मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

हजुरआमासँगै चौंरी गोठ कुरिरहेकी नागसा

हजुरआमासँगै चौंरी गोठ कुरिरहेकी नागसा


  • दिवस गुरुङ
  • मंसिर २६ २०७९, सोमबार

नागसा राताराता स्याउजस्ता गालामा मुस्कान छर्न छाड्दिनन् । चौंरी गोठमै बस्छिन् । स–साना भेडा र च्याङ्ग्राका बच्चाहरुसँग लेकमै रमाइरहिन्छन् ।

म चार हजार मिटरको उचाइमाछु । चिसो अत्याधिक छ यहाँ । वरपरका डाडाँकाडा हिउँले सेताम्य छन् । दसैंमा पाँच दिन अविरल वर्षेको वर्षा केही मत्थर भएको छ तर आकाश भने छ्याङ्ग खुलेको छैन । कालो बादल अझै आकाशमा मडारिरहेको छ । साघुरो सुरुङको बाटो कटेपछि म आइपुगेको छु– ताक्यु खर्कमा । डोल्पाको डाडागाउँ र पाङ्गागाउँका मानिसहरु यहाँ चौंरी गोठ राख्छन् । जेठ असारमा यता उक्लेका उनीहरु हिउँद लागेपछि मात्र मंसिरमा घर फिर्छन् ।
बाटाको छेउमा भेडाको ऊनले बुनेको कालो त्रिपाल देख्छु । त्यहीँ त्रिपालमाथि धुँवाको मुस्लो मडारिरहेको छ । पसिनाले निथ्रुक्क रुझेको ज्यान आगोको रापमा तताउने मनासायले म मूल बाटो छाडेर त्यतै लाग्छु । हिलो लागेको हात र जुत्ता बाल्टिनको पानीले पखाल्छु अनि म पस्छु त्रिपालभित्र ।

बिचमा अँगेनो छ । अगेनामाथि तिब्बती चिया उम्लँदै छ । वरपर छ जना अँगेनालाई घेरो मारेर आगो ताप्दै छन् । म गह्रांै झोला छेवैमा बिसाउँछु । उनीहरु मलाई बस्ने ठाउँ व्यवस्था गरिदिन्छन्, न्यायो राडी बिछ्याएर । म पसिनाले रुझेका टि–सर्ट र ज्याकेट फेर्छु । चिटिक्क परेको बुट्टेदार तिब्बती कपमा मलाई पनि तिब्बती चिया राखिदिन्छन् । चियामाथि उवाको सातु र त्यसमाथि चौंरीको मगमग बसाउने नौनी । स्वादमात्र हैन बास्ना पनि विशेष लाग्दै छ । अघाउन्जेलसम्म तिब्बती चिया थपिथपी पिउन पाइने । डोल्पाली आतिथ्यता र सद्भावले म मन्त्रमुग्ध भइजान्छु ।

त्यो दिन कर्णाली पैदल यात्राको दसौं दिन । म त्यसदिन डाँडागाउँ पुग्ने योजना अनुरुप छार्काभोटबाट बिहानै हिँडेको थिए । घडीले दिउँसोको तीन बजाइसकेको थियो । कस्सिएर हिँडे त्यस दिनको गन्तव्य पुग्न चार घण्टा लाग्थ्यो । मलाई कुनै हतारो थिएन । त्यसदिन चिप्लो, उकालो र ओराला बाटाले ज्यान नराम्ररी गलाएको थियो । मलाई यही डोल्पाली परिवारसँग एक रात यहीँ चौरी खर्कमा बिताउने मन लाग्यो ।

तपाइँहरुको गाउँ (डाडागाउँ) सम्म आज पुग्दिन जस्तो लाग्यो । ज्यान पनि नराम्ररी गलेको छ, आज म यतै बस्छु है आमा ? ६४ वर्षीया कर्म साङ्मुसँग म बास माग्छु । एकै सासमा उनी भन्छिन्, ‘हामी त चौंरी गोठाला हौं । हाम्रोमा त्यति मीठो खान्की पाक्दैन । बाबुलाई फेरि हाम्रो खान्की निको लाग्दो हो कि हैन ?मीठो मसिनो खाने भए बाँडेर खाऔँला नि ।’

१ रुपैयाँबाट यार्साको मूल्य ३, ५ हुँदै केही वर्षका पचास रुपैँयासम्म पुग्यो । तिब्बती व्यापारीको चहलपहल पछि त यसको मूल्य १५ सयसम्म पुगेको थियो ।

सिमसिम पानी अझै रोकिएको छैन । नजिकै रातमा चौंरीका बच्चाहरु हुल्ने ठूलो त्रिपाल छ । त्यहीँभित्र मैले आफ्नो टेन्ट लगाएँ । सरसामान त्यहीँ राखेर थप चिया पिउन अर्को त्रिपालतिर लम्किएँ । तिब्बती जडीबुटी मिसिएको चियापत्ति र चौंरीको मगमग बसाउने नौनी । अनि ठीक्क मात्रामा घोलिएको नुन । भोटे चिया जति थपेपनि मन अघाउँदैन ।‘यसमा चिनी पनि हुँदैन । यसले ज्यानलाई त्यति असर पनि गर्दैन बाबु’, पाचौं पटक चिया थप्दै कर्म भन्छिन् ।

