मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नर्स अनुष्ठाको निष्ठालाई सलाम

नर्स अनुष्ठाको निष्ठालाई सलाम


  • माधव शर्मा
  • पुष १७ २०७९, आइतबार

पुष महिनाको जाडो बढेसंगै हाम्रा अप्ठ्यारा दिनहरु सुरु भएका थिए । पहिले त जाडो गर्मीको खासै प्रवाह गरिदैनथ्यो । विगत डेढ वर्ष यता चिसो र तातोलाई यथास्थानमा राखेर सन्तुलित वातावरणको खोजीमा हामी हिंडिरहेका हुन्थ्यौं, किन कि हामी एउटा सानो अध्यायमा प्रवेश गरेका थियौं । अझै भनौ हामीसंग एउटा अबोध बालकले निरन्तर साथको आशा गरिरहेको थियो । बालक आफैमा स्वच्छन्द प्रकृतिका हुन्छन् । सधैंजसो निर्मल निश्चल नजर हेर्दै हामीहरुलाई मोहित पारी खुशी तुल्याउने नाम हो सम्भव, नाम जस्तै हाँसो र खुशी लगायतका आयामलाई सम्भावनाको डोरीमा बाँधेर जीवन्त सम्भव बनाउन सम्भवले ठूलो भुमिका खेलेरहेको थियो । यिनै खुशीहरुको तादात्म्यतामा हामी प्रसन्न बनेका थियौं ।

हरेक वर्ष कार्तिक लागेपछि निरन्तर बढ्ने चिसोले बालक, वृद्ध, रोगी, अशक्तलगायत सबै मानिसलाई अत्याउने गर्दछ । पछिल्लो समय जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुँदै आइरहेको छ । यी समस्याहरुले धेरै सताउने नै बालबालिका र वृद्धवृद्धाहरुलाई हो । यिनै समस्याहरूले रुचाएर हुनुपर्छ छोरो सम्भवलाई पनि मंसिरको अन्तिम साताबाट रुघाखोकी र ज्वरोले सताईरहेको थियो । सधैं जसो उत्साहित मुद्रामा रहने छोरोले समयलाई समयमै समयको नियन्त्रणमा राख्न नसक्दा खराब समयको सिकार बनिरहेको थियो । उस्का क्रियाकलापहरु असहज बन्दै गएका थिए । उस्को स्वास्थमा प्रतिकुल अवस्था देखिएपछि ५ गते राती धौलागिरी अञ्चल अस्पताल बागलुङमा लगिएको थियो । इमर्जेन्सी वार्डमा रहेको डाक्टरलाई देखाउँदा सामान्य हो वाफ लगाउनुहोस् । भोलि विषेशज्ञ डाक्टरलाई देखाउनुपर्छ । अहिले घर लैजानुहोस् भन्ने परामर्श पछि हामी घर फर्कियौं ।

भोलिपल्ट डा. कृति कंडेललाई भेटाउने जमर्कोका साथ कार्य कक्षामा पुग्यौं । सधै बाबा, मम्मी र दादा भन्ने सुमधुर आवाज मन्द भइरहेको छोरोको मुहार मलिन थियो । तर, आशा र भरोसाको बाटो धौलागिरीमै बालबालिकाको उपचारबाट ठूलो विश्वास कमाएकी डाक्टरको सान्निध्यमा पुगेका हामी डा. कृतिसंग छोरोको यो अप्ठ्यारो परिस्थितिलाई सहज बनाइदिनुहोस् भन्ने कामना गरिरहेका थियौं ।

