बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

माननीयको शपथमा रेड कार्पेट

माननीयको शपथमा रेड कार्पेट


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७९, बिहिबार

पोखरा/ प्रदेशसभामा निर्वाचित ६० जना सांसदमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन । बाँकी ५९ जना प्रदेशसभा सदस्यहरुलाई उनै बस्यालले बिहिबार शपथग्रहण गराउनेछन ।

आगामी पाँच वर्षको लागि जनताका प्रतिनिधी बनेर निर्वाचित भएका प्रदेशसभा सदस्यहरुको कार्यकाल पनि शपथग्रहणसँगै सुरु हुनेछ । प्रदेशसभा सचिवालयले दिनको १ बजे शपथग्रहणको कार्यक्रम तय गरेको छ ।

नयाँ माननीयहरुको स्वागतमा प्रदेशसभा भवनलाई सिँगारेर चिटिक्क बनाइएको छ । प्रदेशसभा भवनको गेटअगाडि रातो कार्पेट ओछ्याइएको छ ।

नदिपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद् भवनको रूपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ । कोरोनाकालमा सामाजिक दुरी कायम गर्न भनेर पोखरा सभागृहलाई पनि संसद् बैठक भवनको रूपमा प्रयोग गरिएको थियो ।

तर, गण्डकीको संसद् भवन भनेकै त्यही प्रशिक्षण केन्द्रको पानी चुहिने भवन नै हो । प्रदेश सरकारले नै नयाँ संसद् भवन बनाउने भनेर प्रक्रिया अघि बढाएको थियो । तर, प्रक्रिया अलपत्र हुँदा अब पनि संसद् बैठक पुरानै भवनमा चल्नेछ ।

पहिलो कार्यकालका सांसदहरूको विदाइपछि खाली बनेको पुरानोमा भवनमा फेरि रङरोगन गरिएको छ । यो भवनमा बर्सेनि वर्षातमा पानी चुहिन्छ । बैठककक्षभित्रका पानीका धर्का मेटाउन प्रदेशसभा सचिवालयले नयाँ रङ लगाएको छ ।

टायलले छाएको भवनको बाहिरपट्टि पनि देखिने गरी नयाँ रङरोगन गरिएको छ । प्रदेशसभा भवनको माथिपट्टि राखिएको ‘प्रदेशसभा भवन’ लेखिएको फ्लेक्स भने फेरिएको छैन । संसद् भवन परिसर बाहिरको चौरको घाँस काटिएको छ । कम्पाउन्ड मर्मतसँगै सरसफाइ गर्ने कार्य नियमित भइरहेको छ ।

आगामी पाँच वर्षे कार्यकाका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको स्वागतका लागि सचिवालयले सरसफाइ, मर्मतलगायतका कामलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार बैठककक्षको क्षेत्र सानो भएकाले कुर्सी भने पुरानै हुनेछन् । पुरानै कुर्सीलाई सरसफाइ गरेर प्रयोग गरिने उनले बताए ।

माननीयको शपथमा रेड कार्पेटयही प्रदेशसभा भवनमा नव निर्वाचित प्रदेशसभा सदस्यहरुले शपथ लिनेछन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->