उनै कर्मकी छेवैमा खेलिरहेकी छन्– तीन वर्षकी नागसा तुइमा ।साइलो छोराको छोरी हुन् उनी । चिसोले होला, उनका गाला नराम्ररी फुटेका छन् । राताराता स्याउजस्ता गालामा मुस्कान छर्न भने उनी छाड्दिनन् । गाउँमा बा आमालाई खेती थन्काउन अल्झो गर्ने भएकाले हजुरबा आमासँगै सानी नागसा चौंरी गोठमै बस्छिन् । स–साना भेडा र च्याङ्ग्राका बच्चाहरुसँग लेकमै रमाइरहिन्छन् उनी ।

६ छोरा र ५ छोरीका आमा हुन् कर्म । घरजम गरेर प्रायः सन्तानहरु सबैले आ–आफ्ना बाटा ततेरी सके । अविवाहित कान्छी छोरीले घर कुर्छिन् । यता बाआमा कै भरमा अहिलेसम्म लेकमा चांैरी गोठ धानिरहेको छ । १५ चौरी, २ सय ५० वटा च्याङ्ग्रा र ६ वटा गाइका गोठाला हुन् उनीहरु । गोठै धपाएर श्रावनमा उनी र उनका श्रीमान लेक उक्लेका थिए ।जहीँतहीँ कहाँ गोठ राख्न पाउनु ?उनीहरुको निर्धारित ठाउँमा चरण क्षेत्रहरु हुन्छन् । लेकमा मात्रै तीनतीन पटक गोठ सारिरहनुपर्छ । यसभन्दा अघि यहाँबाट डेढ घण्टा माथि रहेको च्या चु ताल छेउछाउमा गोठ बसाएका थिए । त्यहाँको चरण क्षेत्रमा घाँसपात सकिएपछिभने उनीहरुगोठै बोकेर यता झरेका थिए ।

यार्साको कथाः

उनका श्रीमान तासी उमेरले ६७ टेके । जमानामा गाउँका मुखिया थिए उनी । गाउँमा उनकै हैकम चल्थ्यो । यार्सा बटुल्ने समय, गोठालाहरु लेक उक्लने मिति र गाउँ फर्कने समय उनैले निर्धारण गर्थे । अहिले भने गाउँलेले गठित समितिले यार्सा बटुल्ने मिति तय गर्छन् । उनी विगतमा फर्कदै भन्छन्, ‘हाम्रो पालामा यार्साको त्यति मूल्य थिएन । एउटा यार्साको मात्र १ रुपैयाँ । त्यसैले पनि यसप्रति कसैको चासो हुदैनथ्यो । बिस्तारै तेरान गाउँका व्यापारीहरु गाउँ आउन थाले र जम्मा भएको यार्सालाई राम्रै मूल्य तिरेर लान्थे। १ रुपैयाँबाट यार्साको मूल्य ३, ५ हुँदै केही वर्षका पचास रुपैँयासम्म पुग्यो । तिब्बती व्यापारीको चहलपहलपछि त यसको मूल्य १५ सयसम्म पुगेको थियो ।’

यार्सागुम्बाको मूल्य आकसिएसँगै नजिक गाउँका मानिसहरु मात्र नभइ रुकुम रोल्पा, धादिङका मानिससमेत यहाँसम्म आउन थाले । जहीतही मनपरी चल्यो । हुलका हुल बाहिरी मान्छेहरु त आए आए, उनीहरुले सँगै ल्याएका घोडा र खच्चरहरुले पाटनका जडीबुडी र घाँसपात माँसिदै गए । फोहोरमैलाले पाटन भरिए । अव्यवस्थित यार्सा पाटनलाई व्यवस्थापन गर्न मात्र नयाँ नियम कानून लागू भयो । स्थानीय, जिल्ला र गैरजिल्लाका यार्सा संकलन गर्नेहरुका लागि फरक कर र संख्यासमेत निर्धारण गरियो । अहिले पहिलाको जस्तो धेरै मात्रामा किरा भेटिदैनन्, कर्म थप्छिन्, ‘मानिस र जनावरको अत्याधिक चाप नै मुख्य कारण हुनुपर्छ । पहिला एक जनाले तीन चार सय यार्सा बटुल्दा अघिल्लो सिजनमा मुस्किलले एक सयदेखि डेढ सय जति मात्र हात पा¥यौं ।’ समयसँगै यार्साको मात्रा मात्र घटेन, अहिले यसको उचित मूल्य समेत नपाएपछि उनीहरु निराश छन् । कोरोना महामारी फैलिएसँगै बन्द भएको तिब्बती नाका अझैसम्म सुचारु भएको छैन । यहाँको यार्साको मुख्य बजार तिब्बत थियो । अहिले सस्तो मूल्यमा नेपाली व्यापारीहरु नै गाउँगाउँमा आएर जम्मा भएको यार्सा बटुलेर लान्छन् ।

