प्रदेश संघलाई यसरी किन हेपिएको हो थाहा छैन् । हामीले सुनेअनुसार कास्की ११ को टिम खेल्ने भन्ने थियो तर यहाँ गण्डकी ११ भनिएको छ
पोखरा / स्पेनी क्लब काथैरेन्यो र गण्डकी ११ बीच पोखरामा बुधबार मैत्रीपूर्ण फुटबल हुनेभएको छ ।
लुम्बिनी गार्डेन फाउन्डेसनले काठमाडौं र पोखरामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
शान्तिका लागि फुटबल भन्ने नाराका साथ हुने मैत्रीपूर्ण खेल अन्तरगत पोखरामा हुने खेलको कप्तानी अनिल गुरुङले गर्नेछन भने काठमाडौंमा विजार महर्जनले गर्नेछन् ।
काथैरेन्योले पुस १३ गते पोखरा रंगशालामा गण्डकी ११ सँग र पुस १४ गते दशरथ रंगशालामा काठमाडौं ११ सँग प्रतिस्पर्धा गर्ने लुम्बिनी गार्डेन फाउन्डेस स्पेनका महासचिव एकराज गिरीले जानकारी दिए । गण्डकीको प्रशिक्षकमा राजेन्द्र तामाङ र काठमाडौंको प्रशिक्षकमा मेघराज केसी रहनेछन् ।
स्पेनिस क्लबमास्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि रहने बताइएको छ ।
उनले स्पेनबाट १९८८ देखि १९९२ सम्म खेलेका थिए । उनले स्पेनका लागि २८ खेल खेल्दै ९ गोल समेत गरेका छन् ।
गौतम बुद्ध जन्मिएकै देशबाट ’शान्तिका लागि फुटबल’ नाराका साथ सुरु गरिएको यो मैत्रीपूर्ण फुटबल भविष्यमा अन्य देशमा पनि गर्ने योजना रहेको फाउन्डेसनले जनाएको छ ।
भविष्यमा चीन, हङकङ, म्यानमार, थाइल्यान्ड, भियतनाम लगायतका देशमा पनि मैत्रीपूर्ण खेल खेलाउने योजना रहेको महासचिव गिरीले बताए ।
अनिलको कप्तानीमा रहेको टोलीमा दिप कार्की, राजा बाबु मगर, मान बहादुर तमाङ, आशिष गुरुङ, रन्दिप पौडेल, जिवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योन्जन, बिसन गुरुङ, जया गुरुङ, कमल बहादुर थापा, विजय श्रेष्ठ, दिपेश आले मगर, शान्तबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवास गुरुङ रहेका छन् ।
गण्डकी फुटबल संघको आपत्ति
गण्डकी ११ नाम दिएर टिम तयार पार्दै गर्दा प्रदेशका अन्य जिल्लाका खेलाडीलाई नसमेटिएको भन्दै गण्डकी प्रदेश फुटबल संघले आपत्ति जनाएको छ ।
उनीहरुले प्रदेशमा मैत्रीपुर्ण खेल हुँदै गर्दा आफुहरुलाई कुनै जानकारी नहुनु दुःखद् रहेको गण्डकी प्रदेश फुटबल संघका महासचिव दिपेन्द्र श्रेष्ठले बताए ।
‘हामी प्रदेश संघलाई यसरी किन हेपिएको हो थाहा छैन् । हामीले सुनेअनुसार कास्की ११ को टिम खेल्ने भन्ने थियो तर यहाँ गण्डकी ११ भनिएको छ’, उनले भने, ‘कमसेकम संघलाई एक पटक मौखिक वा लिखत जानकारी दिएको भएपनि खुसी हुने थियौं ।’





