पोखरा/ प्रदेशसभाको पहिलो बैठक कहिले बस्छ, टुंगो छैन । कारण, समानुपातिकतर्फको अन्तिम मतपरिणााम आएतापनि दलहरुले निर्वाचन आयोगलाई समानुपातिक सांसद बन्नेको सूची पठाएका छैनन । निर्वाचन आयोगले निर्वाचित सांसदहरुको नाम ज्येष्ठ सदस्यको नाम प्रदेशसभालाई लेखेर पठाएपछि मात्रै सपथग्रहणको प्रक्रिया सुरु हुन्छ ।
संविधानको धारा १८३ (१) मा, ‘प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेशसभाको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्नेछ’ उल्लेख गरिएको छ ।
अन्तिम मतपरिणाम आइसकेतापनि आयोगले पठाएको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले सपथग्रहण गराउनेछन भने बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले सपथ खुवाउनेछन । निर्वाचन आयोगले २६ गतेसम्म निर्वाचन प्रक्रियाका सबै कार्यक्रम सकिने जनाएको छ ।
आयोगको भनाइलाई आधार मान्दा त्यसको बीस दिन अर्थात, पुषको दोश्रो हप्ताभित्रै प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गर्ने सम्भावना छ । प्रदेशसभाको ज्येष्ठ सदस्य को हुन र कसले गर्लान त पहिलो बैठकको अध्यक्षता ?
समानुपातिकतर्फका उमेदवारको टुंगो नलागेतापनि उमेरको हिसाबले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले नै पहिलो र्बैठकको अध्यक्षता गर्नेछन । निर्वाचन आयोगको वेवसाइट अनुसार गण्डकीमा प्रत्यक्ष निर्वाचित ३६ प्रदेशसभा सदस्यमध्येमा कास्कीका विन्दुकुमार थापा र पर्वतका मित्रलाल बस्यालको उमेर एउटै छ ।
कास्की २ (ख) बाट चुनाव जितेका कांग्रेसका थापा र पर्वत (ख) बाट चुनाव जितेका बस्याल दुवैको उमेर समान ६५ वर्ष छ । यी दुइमध्ये बढी उमेर हुनेले नै पहिलो बैठकको अध्यक्षता गर्नेछन ।नागरिकतामा उल्लेख भएको जन्ममिति अनुसार गण्डकीको प्रदेशसभाको दोश्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता मित्रलाल बस्यालले गर्नेछन । कारण, उनी ६५ वर्षका अर्का प्रदेशसभा सदस्यभन्दा दुई दिनले ज्येष्ठ छन । यी दुवै प्रदेशसभा सदस्यहरुको जन्ममितिमा जम्मा दुई दिनको मात्र फरक छ ।
बस्याल २०१४ साल भदौ ५ गते जन्मिएका हुन । थापा पनि सोही वर्ष, सोही महिनाको ७ गते जन्मिएका हुन । थापाभन्दा २ दिनले ज्येष्ठ भएका कारण बस्यालले पहिलो बैठकको अध्यक्षता गर्नेछन ।
अघिल्लो निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुमध्ये नवलपुर २ (ख)बाट निर्वाचित जनकलाल श्रेष्ठले पहिलो बैठकको अध्यक्षता गरेका थिए । उनी त्यतिबेला ६७ वर्षका थिए ।संविधानको धारा १८४ (२) अनुसार, “प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नेछ ।” भन्ने व्यवस्था उल्लेख गरिएको छ ।
१५ दिनमा सभामुख र उपसभामुखको निर्वाचन
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८२ मा भनिएको छ, ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूहरुमध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन ।’





