वर्तमानमा कम्युनिष्ट हौं भनेर विभिन्न टुटफुट र गुट उप गुटका कारण आफ्नो सैद्धान्तिक विचार नै बिर्सिन पुगेका नेता कार्यकर्ताहरु इतिहास नै विचलित बन्नेगरी आ–आफ्नो दुनो सोझाउने प्रवृत्ति लिएर अगाडि बढेका छन् ।
प्रगति भन्नाले राम्रोसँग अगाडि बढ्ने प्रक्रिया बुझिन्छ । अर्को अर्थमा प्रगतिले उन्नति, विकास र उत्थानलाई बुझाउँछ । वाद भन्नाले तत्वदर्शीहरूले निश्चित गरेको कुनै मत वा सिद्धान्तलाई बुझिन्छ । प्रगतिवादले उन्नति, अग्रगति वा विकास भन्ने बुझाए पनि कार्लमाक्र्स र फ्रेडेरिक एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भैतिकवादी विश्वदृष्टिकोणले समाजलाई उत्तरोत्तर प्रगतितर्फ अगाडि बढाउँदै लैजाने भन्नू बुझाउँछ । यो देश र कालअनुसार विभिन्न नामले चिनिन्छ । यसलाई माक्र्सवादी, सामाजिक यथार्थवादी, क्रान्तिकारी र सर्वहारावादी सिद्धान्त भनेको पाइन्छ । प्रगतिवादले अन्धविश्वास र ईश्वरभन्दा इतर मानवीय चेतनामा विश्वास गर्दछ । धार्मिक आडम्बरीपन, पाखण्डीपन र भाग्यवादीपनको विरोध गर्दछ । श्रम र भौतिक संसारप्रति विश्वास राख्छ । मान्छेले मान्छेद्वारा मान्छेमााथि गरिने शोषण, दमन र थिचोमिचोको विरोध गर्दै स्वच्छ, स्वस्थ र सुन्दर समाज निर्माणका लागि जुट्न आह्वान गर्दछ । प्रगतिवाद सामन्तवाद, पुँजीवाद र साम्राज्यवाद जस्ता शोषणमूलक व्यवस्थाको विरोधमा उत्रन्छ र द्वन्द्वात्मक भौतिकवादी जीवन दर्शनमा पूर्णतः आश्रित रहन्छ । यसले युद्ध र हिंसाको अन्त्य गरि शोषण र वर्गविहीन सामाजिक संरचना निर्माणका लागि सुस्पष्ट दार्शनिक सोच पैदा गर्दछ ।
विश्वका अति विकसित देशहरुले अवलम्बन गरेका नीति कार्यक्रममा आधारित यो वाद श्रमजीवी जनताका आडमा हुर्किएको छ । यस सिद्धान्त र विचारले जनतालाई सचेत र संगठित पार्न, कुसंस्कारका विरुद्ध लड्न, श्रमप्रतिको आस्था जगाउन, न्याय र भेदभाव विरुद्धमा समानताको विगुल फुक्न सहयोग गर्दछ । यो लेनिन, स्टालिन, माओत्सेतुङ जस्ता राजनीतिक विचारक, गेओर्गी र डा. मैनेजर पाण्डे जस्ता स्रष्टाबाट अगाडि बढेको मान्यता भएकाले प्रगतिवाद वामपन्थी राजनैतिक विचारबाट प्रभावित देखिन्छ । ठुला र साना जाति, गोरा र काला वर्ण, धनी र गरिब आदि मानिसहरूको सम्मिश्रणबाट हाम्रो समाजको निर्माण भएको छ । सामन्तवादीहरु किसानहरूमाथि अन्याय र श्रमजीवी जनतालाई नाफा र पुँजी थुपार्नका लागि शोषण गर्दछन् । प्रगतिवादीहरू शोषकहरुलाई नङ्ग्याउने र निन्दा गर्न चाहन्छन् । त्यसैले सामन्तवाद र पुँजीवादको विरोधी विचार धारा नै प्रगतिवादी विचारधारा हो । र यही जनकल्याणकारी विचार धाराको मर्मअनुसार धर्तीको तिर्खा मेट्न आकाशमा कुलो खन्ने सम्पूर्ण दर्शनहरूको विरोधी दर्शनका रूपमा माक्र्सवादी दर्शन उभिएको छ ।
