पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन त्यसका परिकल्पनाकार प्रा.डा.शंकरराज पाठक अभिनन्दित भए । पोखरा महानगरपालिकाले यहाँको अमरसिंहचोकमा भव्य समारोह आयोजना गर्दै पाठकलाई अभिनन्दन गरेको हो । महानगरका मेयर धनराज आचार्यले विमानस्थलको परिकल्पनाकार पाठकले जग्गा अधिग्रहण नगरिदिएको भए विमानस्थल सम्भव नभएको बताए ।
२०२९ सालमा गण्डकीको अञ्चलाधीश बनेर आएका पाठकले नै यहाँ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको कुरा राजा वीरेन्द्रसामु राखेका थिए । राजाले उनकै कुरा सुनेर विमानस्थलको काम अगाडि बढाउन निर्देशन दिएका थिए ।
विमानस्थलको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे । विमानस्थलको उद्घाटनमा सिंगो पोखरेली जनसमुदाय सहभागी भइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चाहिँ विमानस्थलको परिकल्पनाकार राजा वीरेन्द्र नै भएको जिकिर गरे । सामाजिक सञ्जालमार्फत् उनले भने,‘ ‘आज उद्घाटित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वास्तवमा राजा वीरेन्द्रको परिकल्पना हो ।
उद्घाटन समारोहमा राजा वीरेन्द्रको नामसमेत कसैले उच्चारण गरेनन् । इतिहासप्रति गौरव गर्दा वा अरुको योगदानको चर्चा गर्दा सानो भइन्न । राजाको योगदानको प्रशंसा गर्दैमा गणतन्त्र कमजोर हुँदैन, बरु सशक्त देखिन्छ ।’ पाठकले चाहिँ राजाकै चाहना अनुरुप विमानस्थल बनेको बताउँदै आएका छन् ।





