बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखराका ट्याक्सी चालकको ‘मुखमा मिटर’ !

पोखराका ट्याक्सी चालकको ‘मुखमा मिटर’ !

एयरपोर्टदेखि लेकसाइड आउँदा खर्च बढ्ने यात्रुको चिन्ता ।


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७९, मंगलबार

पोखरा/ गएको फागुन ३ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायातमा भाडा समायोजन गर्ने निर्णय ग¥यो । ट्याक्सी व्यवसायी, मजदुर संगठन, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत संस्थाले २०७८ साल माघ ६ गते नै समायोजनको लिखित सम्झौता भएपछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो । सम्झौता अनुसार फागुन मसान्तभित्र प्रदेशभित्रका सबै ट्याक्सीमा मिटर जडान गर्न र त्यसपछि नयाँ भाडादर लागू गर्न दुवै पक्ष तयार भए ।

पोखरामा गुड्ने ट्याक्सीहरु मिटरमै गुड्नुपर्ने,ट्याक्सीमा जिपिएिस जडान गर्ने, छतमा पँहेलो पोत्ने,चालकले आकासे रङको सर्ट, कालो पाइन्ट र जुत्ता लगाउनुपर्ने,पोसाक लगाउने उल्लेख गरियो । यो निर्णयसँगै गण्डकीका यातायातमन्त्री कुमार खड्का हौसिए । उनले यसअघि कसैले गर्न नसकेको काम गण्डकीबाट सुरु भएको उद्घोष गरे । मन्त्री स्वयं मिटरमा ट्याक्सी चले÷नचलेको अनुगमन गर्न सडकमा निस्किए । चालकहरुले तोकिएको पोसाक त लगाए तर, सो निर्णय कार्यान्वयनमा आउनै सकेन । पटक–पटक इन्धनमा भएको मूल्यबृद्धिका कारण समायोजन भएको भाडामा ट्याक्सी चलाउन नसकिएको व्यवसायीहरुले जिकिर गरे । गएको असोज २९ गते कुमार खड्कालाई नै मन्त्रीबाट हटाइयो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कांग्रेसभित्रको आन्तरिक द्वन्द्वकै बीच कुमारलाई मन्त्रीबाट हटाएर भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा आफैंसँग राखे । कुमारकै पालामा सम्भव नभएको ‘मिटरमा ट्याक्सी योजना’ अलपत्र प¥यो । अहिले पोखरामा गुड्ने ट्याक्सीहरु मिटरमा गुड्दैनन् । रातको त के ! दिनमा पनि चोकमा आफैं पालो लगाएर बसेका ट्याक्सीहरुले मरिकाटे मिटर चलाउँदैनन् । कतिसम्म भने, ग्राहकले पालोबाहेकका ट्याक्सी रोज्न पनि पाउँदैनन् । छुटेपछि कम्तिमा २५० भन्दा तल भाडा नै हुँदैन । एयरपोर्ट र बसपार्कतिरका ट्याक्सी भाडा त दोब्बरभन्दा बढी हुन्छ । रातको समयमा एक त पोखरामा ट्याक्सी पाइँदैन, पाइहाले पनि मूल्य छोइनसक्नुको छ ।

पोखराका ट्याक्सीलाई नियमानुसार हिँडाउन केही प्रहरी अधिकृतले प्रयास नगरेका हैनन् । २०७४ सालतिर कास्की ट्राफिक प्रहरी निरीक्षक ऐनबहादुर मल्लले आफैं सडकमा ओर्लिएर ट्याक्सीमाथि कारबाही अगाडि बढाएका थिए । तर, उनी सफल भएनन् । कास्की प्रहरी प्रमुख अशोक सिंहदेखि ओम रानासम्मको प्रयासले पनि सार्थकता पाएन । व्यवसायी आफैंले गरेको सम्झौता त कार्यान्वनय भएन, अरु त हुने सम्भावना पनि रहेन । अहिले पनि पोखराको सडकमा ‘मुखबोली’ चल्छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । आइतबारदेखि अन्तर्राष्ट्रिय विमानस्थलबाटै आन्तरिक उडानहरु सुरु भएका छन् । त्यस्तोमा यहाँको महँगो भाडालाई लिएर राष्ट्रिय रुपमै चर्चा सुरु भएको छ । पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यही चिन्ता जाहेर गरे । उनले लेखे–‘ नयाँ विमानस्थलदेखि लेकसाइडसम्म जान १५००–२००० सम्म ट्याक्सी भाडा लाग्ने कुरा छ, खास कुरा के हो ? पर्यटकले थप खर्च बोकेर पोखरा उत्रनु पर्ने भएको हो ? खासगरी आन्तरिक पर्यटकले बेसिजनमा लेकसाइडमा बस्ने खर्च खुम्चिने हो ? जाननीयहरूको राय के छ ?’