हाम्रो समाजलाई ऐतिहासिक भौतिकवादी अवधारणाबाट हेर्दा आदिम साम्यवादी, दास, सामन्ती, पुँजीवादी र साम्यवादी युग गरी पाँच ओटा चरणमा विभाजन गरिएको पाइन्छ । प्रारम्भमा आदिम साम्यवादी युग थियो । त्यसपछि क्रमशः दास युगको सुरुवात भयो । आफ्नो स्वार्थपूर्तिका लागि कमजोरहरूलाई दास बनाउने प्रचलनले जरा गाड्यो । त्यस युगको अन्त्यसँगै सामन्ती युगको सुरुवात भयो । यस युगमा मुठीभरका सामन्ती, जमिनदार र कुलीन वर्गले किसानहरूमाथि व्यापक रूपमा अन्याय गरे । त्यसपछि शोषित वर्गमा भएको चेतनाको उदयले पुँजीवादी युगको अन्त्य गरेसँगै साम्यवादी युगको सुरुवात हुन्छ । यस युगमा भेदभाव हुँदैन । यसरी देखाइएका समाजका चरणहरू समाजमा अन्र्तनिहित वर्गसंघर्ष कै कारण परिवर्तित हुन्छन् । समाज विकासको यही मान्यतामा अडिँदै राजनैतिक गतिविधिमा पनि तदनुकूल व्याख्या र विश्लेषण गरिनुपर्छ भन्ने मान्यता यस वादले राख्दछ ।
प्रगतिवाद माक्र्सवादी दर्शनका निकट रहन्छ यसमा यथार्थवादी दृष्टिकोण, वैचारिक प्रतिबद्धता, मानवीय मूल्य र सौन्दर्यप्रति आस्था, इतिहास चेतना र भविष्यप्रति आशा, वर्गसंघर्ष र वर्गीय प्रेममा विश्वास, सामन्तवाद पुँजीवाद विरोधी स्वर र धार्मिक अन्धता र ईश्वरीय सत्ताप्रति अविश्वास आदि पर्दछन् । प्रगतिवादले पुँजीपतिहरूका मुनाफाखोरी, अराजक, पदलोलुपता र अभिजात्यमुखी चिन्तनभन्दा भिन्न विचार लिएर विद्रोहमा प्रतिबद्ध रहन्छन् भन्ने कुरा लेनिनले अघि सारेका छन् । वर्गीय समाजमा मानवीय मूल्य पनि वर्गीय रूपमा नै हुनुपर्छ । सामन्त, शोषक र पुँजीपतिहरूका काल्पनिक र भ्रामक कर्तुतहरूको भण्डाफोर गरिनुपर्छ भन्ने मान्यता यस वादले राख्दछ । माक्र्सवादले जहाँ एकरूपता हुन्छ त्यहाँ मात्र मानवीय मूल्यको प्रादुर्भाव हुन्छ भनेको छ । पुँजीवादीहरू नारीका कोमल अङ्गहरुलाई सौन्दर्य मान्दछन् तर प्रगतिवादीहरू गरिब नारीका उदास मुहारलाई सौन्दर्य मान्दछन् । यसरी मानवीय मूल्यमा विकसित श्रमपूर्ण सौन्दर्यप्रति आस्था प्रकट गर्नु प्रगतिवाद हो भनिन्छ ।
समाजमा रहेका विभिन्न वर्गका बिचमा निरन्तर वर्गसंघर्ष चलिरहन्छ र त्यो संघर्ष अन्तिम अवस्थामा पुगेपछि क्रान्तिको रूप लिन्छ अनि पुरानोलाई नयाँले विस्थापित गरी आफ्नो रूप देखाउँछ । यस्तो वर्गसंघर्षको मूल कारण उत्पादक शक्तिहरूले उत्पादन साधनलाई आफ्नो नियन्त्रणमा राख्नु हो । यस्तो अवस्थामा श्रमजीवी मजदुरहरू चुप लागेर बस्न सक्दैनन् र उनीहरूले आफ्नो वर्गलाई संगठित पार्दछन् अनि पीडकहरूमाथि जाइलाग्छन् । यस्तो वर्गसंघर्षमा समाजका कोही पनि सदस्य तटस्थ रहन सक्दैनन् । यसपछि वर्ग–वर्गका बीचमा वर्गीय संघर्ष छेडिन्छ । यस संघर्षमा प्रगतिवादीहरूले उत्पीडित, दलित, श्रमजीवी सर्वहाराको पक्ष लिनुपर्छ भन्ने मान्यता राख्दछन् ।
राजनीतिक चिन्तकहरु माक्र्स र एङ्गेल्सका दर्शन र चिन्तन कै अनुकूलतामा उनीहरु पछिका चिन्तकहरूले प्रगतिवादलाई निरन्तर अगाडि बढाइरहे । यस क्रममा लेनिन र माओ जस्ता राजनैतिक विचारकहरुले यस वादलाई थप महत्व दिए ।