बाबुको असहजतालाई मध्यनजर गर्दै डा. को सल्लाहअनुरुप भर्ना प्रक्रिया अगाडि बढाइ हामी अस्पतालको बच्चा वार्डमा पुग्यौं । अनुभव र उमेरगत परिपक्वताले पुर्ण नर्स र डाक्टरको जिम्मामा छोरो सुम्पिएका हामी एक तर्फबाट ढुक्क थियौं भने बेला बेलामा डर र शंकाका भावहरु उत्पन्न हुन्थे । श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् दुख सुखमा साथ दिनुपर्छ भने झै, हामी दुई एक आत्तिदा अर्कोले र अर्को आत्तिदा अर्कोले धैर्यताका भावहरु प्रकट गथ्र्याैं । छोरोको श्वासप्रश्वासको गति थपघट भईरहँदा हामी बिचलित बनिरहेका थियौं । यत्तिकैमा हाम्रो निराशालाई मेटाउन मेरो भाइ र सहकर्मी मित्र कृष्ण सरको आँगमन भयो । उद्विग्न निराशालाई आशामा समेट्न उपस्थित दुवै अनुहारले बाबुको अवस्था र डाक्टरको परामर्शलाई केन्द्रमा राखेर अस्पतालमा भ्यन्टिलेटरको अभाव एवं बिग्रदो परिस्थितिको आँकलनसहित पोखराको यात्रा तय गरिरहेका थिए ।

डा. कंडेलका अनुसार अहिलेसम्मको परिस्थिति सामान्य छ तर हामीकहाँ पर्याप्त स्रोत साधन छैन, मैले मात्र गरेर स्रोतसाधनको परिपुर्ति हुँदैन की भन्ने उहाँको भनाई जायज र हाम्रो भलाईको लागि ठानेर हामी राती नै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको लागि हिंड्यौ । यहि यात्रामा सहयोग गर्नुहुने दिदी, भिनाजु लगायत अस्पतालका अन्य डाक्टर र नर्सहरुप्रति हामी आभारी भईरह्यौ । विशेषतः बागलुङ र पोखरामा यथोचित सहयोग र सल्लाह दिनुहुने डा. कृति कंडेल, डा. इश्वर शर्मा कंडेल, डा. रामजी बराल, डा. श्रीकृष्ण श्रेष्ठ, रामचन्द्र बास्तोला ज्युहरुप्रती आभारी नभईरहन हामी सक्दैनौं नै ।

छोरा सम्भवको थप उपचारको सम्भावना बोकेर पोखरातर्फ हिंडेका हामी छोरालाई अक्सिजनको पाइपलाइनमा निहित राखेर गण्डकी हस्पिटलको गेटमा पुग्यौं । हामी त्यहाँ पुग्नु पुर्व नै सम्भवका मामा र सानिमाले सिर्जित अवस्थाको पुर्वतयारी गरिरहेका थिए । आवश्यक सहयोग र स्वास्थ्योपचारको प्रबन्ध गर्न बसेका ती दुई अनुहारले हामीलाई धैर्यताको पाठ सिकाइरहेका थिए । संसारमा जन्मेका सबै मानिसको मन आत्मीय हुँदैन । कति मानिस अरुको दुखलाई आफ्नै अनुभव गरेर काम गर्दछन् त कति पराई पराई नै रहन्छन् । मलाई सबैभन्दा पीडाको समय भनेको छोरोको रोदन हो ।

त्यसैमा पटक पटकको इन्जेक्सनको दौडाहामा नशा पत्ता नलाग्नु झनै कठोर अवस्था थियो । उस्को उपचारमा असहज भनेकै नशा पाउन कठिन रहेछ । हस्पिटलमा कार्यरत सिनियर डाक्टरले निर्देशन र उपचारलाई सहि मार्ग प्रदान गर्ने गर्दारहेछन् । प्रायः उपचारमा खटिने डाक्टर जस्को निर्देशन आग्रह र उपचारले बिरामी निको हुन्छ उनीहरुले सिनियर डाक्टरहरुलाई सहि रिपोर्टिङ गर्दारहेछन् । बिरामीको हरेक पक्षको निगरानी गर्ने नर्सहरु हुदाँरहेछन् । हो हामी करिब ७ दिनको हस्पिटल बसाइमा उहाँहरु कै सत्प्रयासको प्रतीक्षामा थियौं । मानिस कमलो र कठोर दुई स्वभाव भएका हुँदारहेछन् । कमलो एवं सहृदयी स्वभावका डाक्टर र नर्सले हरतरहको कार्यद्वारा बिरामीलाई सहयोग गर्दा रहेछन् । भने, कठोर स्वभाव भएकाले पारिश्रमिकको प्रतीक्षा गर्दा रहेछन् । उनीहरुलाई बिरामी आयो ? गयो ? उपचार पायो ? पाएन ? मेरो कामबाट सन्तुष्ट बन्यो बनेन् ? भन्ने थाहा हुँदोरहेनछ । अझै भनौ आफ्नो कर्तव्य के हो ? त्यो पनि पत्तो हुँदैन रहेछ ।

