सत्य ब्रूयात् प्रिय ब्रूयात् न ब्रूयात् सत्यम अप्रितम् ।
प्रियं च नानृतम् ,नब्रूयात् यष धर्मः सनातनः।।
सत्य बोलिनुपर्छ । प्रिय बोलिनुपर्छ । सत्य…किन्तु अप्रिय बोलिनु हुँदैन । प्रिय तर असत्य बोलिनुहुँदैन । यही सनातन धर्म हो । आचार्य मनुको यो भनाइ स्वीकारे सत्ता र अभिजातवर्गको भनाइ र गराइ अप्रिय कुरा पनि स्वीकार्नुपर्छ । शक्तिलाई अप्रियताले चोट लाग्छ । नग्नसत्य बोल्नु अभिजातलाई नाकमा हानिएको मुक्का ठहरिन्छ । यस लेखमा भने अप्रिय सत्यको नजरबाट वर्तमानको राजनीति नियालौँ । यो अवस्थाको जिम्मेवार हामी पनि हौँ ।
घोषणापत्र, चुनाव र समानुपातिक सदस्य छान्दा संविधानको मूल भावनाविपरीत सबै पार्टी र शक्ति उस्तैउस्तै देखिए । स्वार्थको अचानोमा परेपछि धेरै कडा सिद्धान्त र आदर्श पनि तोडिँदारहेछन् । जसको आधार नै असमानता छ, उनै समानताका समाजवादी कुरा गर्दैछन् । तर, त्यो पत्याइने जनमतमा तपाईं, म, उनी, तिनी र उनीहरू बनेकाले हामी पनि आ–आफ्ना हिस्साको दण्ड भागी हौँ ।
यो क्लेप्टोक्रेसी सत्ता ( भ्रष्टतन्त्र) हो ।
राजनीतिक पार्टी र राज्यका सबै अंग देखिँदा भिन्न देखिन्छन् तर आचार, विचार, व्यवहारमा भने समान छ । भ्रष्टतन्त्र हावी भएर आशा निराशामा फेरिँदा नेतृत्वप्रति जनविश्वास टुट्दै गयो । नेतासँग मात्रै हैन, न्याय र प्रहरी प्रशासनतन्त्रसँग पनि भरोसा छैन । बिनाघुस कुनै काम हुँदैन र पैसाले जे पनि गर्न सक्छ भन्ने सामाजिक मानसिकता विकास भइसक्यो ।
सबै उस्तै देखिए । कसैको पनि घोषणापत्रमा भ्रष्टाचारीलाई कारबाही गरिने, आउँदा दिनमा दण्ड र पुरस्कार व्यवस्था गरी भ्रष्टाचारमुक्तको प्रण गरेको देखिएन । बेरुजू उठाउन कडा रूपमा प्रस्तुत हुने र सम्बन्धितलाई दण्ड दिने, विदेशी बैंकमा रहेको नेपाली सम्पत्ति फिर्ता ल्याउने कुनै स्पष्ट कार्यक्रम रहेन ।
इतिहासका निर्मम सन्देश
सरकार बनाउने जोडतोडलाई नियाल्दा नेपाली राजनीतिले इतिहासबाट सिकेन । जोसँग गौरवशाली पृष्ठभूमि हुँदैन, ती इतिहासदेखि आतंकित हुन्छन् र वर्तमानको मात्रै कुरा बखानिन चाहन्छन् । जोसँग इतिहास त हुन्छ तर वर्तमानको हिस्सेदार बन्न इतिहासका सुन्दर उपहार र मर्म पालना गर्न नपरेकाले पुराना आदर्शका गफ छाँटेर वर्तमानको इन्स्योरेन्स गर्छन् । इतिहास मुर्दाको कथा नभई भएका, गरिएका वा अरुले गरेका गल्तीबाट वर्तमानमा सिक्ने शास्त्र हो । इतिहासबाट जसले सिक्दैन, त्यसलाई इतिहासले नै दण्ड दिन्छ ।
इतिहास आजको नजरियाले हेर्न, बुझ्न र सिक्न सकिँदैन । शासक र अभिजातहरू हितअनुसार इतिहास व्यवस्थापन गर्न चाहन्छन् तर इतिहासको आफ्नै गति र लय हुन्छ । दृष्टिअनुसारका दृश्य देखिन्छन् । पात्रका चस्माअनुसार विषय (सब्जेक्ट) छानिन्छ । इतिहास र आख्यानमा फरक भनेको आख्यान कल्पना हो भने इतिहासलाई कल्पनासहितै तथ्य र प्रमाण आवश्यक हुन्छ ।
