म्याग्दी/नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको सम्भावना भएका देशभरका जिल्लामा संयुक्त रुपमा लगानी गर्नुपर्ने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभाको शनिबार बेनीमा उद्घाटन गर्दै लगानीको सम्भावना र आर्थिक लाभ हुने क्षेत्रमा स्थानीय लगानीकर्ताकै अगुवाइमा संयुक्त लगानी गरी समृद्धिको यात्रालाई सहज बनाउन सकिने ढकालले बताए ।
‘अर्थतन्त्रको विकासमा निजी क्षेत्र र सरकार मिलेर लगानी गर्नुको विकल्प छैन,अब जहाँ सम्भावना छ त्यही लगानी गर्नुपर्छ’,वरिष्ठ उपाध्यक्ष ढकालले भने । ढकालले उत्तरी म्याग्दीको कालिगण्डकी नदीमा १५० मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताए । उनले निजी क्षेत्रको लगानीमा म्याग्दी जिल्लाभित्र पर्नेगरी कालीगण्डकी नदीको पानीबाट १ सय ५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउँदै यसका लागि नेपाल सरकारले १५ सय मेगावाटको पिपिए गर्ने भन्ने निर्णय भैसकेको हुँदात्यसैभित्रकालीगण्डकी नदीको पनि पिपिए गरी निर्माणकार्य थालिनेबताए ।
सरकार र निजी क्षेत्रको सहकार्यमा उद्योग खोलेर देशमा आर्थिक विकास गर्न सकिने बताउँदै स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताए । ‘सानो सानो लगानी मात्रै किन नहोस्, हामीले संयुक्त रुपमा अगाडी बढाउन स्थानीय सरकार समेत सक्रिय हुनुपर्छ’। उनले भने । लगानीबिना अव समृद्ध नेपाल बनाउन नसकिने भएकाले निजी क्षेत्रको तर्फदेखि देशभित्र भएका आर्थिक उपार्जनका क्षेत्रको विकासलाई अगाडि बढाउन सकिने उनको भनाइ थियो ।
पछिल्लो समय कोरोना भाइरस, लकडाउन, आर्थिक तरलताको अभाव र व्याजदर वृद्धिलगायत विविध समस्याहरुको प्रत्यक्ष असर निजी क्षेत्रमा परेकाले यसको समाधान गर्न उद्योग वाणिज्य महासंघको तर्फदेखि सम्बन्धित नियमनकारी निकायहरुमा पहल गरिएको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ ।सङ्घीयताको कार्यान्वयनसँगै निजी क्षेत्रको मर्यादाक्रम र मेला महोत्सव निजी क्षेत्रले मात्रै गर्न पाउने व्यवस्थाका लागि आफूले गृहमन्त्रीसमक्ष माग राखेको बताए । देशैभर हुने मेला महोत्सवहरु उद्योग वाणिज्य महासंघका सदस्यहरुले मात्रै गर्न पाउनुपर्छ भन्ने माग आफूहरुले नेपाल सरकारसमक्ष राखेको र त्यसलाई कार्यान्वयनको पाटोमा लैजाने उपाध्यक्ष ढकालले बताए ।
जिल्लाका स्थानीय तहहरुले सम्भावित कृषि, पर्यटन, जडिबुटी र जलविद्युतलगायत सम्भावितआयोजनाहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । पर्यटन प्रवद्र्धन गर्न सम्भावित क्षेत्रहरुको बारेमा आफूहरुले जानकारी पाएको खण्डमा त्यस क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने उपाध्यक्ष ढकालले प्रतिबद्धता जनाए । साधारणसभाको अवसरमा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका मेयर सुरत केसीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । साधारणसभाको अध्यक्षता बेलबहादुर कटुवाल र सञ्चालन महासचिव अमित बानियाँले गरेका थिए ।