नर्सको भूमिकामा अनुष्ठा

प्रायः अस्पतालमा बिरामीको उपचारमा अहोरात्र खट्ने नर्सहरु नै रहेछन् । १८२० मा फ्लोरेन्स नाइटिङ्गेलले टुकी बालेर थालेको नर्सिङ अभियानलाई विश्वभरी मानव हितका लागि थालिएको अभियान भनिन्छ । यो अभियानमा अहिले लाखौं नेपाली नर्सहरुले काम गरिरहेका छन् । वास्तवमा मानिसको भलाई हुने कार्यबाट नै धर्मका साथमा सन्तुष्टि पनि मिल्छ ।

बिरामीको उपचारमा प्रारम्भदेखि उस्को हातखुट्टा नलागुन्जेलसम्म नर्सहरूले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हामीले सोचे जस्तो उनीहरु सिक्न र अध्ययन पूरा गर्न मात्र आएका होइनन् । यस्तो सोचाइले नर्सको कर्ममाथी नै दाग लगाईरहेको अवस्था नेपाली समाजमा छ । म आफैले भोगेको यथार्थ विषय के छ भने ६ गते राती करिब ११ बजे गण्डकी हस्पिटलले छोरा सम्भवलाई अनगिन्ती सम्भावनाहरु देखाउँदै बच्चा वार्डको एक्ष्ऋग् मा भर्ना गर्यो । बाबुलाई निमोनियाले सताएको छ भन्ने थाहा पाएलगत्तै विभिन्न परिक्षणको तयारीमा जुटेका डाक्टर र नर्सहरुको समुहलाई एक टक भएर हेरिरहेको मलाई सरकारी हस्पिटलको छनक रत्तिभर देखिएको थिएन ।

मान्छेले सरकारी हस्पिटलमा उपचार राम्रो हुँदैन । त्यहाँ जानू हुँदैन भनेर प्राइभेटमा धाइरहेका हुन्छन् । वास्तविकता नबुझी प्राइभेट हस्पिटलको मात्र गुणगान गाउनु र सरकारी हस्पिटलमा तन, मन, वचन दिएर कर्तव्य पूरा गर्ने डाक्टर र नर्सलाई उपेक्षा गर्नु निन्दनीय कार्य हुन्छ । बिरामीको असहज वातावरणलाई सहज बनाउन अहोरात्र खट्ने नर्सहरुको उदाहरणीय चरित्रलाई सलाम छ । नर्सहरु बिरामीसँग हरहमेसा साथमा रहन्छन् । उनीहरुले बिरामीलाई सहज रूपमा निको पार्ने उद्देश्य बोकेका हुन्छन् । उनीहरुकै सेवाभाव र मीठो वचनले बिरामीको रोग निदानमा ठूलो भूमिका खेलिरहेको हुन्छ ।

छोरा सम्भवलाई राखिएको वार्डमा विभिन्न स्वभाव र व्यवहारका नर्सहरु थिए । कसैले बिरामीलाई छिद्र वचनले झनै सिकिस्त पार्थे, त कसैले मायालु बोली र व्यवहारले रोग निको पर्नमा सहयोग गर्थे । हुनतः उनीहरुका पनि आ–आफ्नै समस्या र बाध्यताहरु होलान् तर आफ्नो व्यवहारिक र घरायसी परिस्थितिलाई सबै ठाउँमा जोड्न मिल्दैन होला । हस्पिटलमा काम गर्ने सबैले सबै बिरामीलाई स्नेह र माया गर्छन् भन्ने नै कहाँ हुन्छ र । हाम्रो पहिलो दिनको बसाइ निक्कै असहज बन्यो ।