पार्टीलाई सुधार्न विधि र नीतिमा चलेको सङ्गठनले मात्रै सक्छ । किन र कसरी पार्टीभित्र आत्मघाती दस्ता तयार भए ? त्यसका लागि भाइनेताहरू त तयार छन् ? बहाना नगरीकन हार स्वीकार्ने सामर्थ्य भएपछि मात्रै पार्टीले आत्मसमीक्षा गर्न सक्छ ।
हामीमा अल्जाइमर रोगले (बिर्सने रोग) सताएको छ । विद्रोही माओवादी र सात दलबीच २०६२ मंसिर ७ गते भएको १२ बुँदे सहमतिको बुँदा नम्बर ७ मा भनिएको थियो, ‘सात राजनीतिक दलहरूले विगतमा संसद् र सरकारमा छँदा भएका गल्ती कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
अब नाङ्गो सत्य भने सरकार र सदनमा फेरि २०५२ पछिका घटनाक्रम दोहोरिँदै जानेछन् । माओवादी पनि सहभागी भयो । राजनीतिक बीभत्सता फेरि दोहिरिन सुरु भयो । सांसदको खरिदबिक्री, दलहरूमा टुटफुट, प्राडो संस्कृति, समिट होटल र सुरा सुन्दरी प्रसङ्ग, बैंकक यात्रा, अत्यन्तै सानु शक्तिको नेतृत्वको सरकारका कथा दोहोरिने भए । त्यसको नेतृत्व हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गरे, अब पनि गठबन्धनका नाममा गर्न खोज्दैछन् ।
गलत समयमा भएको कुनै पनि कर्मले सकारात्मक सन्देश दिँदैन । अध्यादेश त्यस्तै हुँदैछ । कार्य र कारण नबुझी परिणामको आकलन गर्न सकिँदैन । प्रमुख प्रतिपक्ष मौन ।
सन् १८५२ मा कार्ल मार्क्सले आफ्नो प्रख्यात कृति लुई बोनापार्टको अठाह्रौँ ब्रमेयरमा भनेका छन्, ‘हेगेल कहीँ न कहीँ टिप्पणी गर्छन् कि सबै महान् विश्व–ऐतिहासिक तथ्य र व्यक्ति दुईचोटि प्रकट हुन्छन् । उनले बिर्सिएः पहिलोचोटि त्रासदीको रूपमा, अर्कोपटक प्रहसनको रूपमा ।’
हो, त्यस्तै नयाँ सरकार गठनसँगै अब नयाँ प्रहसन सुरु हुँदैछ ।
विकृतिका विरुद्ध जनयुद्ध र जनआन्दोलनले नयाँ अवस्था मात्रै ल्याएन, सत्ता चरित्र नै फेरिदियो । तर, राजनीतिक संस्कृति भने फेर्न सकेन । सर्वाल्ट्रनहरूको –(दलित, महिला, थारू, जनजाति र मधेस) आत्मबल बढे पनि परिवर्तनसँगै अभिजात वर्गको सिन्डिकेट राजनीति फेरि सुरु भयो । महत्त्वाकांक्षाको सकारात्मक व्यवस्थापन हुन नसक्दा बाइप्रोडक्टहरू देखिन्छ नै ।
संविधानको स्पिरिट र परिकल्पनाको समानुपातिक प्रणालीको औचित्य रहेन । कुरुपता प्रस्ट देख्न पार्टीहरूका समानुपातिक सिट नियाले पुग्छ । बढेको र बढाइएको महत्त्वाकांक्षा व्यवस्थापन हुन नसक्दा नयाँ शक्तिहरु सदनमा देखा परे । अभिजात वर्गीय नेतृत्व पाखण्ड लुकाउन औधी सिपालु देखियो । क्रान्ति, परिवर्तन, मुक्ति, राष्ट्रप्रेम र न्यायका चर्का नाराभित्र परिवारवाद, नातावाद, विदेशीको दलाली र भ्रष्टाचारलाई सजिलै लुकाउन सके ।
भनिन्छ, ‘चतुर बिक्रेताले अरूको गरिबी बेचेर आफू धनी बन्ने उपाय जानेको हुन्छ ।’ हेपिएका, थिचिएका, सीमान्तकृतभन्दा धेरैजसो नातागोता, मालवाला र सो क्लस्टरका चतुर अभिजात परे । चुनाव महँगो मात्रै भएन, नेतृत्व निकट र पैसावालकै हालीमुहाली भयो । इच्छाशक्ति र नैतिक पुँजी भए पनि त्यस्ताहरूको राजनीतिमा ठाउँ रहेन । झोलेको दबदबा बढ्यो ।