यसरी हेर्दा माक्र्सोत्तर प्रगतिवादको राजनैतिक चिन्तन परम्परा साम्यवादी लक्ष्य लिएर अगाडि बढेको पाइन्छ । अमेरिकामा ‘युनाइटेड कम्युनिस्ट पार्टी’, ‘कम्युनिस्ट पार्टी अफ अमेरिका’मा परिवर्तित भएपछि त्यहाँ माक्र्सवादी विचार धाराको तीब्र विकास भएको थियो । यो सिद्धान्तको निकट रहेर रसियाबाट ‘सर्वहारा लेखकहरूको रसियाली संघ’ स्थापना भएर १९३४ मा रुसी कम्युनिस्ट पार्टीको तत्वावधानमा उक्त संस्था गठन भएको थियो । विभिन्न संघसंस्था गठन गरेर प्रगतिवादलाई अगाडि बढाउने क्रममा पेरिसमा सन् १९३४ मा ‘प्रगतिशील लेखक संघ’को अन्तर्राष्ट्रिय संस्था गठन भएपछि लन्डनमा ‘भारतीय प्रगतिशील लेखक संघ’ नेपालमा ‘जनसाहित्य मण्डल’ र ‘राष्ट्रिय जनसाँस्कृतिक मञ्च’ गठन भए जस्लाई प्रगतिवादको साङ्गठनिक रूप मानिएको थियो । इतिहासकै कुरा जोड्दा पृथ्वीनारायण शाहको राज्यविस्तार, अङ्ग्रेज–नेपाल युद्ध, सुगौली सन्धि, कोतपर्व र भण्डारखाल पर्वहुँदै नेपालमा सामन्तवादी व्यवस्थाको सुरूवात हुन्छ । विश्वयुद्धमा वीर नेपाली –गोर्खाली)लाई पठाएर साम्राज्यवाद विरोधी राष्ट्रियताको भावनामा चोट पु¥याइन्छ र यहीबाट साम्राज्यवादी शासनको उदय हुन्छ । यसकै प्रतिरोध स्वरूप नेपालमा धेरै घटनाक्रमको शृखला चल्न थाल्छन । सैद्धान्तिक रूपमा बुझेर नभए पनि आफ्ना भावनाहरू अभिव्यक्त गर्ने क्रममा नै शोषक, सामन्त, पुँजीपति वर्गप्रति स्वाभाविक घृणाभाव निस्कन थाल्छन् । सन् १९१७ को रुसको ‘अक्टोवर क्रान्ति’, सन् १९२१ र १९२८ का चिनिँया र भारतीय कम्युनिस्ट पार्टी’ आदिबाट नेपालीहरू पनि प्रभावित भएर वनारसमा ‘नेपाली छात्र संघ’ तथा ‘हिमाञ्चल विद्यार्थी संगठन’ गठन हुन्छन् र राणा विरोधी अभियानमा लाग्दछन् । १९८८ मा ‘प्रचण्ड गोर्खा’देखि लिएर २००६ मा ‘नेपाल कम्युनिस्ट पार्टी’ को स्थापनासम्म नेपाली प्रगतिवादी विचारधाराको राजनीतिक पृष्ठभूमि हो ।
‘नेपाल कम्युनिस्ट पार्टी’को स्थापना पछि राणा शासकहरूले राणाहरूलाई नै विभिन्न श्रेणीमा विभाजन गर्नु, रेमिट्यान्समा ऐश गर्नु, बिर्ता र गुठीका नाममा भूमि वितरण गर्नु, तिरोबाट द्वारे, मुखिया र ठालुहरूले चयन गर्नु आदि प्रगतिवाद निर्माणका आर्थिक पृष्ठभूमि हुन् । यस्तै सामाजिक पृष्ठभूमिमा सयौँ नेपालीहरू भारतमा कुल्ली र गोठाला अनि दर्वानी, भान्से र चपरासी बनाइनु, हिन्दु धार्मिक आडम्बर देखाई सोझा जनतालाई ठग्नु आदि हुन् । त्यति बेला नेपाली जनता राणाहरूको शोषण दमन र थिचोमिचोबाट उकुसमुकुस भइसकेका थिए । यिनै प्रवृत्तिको अन्त्य र समाज सुधारको अभियान बोकेर २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि नेपालमा प्रगतिवादले अस्तित्व जमाएको हो ।
२०१७ सालको शाहीकाण्डपछि कम्युनिस्ट आन्दोलनमा विभिन्न गुट उपगुट देखिए पनि प्रगतिवादमा माक्र्सवादी चिन्तन नै हुनुपर्छ भन्ने मतैक्यता रहिरह्यो । फलस्वरूप नै २०३६, २०४६ र २०६२–६३ को आन्दोलनमा समेत यस प्रकारको सिद्धान्तका साथै प्रगतिवाद र समसामयिक विषयवस्तुले महत्व पाए । गणतन्त्रात्मक नेपालको स्थापनामा सहयोगी भूमिका खेलेको भनिएको प्रगतिवादले समयानुरुप समाजवादी र क्रन्तिकारी उन्नतीका बाटाहरू अबलम्वन गरेको स्पष्ट पाइदैन । नेपालको इतिहासमा अहिलेसम्म राजनिती गर्ने कम्युनिष्ट पार्टी र नेतृत्वले सिद्धान्तमा भनिए जस्तो सर्वहारा जनताका कुनै पनि समस्या सम्बोधन गरेको पाइदैन । नेपालमा कम्युनिष्ट आन्दोलन र प्रगतिशील विचारधाराको सुरुवात पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको नेतृत्वमा भएको हो । उनीहरुले रुसी क्रान्ति, चिनियाँ क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह, राणाशासन विरुद्धको जनसंघर्ष आदिबाट प्रगतिवादको प्रेरणा पाएका थिए । वर्तमानमा कम्युनिष्ट हौं भनेर विभिन्न टुटफुट र गुट उप गुटका कारण आफ्नो सैद्धान्तिक विचार नै बिर्सिन पुगेका नेता कार्यकर्ताहरु इतिहास नै विचलित बन्नेगरी आ–आफ्नो दुनो सोझाउने प्रवृत्ति लिएर अगाडि बढेका छन् ।
