पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहेका छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानून तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीलगायतले बधाई ज्ञापन गरेका थिए । यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै महिला सिप विकास संस्थाका प्रबन्धक रामकली खड्काले पछिल्ला समयमा महिलाहरू उद्यमशिलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताउँदै सशक्तिकरणका लागि प्रत्येक महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने बताइन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पोखरा नेपालको पर्यटनको राजधानी मात्र नभै दक्षिण एशियाको नै उत्कृष्ट गन्तव्य रहेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हरेक पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।सो अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र कान्तिपुर राष्ट्रिय दैनिकका कास्की समाचारदाता दीपक परियारलाई सम्मान गरिएको छ ।