एकातर्फ कहिल्यै बिरामी नभएको छोरा बिरामी परेर रातारात अक्सिजनसहित पोखरा लगिएको थियो भने अर्कोतर्फ अक्सिजन र वाफ लगाउन नमानेर छोरा रोइरहेको थियो । हस्पिटलको एक्ष्ऋग् कक्षमा एक बिरामी एक कुरुवा बस्नु पर्ने नियम रहेछ । तर हाम्रो छोरोलाई अक्सिजन लगाउनकै लागि ३ जना अनिवार्य उपस्थित हुनुपथ्र्याे । हामी निकै आत्तिएका थियौं । नर्सको कार्यकक्षमा गएर समस्या बताउँदा तपाईंको बच्चालाई अक्सिजन लगाउने जिम्मा तपाईहरुकै हो । जुनकुनै तरहले लगाउनुहोस् अन्यथा बिरामीलाई असहज हुनेछ भन्ने निर्देशन आउँथ्यो ।

यसरी बिरामीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने गरि अभिव्यक्ति दिन हुँदैनथ्यो । यस्मा पनि सबै नर्स र डाक्टरहरु उस्तै हुन्छन् भन्ने हुँदैन रहेछ । त्यही दिनको राती उपचारमा रहनुभएको नाम थाहा नभएको डाक्टरले भरपुर सल्लाह सुझावसहित बिचलित भएका हामीहरुलाई सुझाउनुभएको थियो । उहाँले दिएका प्रेरणाले हामीलाई थप उपचारमा खट्न सिकाएको थियो । यहाँ दिनहुँ बिरामी आइरहन्छन् डाक्टर र नर्सले काम गरिरहन्छन् । कतिलाई सल्लाइ दिने कतिलाई सम्झाउने भन्ने भाव उहाँहरुलाई होला तर बिरामीहरुलाई त्यो सोचाइ हुँदैन । हामीहरु भएसम्म डाक्टरको परामर्श चाहान्छौं ।

हस्पिटलको बच्चा वार्डमा सात गते बिहान उपस्थित भएको नर्सहरुको एउटा समुह निकै उत्साहित र सेवाभावले पुर्ण थियो । रातो स्वेटरमाथी सेता कोटपाइन्टमा सजिएका नर्सहरु हामी बसेको वार्डमा उपस्थित भएपछि सबै बिरामीका कुरुवा र स्वयं बच्चाहरु निकै भिन्न व्यवहार देखाइरहेका थिए । हामी त अपरिचित जस्तै बन्यौं, उनीहरुका लागि, तर उनीहरु सबै बेडका बच्चा र कुरुवालाई सोधिरहेका थिए । बाबुनानीलाई कस्तो छ ? सुधार भैरहेको छ ? गाह्रो त छैन नि ? बिरामीतर्फ फर्किएर के खुवाउनु भयो आमाले ? के खान्छौ ? आफ्नै आमा बाबाले झै यसरी मास्क भित्रबाट बोलिएका मायालु शब्दहरुले बिरामी बालबालिकाको मनोबल त अवस्य बढ्थ्यो नै, उनीहरुका व्यवहारहरुले अस्पतालको बेड बिर्सिएका मानिसहरूलाई छुट्टै आनन्दको प्रत्याभूति भएको हुन्थ्यो । उनीहरुले मास्क लगाएका अनुहारबाट सबै काम र व्यवहारको अनुभुति आँखाले संकेत गर्थे ।