तिब्बती नाका बन्द भएपछि डोल्पालीहरु धेरै मारमा परेका छन् । लत्ताकपडा, चामलदेखि तेलसमेत सस्तो मूल्यमा तिब्बतबाटै उनीहरु घोडामा ल्याउथे । तिब्बतबाट एक हजार रुपैँया तिरेर ल्याएको चामल मुस्ताङबाट ल्याउँदा पाँचौ गुणा बढी तिर्न उनीहरु बाध्य छन् । मूल्य आकसिएसँगे सामान छोइनसक्नु छ । सरकारले छिटोभन्दा छिटो कुटनीतिक छलफल गरेर तिब्बती नाकाहरु पूणः सुचारु गरोस् भन्ने उनीहरु सबैको एउटै राय छ ।

स्वास्थ्य र शिक्षाका लागि सकसः

अझै पनि यहाँका गाउँहरु सडक सञ्जालले जोडिन सकेको छैन । तिब्बती नाकाहरु बन्द भएपछि अति आवश्यक सरसामान किन्न कि त तीन दिन लगाएर कागबेनी मुस्ताङ पुग्नुपर्छ कि त तीन दुनै बजार । ढुवानी खर्चले मूल्य दोब्बर तेब्बर पुग्छ । तैपनि उनीहरु महंगो मूल्य तिरेर सामानहरु आयत गर्न बाध्य छन् ।

उनीहरुका गाउँमा सुविधा सम्पन्न विद्यालय र स्वास्थ्य चौकीहरु छैनन् । हुने खानेहरु छोराछोरीलाई पढाउन दुनै बजार त कोही नेपालगंज लग्छन् । निम्न आय भएकाहरु भने गाउँकै विद्यालयमा ५ कक्षासम्म मात्र पढाउन बाध्य हुन्छन् । गाउँघरमा कोही बिरामी भएमा दुनै बजार पु¥याउनु बाहेकको अरु विकल्प छैन । अस्पताल जाँदा जाँदै कतिले बाटामै अन्तिम सास फेर्छन् । यो डोल्पालीको दुर्दशा हो ।

गोठ छोड्न मनले मान्दैनः

उमेर ढल्किदै जाँदा कर्म पहिलाको जस्तै चौरी गोठमा खटिन सक्दिनन् । सन्तानहरु सबै आ–आफ्ना बाटा लागिसके । यति धेरै गाइवस्तुहरु सम्हालेर लेकमा बस्नु चानचुने आँटले हुँदैन । झिस्मिसे बिहानदेखि साँझसम्म गाइवस्तुकै धन्दा गर्दा ठिक्क हुन्छ । वर्खा, हिमपात वा जाडो चिसो केही नभनी खटिनुपर्छ । सन्तानले भविष्यमा यहीँ पुख्र्खौली पेशालाई निरन्तरता देलान् भनेर उनीहरुले अपेक्षा गरेका छैनन् । बाल्यकालदेखि गर्दै आएको पेशा चटक्कै छाड्न पनि मन कहाँ मान्दो हो र ? ज्यानले साथ दिउन्जेल उनीहरु यसैमा लाग्ने संकल्प गर्छन् ।

दशकौं यहीँ पेशा अगालेर जीवन बाँचिरहेका उनै तासीलाई प्रश्न गर्छु, ‘गाउँमा मोटर बाटो जोडिएपछि त घोडा र चौंरीपालनमा ह्रास आउने होला नि ? तपाइँहरुको आयआर्जनको स्रोत त सुक्ला नि बा ? मोटर बाटो त नआएकै बेस हुने भो त ?’ मुस्कुराउँदै उनी भन्छन्, ‘मोटर बाटो त जतिसक्दो चाँडो नै आएको राम्रो नि । घोडा र चौंरीको माग घटेपनि गाइ र भेडा च्याङ्ग्राको उपयोगिता त कायमै रहन्छ नि । गाइ र भेडा च्याङ्ग्रा पालन गरेरै पनि घर धान्न सकिन्छ ।’

डोल्पा जिल्ला विदेशी पर्यटकका माझ प्रसिद्ध गन्तव्य मानिन्छ । मोटर बाटो जोडिएसँगै पदमार्गहरु मासिने पो हो कि भन्ने डर कायमै छ । वैकल्पिक पदमार्गहरुलाई सञ्चालनमा ल्याएर पर्यटनलाई निरन्तरता दिइनुपर्छ । स्थानीय स्रोतसाधनको उपयोगिता र उनीहरुलाई रोजगारको प्रबन्ध गर्न सकिए स्थानीय जनजीवनलाई पनि उकास्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->