उनको यो प्रश्नमा धेरैले उत्तर दिएका छन् । गोविन्द अधिकारीले लेखेका छन्,‘पोखराको ट्याक्सी यसै महँगो छ । बैदामबाट पुरानो एरपोर्ट आउँदा ५०० लिन्छन् । काठमाडौंकै बस भाडा । अस्ति ट्याक्सीवालाले अर्को पटक त घटीमा हजार भन्दै थिए । एअरपोर्टबाट सहरसम्म सटल बस चलाउने बुद्धि पलाओस् ।’ ट्विटरमा चर्चा–परिचर्चा जारी छ । काठमाडौंमा जस्तै ट्याक्सी अनलाइन बुकिङको सेवा हुनुपर्ने,महानगरले पहल थाल्नुपर्ने, माइक्रोबस चढ्नुपर्नेजस्ता धारणाहरु आइरहेका छन् ।

पोखराको नयाँ एयरपोर्टबाट मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको दूरी साडे ६ किलोमिटरजति छ । नयाँ एयरपोर्टको वरपर स्तरीय होटल छैनन् । बैदामे ताल किनार क्षेत्र पर्यटकको रोजाइ क्षेत्र पनि हो । पोखरा आउने सवैजसो पर्यटकहरु यही क्षेत्रमा बस्छन् । २२ हजार पर्यटकलाई आतिथ्यता प्रदान गर्नसक्ने पोखराका अधिकांश होटल पनि बैदाम क्षेत्रमै छन् । आन्तरिक पर्यटकहरुको बाध्यता र चाहना दुवै लेकसाइड नै हो । यस्तो अवस्थामा ट्याक्सीको महँगो भाडा चिन्ताको विषय हुनु अस्वभाविक हैन । नयाँ एयरपोर्ट सुरु भएकै दिनबाट लेकसाइडसम्म ४ वटा नगरबस चलाइएको छ । तर, बढ्दो ट्राफिकका कारण यात्रुहरु सार्वजनिक बसमा चढेर समयमा गन्तब्यमा पुग्नै सक्दैनन् । अर्कोतर्फ, प्लेन चढ्नेहरु बसभन्दा ट्याक्सीकै चाहना राख्छन् । नयाँ एयरपोर्ट रातमा पनि चल्छ ।

भाडा समायोजन कार्यदल र अनुगमन समितिको सदस्यसमेत रहेका उपभोक्ता अधिकारकर्मी कपिल कोइरालाले पनि पोखराका ट्याक्सी मिटरमा नचल्नु ठूलो बिडम्बना भएको बताए । उनले मिटरमा ट्याक्सी नचल्दा पोखराको अन्तर्राष्ट्रिय ब्यइज्जत भएको जिकिर पनि गरे ।

उनले भने,‘मिटरमा ट्याक्सी चलाउने अफिसियल्ली काम भएकै हो । २–४ वटा कुरा मानेकै छन् । मुखमा मिटर राख्ने परम्परा जारी छ । चुनाव पनि सकियो, प्रदेशमा स्थायी सरकार आएर विभागीय मन्त्रालयले केही गरेन भने नागरिक समाज तात्नुपर्छ भन्ने हो’,मिटरमा ट्याक्सी चलेनन् भने यसले पोखराको अन्तर्राष्ट्रिय रुपले बेइज्जत हुन्छ । पोखरा आउने विदेशी पर्यटकले पोखरामा ठगिएँ भन्दैनन्, नेपालमा ठगिएको भन्ने सन्देश प्रवाह गर्छन् । त्यस्तोमा यहाँ कसरी पर्यटक आउलान् ?’

पोखरेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष प्रकाश तिवारीले पनि ट्याक्सीमा भाडा समायोजनको विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिए । ‘हिजो हामी बसेर सहमति गरेकै हो,१३६ रुपैयाँ लिटर हुँदा भएको त्यो सम्झौता कार्यान्वयन नहुँदै इन्धनको भाउ उकालो लाग्यो,अहिले पेट्रोल लिटरको १७९ रुपैयाँ छ । यस्तोमा पुरानै निर्णय अनुसार चलाऊ भन्न मिल्दैन’,उनले भने,‘भाडा समायोजन गर्नुप¥यो भनेर हामी कति चिच्याउने ? अहिले त गण्डकीमा विभागीयमन्त्री (यातायात) पनि छैनन्, मुख्यमन्त्रीले हेरे हुने हो । हामीले त चोकचोकमा भाडा समायोजन होस् भनेर ब्यानर टाँसकै हौँ,मिटरमै चल्नुपर्छ भन्ने मेरो कुरा हो तर
समायोजन नहुँदासम्म त मेरो एउटा ट्याक्सीको हकमा मात्र मैले विवेक प्रयोग गर्न सक्छु ।’उनले सरकारबाटै यो समस्याको समाधान खोजिनुपर्ने र नियमानुसार नभए कारबाही गर्नुपर्ने पनि बताए ।

एयरपोर्टबाट चल्ने ट्याक्सीको भाडा भने केही महँगो हुने उनले सुनाए । एयरपोर्टबाट चल्ने ट्याक्सीहरु त्यहाँबाट निश्चित ठाउँमा गएर एयरपोर्ट नै फर्कने हुनाले दुईतर्फी भाडा लाग्ने गरेको उनको भनाइ छ । अहिले पोखराको नयाँ एयरपोर्टमा पुरानो एयरपोर्टकै ट्याक्सीहरु सरेको जानकारी गराउँदै उनले भने,‘काठमाडौंंको एयरपोर्टबाट छुट्ने ट्याक्सीको भाडा पनि त बाहिरको भन्दा महँगो छ नि ।’

पोखरा पर्यटन व्यवसायीहरुलाई पनि ट्याक्सी भाडाले पिरोलेको छ । नयाँ एयरपोर्ट संचालनसँगै उनीहरु लेकसाइडसम्म कसरी पर्यटक ल्याउने भन्ने योजना बनाउँदैछन् । केही व्यवसायीहरुले पर्यटनसम्बद्ध व्यावसायिक संघ/संस्था मिलेर विद्युतीय बस चलाउने प्रस्ताव गरेका छन् । पर्यटन व्यवसायी सोम थापाका अनुसार भर्खरै नयाँ एयरपोर्ट संचालनमा आएकाले यसै गर्ने भन्ने चाहिँ भएको छैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->