यस्तै मायाले भरिपूर्ण नर्सहरुको समुहमा एउटा स्वच्छन्द व्यवहारभित्रको मन थियो । त्यहीं मनले सबै बिरामीलाई मिठासपुर्ण भाषामा बोलिरहेको हुन्थ्यो कस्तो छ ? ठिक भो ? ल ल ल ठिक हुन्छ न आत्तिनुस् ल ! खै बाबू यता हेर्नुस् ! हास्नुस् त ! ठिक छ ? औषधि खानुभो ? जस्ता यावत प्रश्न गर्दै चस्मा भित्रका नयनले बालबालिकालाई बोलाउने नाम हो अनुष्ठा । उनी स्वभावैले व्यवहारिक र नैष्ठिक छिन् । उनको सुमधुर बोलीले मात्र पनि बच्चाहरु प्रफुल्लित हुन्छन् । उनको सगौरव स्पर्शले मात्र बिरामीले पथ्य पाउँछन् । उनी आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि दायाँबायाँ गर्दिनन् । उनी सदासर्वदा आफ्नो भुमिकामा परिपक्क रहन्छिन् । उनीसंग रिस र क्रोधको नामै छैन । उनको उपचारमा जस्तोसुकै बिरामी निको हुन सक्छ । यत्तीकैमा उनी छोरा सम्भवको निकटमा आइपुग्छिन् ।

उनको काम देखेर थप प्रभावित भएको मैले बाबुको अवस्थाबारे सोधपुछ गरे । उनी निशस्त्र भइकन पनि रोग निदानका लागि आवश्यक सम्भावना र चुनौतीहरु प्रस्तुत गरिन् जुन जायज र व्यवहारोपयोगी थियो । उनले सम्भवको आवश्यक जानकारी दिएपछि उस्को बिहानी उपचारमा लागिन् । सधैं जसो इन्जेक्सन लगाउँदा सम्भव रोएन । लाग्थ्यो त्यो अबोध बालकले उनको चस्माभित्रका नयनको भाषा बुझ्ने प्रयत्नमा भुलिरहेको थियो वा मास्कभित्रका ध्वनी अवयवको गतिलाई नियन्त्रण गर्न खोजी रहेको थियो । जब उनले औषधि चडाएपछि बाबुको टाउकोमा हात राखेर सुम्सुम्याइन तब बाबुले विजयको भाषा प्रकट गरिरहेको थियो । यो सबै हेरेर बसेका हामी दंग परिरहेका थियौं । सबै बेडका बिरामीहरुलाई भरपुर सन्तुष्ट पार्न तल्लीन उनले आफ्नो ड्युटीको समयलाई एक मिनेट पनि खेर जान दिदिनन् ।

वश्यक उपचारमा जुटिसकेपछि तिनै बच्चाहरुसंग नजिकिनु, खेलाउनु, र रमाउनुसंगै बालबालिकालाई रोग भुलाउनु नै उनले धर्म ठान्छिन् जस्तो हामीलाई लाग्थ्यो । उनको काम र मिहिनेत देख्दा लाग्थ्यो । उनको रोजाइमा बच्चा वार्ड पर्यो वा बच्चा उनको वार्डमा परे पत्तै हुदैनथ्यो । उनी नर्स हुन् आफ्नो पढाइ पूरा गर्न आएकी भन्ने थाहा हुँदाहुँदै मैले उनका बारेमा उनलाई अनगिन्ती प्रश्नका झोक्काहरु प्रस्तुत गरेँ उनले बिना संकोच मेरा प्रश्नको जवाफ दिइन् । उनको घर विराटनगर रहेछ । चापागाईं थर भएकी उनी नेपाल सरकारबाट छात्रवृत्तिमा दबअजभयिच तेस्रो वर्ष अध्यायन गर्दिरहिछन् । उनको बारेमा केही कुरा थाहा पाएपछि मेरो समात्ने हाँगो भनौं या टेक्ने, चापागाईंको नाताले दाजुबैनीको सम्बन्ध निर्माण भइरहेको थियो । बिरामी छोरोले दिदीको स्पर्श खोजीरहेको थियो । उस्ले जानेका शब्दहरु अनुष्ठा लगायत अन्य नर्सहरु समक्ष प्रकट गथ्र्याे । र, बाल मस्तिष्कले सम्बोधन गर्न भ्याएसम्म मुन्टो हल्लाउँथ्यो । सुरुका दिनहरु असहज भएतापनि पछिल्ला दिनहरुमा नर्सहरुका कापी, कलम, मोबाइल, घडी र अन्य सामाग्रीसंग नजिकिदै उनीहरुलाई आकर्षित गरिरहेको हुन्थ्यो । जस्लाई नर्स बैनीहरुले सहज रुपमा स्वीकार गरिरहेका थिए र उस्को निकटमा बस्न रुचाउँथ्ये ।

