउँले मेराभन्दा दुई भाईका खुट्टाहरु खाएका छन् । सुन्निएर हिँड्न समेत भएन । मलाई मेरोभन्दा उनीहरुको बढी पीर थियो । भाग्यले मात्र हामी बाँचेर यहाँसम्म आइपुगेका हौं ।’

दस वर्षे माओवादी जनयुद्धले थिलथिल परेको जिल्ला हो रुकुम । कमलका परिवार पनि युद्धबाट अछुतो हुन सकेनन् । सात सदस्यको ठूलो परिवार उनको । सामान्य खेती किसानी गरेर बाआमालाई यति ठूलो जहानलाई खान लाउन त्यति सहज थिएन । द्वन्द्वकालको प्रत्यक्ष
असर उनको बाल्यकालमा नराम्ररी परेको थियो । बाल्यकालमा न राम्रो लाउन खान पाए, न उचित शिक्षादिक्षा नै । पाँच कक्षामा नै उनको पढाइ ब्रेक लागेको थियो । घरको जेठो बाठोको हैसियतले पनि घरको धेरै जिम्मेवारी उनको काँधमा सुम्पिएको थियो । फलस्वरुप १८ वर्षको कलिलो उमेरमै उनी विवाह बन्धनमा बाधिए । अनि झन् थपिए उनका जिम्मेवारी र कर्तव्यहरु ।

तीन छोरी र श्रीमतीसहितको उनको परिवार गाउँमै बस्छन् । उनी रुपैयाँ कमाउन काम खोज्दै हरेक साल उपल्लो डोल्पा उक्लन्छन् । भिजेर, साल्दाङ, कोमाङ, धो तरप गाउँका कुनाकाप्चा कामकै शिलशिलामा चहारिसके । त्यति त उनले बरु आफ्नै रुकुम जिल्ला देखेका छैनन् होला । छिमेकी देश भारत छिर्नभन्दा हिमालतिर उक्लेको बेस, उनी थप्छन्, ‘अर्काका देशमा भन्दा त सानोतिनो काम भएपनि आफ्नै देशमा ठीक ! जति कमाएपनि भारतमा त बचत नै नहुने । बरु यता त जेनतेन चार पाँच महिना खटिए, दसैं तिहार मनाउने र जहान परिवारलाई नयाँ लुगा किनिदिने पैसा जोहो गर्न सकिन्छ ।’

काम त बरु पोखरा वा काठमाडौंमा बढी पाइएला नि ? म उनलाई उत्सुकतासहित प्रश्न ते¥स्याउँछु । जाडो, चिसो खपेर महंगो रासन बेसाएर काम खोज्दै माथिल्लो डोल्पा उक्लनुको मुख्य कारण उनी बिस्तारै सुनाउँछन्, ‘सिजनमा यहाँ किरा पनि टिप्न पाइन्छ नि ! राम्रै मौसन र बजार मूल्य भए त यार्सागुम्बा बटुलेर कमाएको पैसाले घरखर्चीमा केही थपथाप हुन्छ । तर यसपालि त्यति राम्रो कमाइ भएन ।’ कुनै बेला सिजनमा उनैले यार्सा बेचेर एक डेढ लाखसम्म कमाएका थिए । कोरोना माहामारीपश्चात् तिब्बत नाका बन्द हुनु र कम मात्रामा यार्सा भेटिएकाले यसपालि उनले ४५ हजारमै चित्त बुझाए तर यति पैसा कमाउन पनि त्यति सजिलो त कहाँ थियो र ? बाहिर जिल्लाका मानिसहरुलाई कहिलेकाहीँ यार्सा बटुल्न रोक लगाइन्छ त कहिलेकाहीँ महंगो शुल्क तिर्नुपर्ने हुन्छ ।

खानेकुराका नाममा उनीहरुसँग केही सुक्का गहुँका रोटी मात्र बाँकी थिए । रिंगो गाउँ पुग्न अझै चार पाँच घण्टा उनीहरुलाई लाग्नेवाला थियो । मसँग दुई दिन पुग्ने खानेकुरा साथैमा थिए । अनि म त्यहीदिन साँझ रिंमो पुग्नेवाला थिए । त्यसैले म तातो कफी र मेरो बिहानको नास्ता उनीहरुसँगै बाँड्छु । उनीहरु हरेकपल्ट धन्यवाद भनिरहन्छन् । म लज्जित भावमा स्वीकारी रहन्छु ।

यसपालिको दसैं उनीहरुले भिजेर गाउँमै मनाए । चाडबाडमा विदेशबाट त नेपालीहरु घर फर्कन्छन् भने आफ्नै देशमा हुँदा किन जहान परिवारसँग नमनाउने ? मनको रहर माइला भाइ सन्दीप पोख्छन् । यस्तो दुःख पाइएला भन्ने थाहा भए त बरु माथि डोल्पामै तिहार मनाइन्थ्यो, उनी थप्छन्, ‘दाइले त घर अलि पछि जाऔं भन्नु भाथ्यो ।दसैं मनाउन नपाएपनि तिहार घरमै मनाउने एकदमै रहर थियो । फेरि घरबाट आएको पनि छ महिना भइसकेको थियो । घर परिवारको न्यास्रो त लागिहाल्छन् नि !’

करिब एक घण्टापछि कछुवा गतिमा उनीहरुकै अर्का साथी विमल आइपुग्छन् । हिउँले उनको खुट्टाहरु बढी नै सुन्निएका थिए । बाटामा कमल र सन्दीप पछिपछि नै हराउँदा दाजु कमल आधा घण्टा उकालो उक्लेर खोज्न हिँडेका थिए । बाटामै पल्टिरहेको देख्दा उनी तर्सिन्थे । कम अक्सिजन, चिसो र जाडोले उनीहरु सुतेकै ठाउँमा मर्न पनि सक्थे । यहीँ डर दाई कमललाई थियो । बारबार मृत्यु जितेर यहाँसम्म आइपुग्दा उनी चैनको सास फेर्थे ।

अझै उनीहरुलाई घरसम्म पुग्न चार÷पाँच दिन लाग्नेछ ।उकालो ओरालो बाटोमा सुन्निएका खुट्टामा हिँड्दा झन् बढी चोट पुग्थ्यो । फेरि आराम गरेर रिंमोमा नै बसे तिहार छुट्ने थियो । सकुशल तिहारसम्म घरसम्म पुगोस् भनेर मैले पनि मनमनै कामना गरे । छु्ट्टिँदै गर्दा कमल गोजीबाट पैसा निकाल्दै मगर लबजमा भन्छन्, ‘हाम्रो कफी र खाजाको कति भयो सर ?’ म निःशब्द हुन्छु । पैसाको कुरा गर्ने भए त म तपाईहरुसँग खाजा नै बाँड्दैनथेँ नि ! सबै जना हाँस्छन् । उनीहरु धीमे गतिमा छोलफु छाडेर उकालो लाग्छन् । म फोकसुण्डोको सुन्दरतामा किनारमै हराइरहन्छु अबेर अबेरसम्म ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->