पोखरा/ पोखरा रंशगालमा जारी आहा रारा पोखरा गोल्डकपकोमा धरान फुटबल क्लबलाई हराउँदै साविक च्याम्पियन एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगितामा धरानलाई २–० गोलअन्तरले हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।
पहिलो हाफमा निकै उत्कृष्ट खेल प्रदर्शनी गरेको एपिएफले दोस्रो हाफमा लय गुमाएको थियो ।
२७ औं मिनेटमा धरानका सफल कार्कीले क्रस गरेको बलमा प्रकाश बढाथोकीको प्रहार बाहिरियो ।
एपिएफका डिफेन्डरले अफसाइड माग्दैगर्दा प्रकाशले बल अघि बढाउँदै वान भर्सेस वानको स्थितिमा गरेको सशक्त प्रहारमा गोलरक्षक नगरकोटी बाधक बने ।
त्यसको दुई मिनेटपछि पुनः धरानका तपन कार्कीको प्रहारमा नगरकोटी बाधक बन्दा धरान अग्रतालिनबाट बन्चित भयो ।
रोमन लिम्बुको पासमा तपनले प्रहार गरेका थिए । ३७ औं मिनेटमा एपिएफका विकु तामाङले सेन्टरलाइनबाट आएको बललाई नियन्त्रणमा लिदैँ उत्कृष्ट फिनिसिङ गरे । उनले गोलरक्षक होचो भएको फाइदा उठाउँदै चिप फ्लिक गर्दै गोल गरे ।
४० औं मिनेटमा युवराज खड्काले रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । नविन लामाको पासमा प्रदिप लामाले गरेको क्रसमा विकुले प्रहार गरेको बललाई धरानका गोलरक्षक सौरभ बरालले उत्कृष्ट बचाउ गर्दा रिवाउन्ड भएको बलमा खड्काले गोल गरे ।
खेलको ५४ औं मिनेटमा एपिएफका युवराज खड्काले अग्रता तेब्बर पार्ने अवसरको सदुपयोग गर्न सकेनन् ।
सनिस श्रेष्ठले नविन लामालाई र नविनले खड्कालाई पास मिलाइदिए पनि उनले गोल गर्न सकेनन् । उनको प्रहार फितलो रह्यो । खेलको म्यानअफ दि म्याच एपिएफका विकु तामाङ घोषित भए ।