कम्युनिष्ट आन्दोलन र पार्टी नेतृत्वको चर्चा गर्दा २००९ मा डा. के. आई. सिंहले जेल विद्रोह गरे, २०१० सालतिर भीमदत्त पन्तले पश्चिममा सशक्त किसान आन्दोलन चलाए । २०१२ मा कम्युनिष्ट भित्रैबाट केशरजङ्ग रायमाझीले राजावादी धार समाती राजतन्त्रको समर्थन र वैधानिक राजतन्त्रको कार्यदिशा लिए । पुष्पलाल श्रेष्ठले पार्टी कार्यक्रममा परिवर्तन किन ? नामक दस्तावेज पेश गरे । टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको सरकारले २०१२ मा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्यो । २०१५ सालको आम चुनावमा कम्युनिष्ट पार्टीले पाल्पालगायत ४ स्थानमा जितेको थियो । २०१७ पौषमा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाए ।
२०१८ सालमा पुष्पलाल र तुलसीलाल अमात्यको अग्रसरतामा अन्तरजोन सामन्जस्य समिति गठन गरियो । यो समिति गठन गर्नु पार्टी नीति विपरित भएको भन्दै पुष्पलाल लगायतका नेतालाई पार्टीबाट निष्कासन गरियो । २०२८ सालमा वर्गदुश्मन खत्तम पार्ने उद्धेश्यसहित झापा विद्रोह सुरु भयो । २०३२ मा नेपाल मजदुर किसान संगठन निर्माण र अखिल नेपाल क्रान्तिकारी कोओर्डिनेशन केन्द्र (माले) कमिटीको गठन, २०३८ सालमा सर्वहारावादी श्रमिक संगठनको गठन, २०४६ सालको आन्दोलनमा माले, माक्र्सवादी लगायतका एकथरि समूहबीच आन्दोलनको लागि संयुक्त बाममोर्चाको निर्माण, २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिली नेकपा (एमाले) भएको थियो ।
२०५९ मा पुनः २ पार्टी एकतासहित महासचिव माधव नेपालको पुनरागमन । २०७० को निर्वाचनमा नेकपा (एमाले) दोस्रो ठूलो दल बनेलगत्तै केपी ओली अध्यक्ष बनेका थिए ।
सुधारवादी धारालाई आत्मसाथ गर्ने मोहनबिक्रम र निर्मल लामाको राजनितीले नेपालमा प्रगतिवाद र कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पुर्याएको थियो भने चित्र बहादुर के.सी. र ऋषि देवकोटाले पनि वाम राजनितिमा सक्रिय भुमिका खेलेका थिए । २०४५ सालमा नेकपा मसालले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गरि माओवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा पास गरेको थियो । तर, २०४६ सालको जनआन्दोलनमा संयुक्त रुपमा सहभागी भई संघर्षमा होमिएका सबै वामहरुले एकमुष्ट विचार बोक्न नसक्दा पुर्णतः उद्देश्य प्राप्त भएको थिएन । २०४७ को अन्त्यतिर हरिबोल गजुरेलको नेतृत्वले डा.बाबुराम भट्टराई लगायतका नेताहरूको साथ पायो । २०५१ को अन्त्यतिर प्रचण्ड नेतृत्वले जनवादी क्रान्तिको फौजीदारी कार्यदिशा निर्माण गर्यो । पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी राखियो ।