बितेको पाँच वर्षकै मात्र मूल्यांकन गर्ने हो भने पनि सरकार र संसद्, अदालत, सार्वजनिक संस्थानप्रति जनविश्वास टुट्दै गयो ।
अवचेतन मस्तिष्कको हार्ड ड्राइभमा रहेको अतृप्त इच्छाको प्रतिबिम्ब नै सपना हो । वाम आन्दोलनमा लोकप्रिय नारा रहे पनि पार्टीमा अभिजात वर्गकै हालीमुहाली भयो । क्रान्तिले उत्पादित नेतृत्व आन्दोलनको दबाबमा कस्मेटिक चरित्र देखाए पनि वर्गचिन्तन भने फेरिएको रहेनछ । वर्ग सिफ्ट भएको नभई आवरणमा फेरिएको अवचेतन मस्तिष्कमा मौलिक सांस्कृतिक रूपमै देखा परे ।
प्रख्यात फ्रेन्च लेखक ज्याक मालेट डु पानको भनाइ छ, ‘क्रान्तिले पनि शनि ग्रहले जस्तै आफ्नै सन्तानको स्वभक्षण गर्छ ।’ नेपालमा पनि साँच्चै उनले भनेझैँ नै भयो । माकुराेले आफ्नै आमा खाएझैँ क्रान्तिका सन्तानले क्रान्तिका आदर्श चपाउँदा पनि क्रान्तिकारी भन्न भने छोडेनन् । बरु कांग्रेस मिलीजुली कमाऊँ, बाँडिचुँडी खाऊँ भन्ने भए भने कम्युनिस्टहरू अरुलाई आदर्श बाँडेर धन र पदचाहिँ एक्लै खाने भए ।
प्रख्यात राजनीतिक वैज्ञानिक रजनी कोठारी भारतीय उपमहाद्वीपका वामपन्थीबारे भन्छन्, ‘जाति–धर्म निरपेक्ष राजनीतिको तेस्रो धाराको रूपमा वामपन्थी राजनीतिक आन्दोलनमा विचार गर्नेबित्तिकै यो धारा पनि उदार लोकतान्त्रिक एवं नवीन सामाजिक आन्दोलनको धाराजस्तै वास्तविक सामाजिक परिवर्तनका निम्ति आधार प्रदान गर्न असफल रहेको छ । यसो हुनुको पहिलो कारण त वामपन्थी आन्दोलनले धेरैअघिदेखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाइसकेको थियो, सुरुसुरुमा वामपन्थी राजनीतिक व्यवस्थाको संस्थागत ढाँचामा अन्तर्निहित सम्भावनालाई उपयोग गर्ने आन्दोलनको रूपमा विकास होला भन्ने ठानिएको थियो, परन्तु व्यवहारमा त्यस्तो भएन, समय क्रममा जे भयो, सब उल्टा भयो ।’
अब नाङ्गो सत्य भने सरकार र सदनमा फेरि २०५२ पछिका घटनाक्रम दोहोरिँदै जानेछन् । माओवादी पनि सहभागी भयो । राजनीतिक बीभत्सता फेरि दोहिरिन सुरु भयो । सांसदको खरिदबिक्री, दलहरूमा टुटफुट, प्राडो संस्कृति, समिट होटल र सुरा सुन्दरी प्रसङ्ग, बैंकक यात्रा, अत्यन्तै सानु शक्तिको नेतृत्वको सरकारका कथा दोहोरिने भए । त्यसको नेतृत्व हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गरे, अब पनि गठबन्धनका नाममा गर्न खोज्दैछन् ।