उस्को बानी व्यवहार देखेर अचम्मित भएका नर्सहरुले उस्लाई काखमा लिएर पुरै वार्ड घुमाउन भ्याउँथे । यसरी हामी सात दिनको बसाईमा रोग र शोक मात्र नभै पारिवारिक वातावरणमा संगै रमाइरहेका थियौं । यसैबिच आफ्नो इच्छा र आकांक्षा परित्याग गरि पारिवारिक जिम्मेवारीभन्दा बाहिर रहेर पनि सबै बालबालिकालाई खुशी तुल्याउन सदावहार प्रयत्न गर्ने नर्सहरु बालबालिकाका लागि भगवान हुन् । उनीहरुको व्यवहार मात्रले बिरामी निको हुन्छन् भने स्पर्शले बिरामीमा खुशीको बहार आउँछ । सात दिनको बसाइलाई सार्थक तुल्याउन र हाम्रो प्रसन्नतालाई पुनरागमन गराउन हरतरहले प्रयत्न गर्नुहुने नर्स अनुष्ठा चापागाईं लगायतको समुहप्रति छोरा सम्भवको तर्फबाट प्राप्त हुने खुशी हजुरहरु समक्ष सदासर्वदा अनुग्रही रहनेछ ।

हस्पिटल बसाइको अन्तिम दिन छोरा खुशी र प्रसन्न थियो, उस्ले तिनै अनुहार र हातहरु खोजीरहेको थियो । जुन अनुहारले मायाका भावहरु प्रकट गर्थे । उस्को मानसपटलमा आनन्दानुभुती प्रदान गर्न कै लागि उस्का शिरमा औंलाहरुले स्पर्श गर्थे तिनै औंलाहरुको खोजी गर्दै बच्चा वार्डबाट बिदाइका हातहरु हल्लाईरहेको थियो सम्भवले । कति नर्सहरु ड्युटीमा थिए कति थिएनन् । लाग्थ्यो उस्को आँखाले देखेका नर्सहरुलाई धन्यवाद भनिरहेको थियो भने नदेखेका नर्सहरुलाई दिदी दिदी भनेर बोलाईरहेको थियो । उता चस्माभित्र आँखा लुकाएकी नैष्ठिक दिदीको आँगमनलाई अघिल्लो दिनदेखी पर्खिरहेको सम्भवले उनको उपस्थितिमा धेरै खुशीका सम्भावनाहरु देखिरहेको थियो तर बिरामी हुँदा सतप्रयत्न गरिएको मन व्यस्त थियो ।

उस्को पर्खाइको घडी समाप्त भएलगत्तै उस्ले भेटिएकाहरुलाई मात्र बिदा गरिरहेको थियो । यसरी नर्स अनुष्ठाको निष्ठाको मात्र चर्चा गरिरहँदा अन्य कार्यरत डाक्टर र नर्सहरुको अपमान हुन जान्छ । यसर्थ सेवाभाव प्रकट गर्नुहुने सम्पुर्ण डाक्टर र नर्सहरुलाई सलाम छ । अहोरात्र खटिएर अबोध बालबालिकाको उपचार गर्नुहुने डा. अनिता, डा. सुनिल, डा. नविना डा. सन्दीप लगायत अन्य डाक्टर, नर्सहरु र हस्पिटलमा कार्यरत कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । मानवीय उद्दार र भलाईको कार्य पृथ्वीमा सुक्ष्मातिसुक्ष्म रहिरहोस् । धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->