संसद् तथा निर्वाचन प्रक्रियामा उपलब्ध सम्भावनालाई दोहन गर्न यसले जनआन्दोलनलाई उपयोग गरेर फाइदा उठायो, वामपन्थी पंक्तिभित्र आन्दोलनकारी वेग एक हदसम्म त कायम रह्यो र विचारधारात्मक मुद्दामा पनि सरोकार त कायम रह्यो तर यी पार्टीमा सामाजिक रूपले उत्पीडित मानिसको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनीतिक व्यवहारको दायरा भने बन्नै सकेन । तिनको सांगठनिक संरचनामा कहिल्यै कुनै जीवन्त लोकतान्त्रिक प्रक्रिया समावेश हुनै सकेन । लामो समयदेखि र आजसम्म नै यस आन्दोलनको नेतृत्वमा उच्च जातिको वर्चस्व कायम छ, शैलीमा मात्र होइन, बौद्धिक पकडमा पनि यसको नेतृत्व ब्राम्हणवादी रहिआएको छ । हो, मैले पनि वर्षात्मै घर आगो लाग्या देख्या’छु ।
अन्त्यमा,
सबै विषयको केन्द्र राजनीति हो । राजनीतिलाई सही बाटोमा नैतिक पुँजी भएको नेतृत्वले मात्रै हाँक्न सक्छ । आशा र अपेक्षा निराशाका औषधि हुन् । गुम्दै गएको विश्वासको पुनर्स्थापना पार्टीहरूसामु चुनौती हो । किन समाजमा पार्टीप्रति मोहभंगकाल सुरु भयो ? किन ६ महिनामै ठूला दलको समानुपातिक लाखौँ लोकप्रिय मत कम भयो ? आत्मसमीक्षा गरेर नयाँ योजना बनाउँदै लागू गरिएन भने गिरोहमा फेरिएका गुटले पार्टी धान्न सक्लान् ? नायकको पतन र खलनायकको उदयका कारणहरू के हुन् ? कोटरीमा पुगेर माला, खादा लगाउने के वास्तविक कार्यकर्ता र जनता हुन् ?
सङ्गठनलाई विधि/पद्धतिमा चलाउनुपर्छ । पिँधका मान्छेको मुद्दा बोक्नुपर्छ । घटना र परिणामले विगतबाट सिकेर आगतको योजना बनाउन आफू र अरुले गरेका, भएका गल्तीको शिक्षा लिन निर्मम आत्मसमीक्षा आवश्यक हुन्छ । गल्तीको महसुस गरेर रचनात्मक आलोचनालाई स्वागत गरिए मात्रै सुध्रिन, सच्चिन सकिन्छ ।
सेनापतिसँग साहस र साधन मात्रै भएर हुँदैन, समय र युद्ध मैदान चयन, उचित व्यवस्थापन आवश्यक गरियो कि गरिएन ? सबै प्रतिकूलतासँग लड्न र जित्नका लागि जमिनमा दह्रोसँग खुट्टाले टेक्नुपर्छ भन्ने हुन्छ । योग्य सेनापति युद्धपछि गम्भीर समीक्षा गर्ने गर्छन् । अहंकारी कमान्डर भने श्रेयजति सबै आफ्नो अंशमा, दोष जति अरुलाई लगाउने गर्छन् । सबैसँग चित्त बुझाउने तर्क हुन्छ, मन बहलाउने शीर्षक हुन्छ । आखिर चुनाव हो, हार्नु र जित्नुमा कारण त हुन्छ नै । आफैँलाई क्रमभंग गरेर निकास खोज्दैन भने इतिहासका पानामा दरिएका ऐतिहासिक पार्टीझैँ पुग्ने दिन कुरिरहेको हुन्छ ।
पुरानै तरिकाले नयाँ चुनौतीको सामना गर्न सकिँदैन । नेतृत्व नयाँ बन्न नसके उसको मात्रै समस्या नभई देशकै समस्या बन्न पुग्छ । स्वार्थी घेरा र स्वआतंकबाट कति मुक्त हुन सकिन्छ, पुराना बीभत्स इतिहास दोहोरिने/नदोहोरिने पनि त्यसैमा भर पर्छ । पार्टीलाई सुधार्न विधि र नीतिमा चलेको सङ्गठनले मात्रै सक्छ । किन र कसरी पार्टीभित्र आत्मघाती दस्ता तयार भए ? त्यसका लागि भाइनेताहरू त तयार छन् ? बहाना नगरीकन हार स्वीकार्ने सामर्थ्य भएपछि मात्रै पार्टीले आत्मसमीक्षा गर्न सक्छ ।
कबीर भन्छन, ‘निंदक नियरे राखिए आंगन कुटी छवाय, बिन पानी साबुनबिना निर्मल करे सुभाय ।’
तर, शक्ति भने कबीरको नभई मनुपथमा छ । शक्ति केन्द्रीकरण र नेतृत्व सर्वज्ञ सोच्ने समस्या हुन् । त्यो तोडिन आवश्यक छ ।





