पोखरा / आहा रारा गोल्डकपको ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोट्र्स क्लबसामु निरिह भएको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगिताको क्वाटरफाइनलमा भुटनिजले मनाङलाई १–० ले स्तब्ध पारेको हो ।
१७ औं मिनेटमा भुटनिजले फ्रिकिको अवसर प्राप्त गरेको थियो । रेने सान्टिल्लोनले प्रहार गरेको लामो फ्रिकिकमा हेक्टर ओर्टेज ओर्टेगाको हेडरमा मनाङका कप्तान मानबहादुरले हेड गर्दै क्ल्यिर हुन लागेको बललाई थोमपस साकेरले राम्रो टर्निङ फ्लिक गरेको बलमा आर्टेजले दिएको हाइबललाई भुईमा खस्नु अगावै प्रदिप बस्नेतले नियन्त्रणमा लिने प्रयास गर्दा ड्रप भएको बलमा पुनः प्रहार गरेको बलले सहजै जालि चुमेको थियो ।
पहिलो हाफमा खासै गतिलो अवसर बनाउन नसकेको दुवै टोलीले दोस्रो हाफमा भने केहि राम्रा अवसरहरु सिर्जना ग¥यो ।
खेलको ५८ औं मिनेटमा मनाङका चेतन कुमार थारुले गरेको लामो थ्रो बल साइडबार नजिकैबाट बाहिरियो ।
सुवाष गुरुङले राम्रो टर्निङगर्दै गरेको रनिङ पासमा अनमार्क रहेका फागु राम थारु अनियन्त्रित हुँदा बराबरीको राम्रो अवसर खेर गयो ।
७३ औं मिनेटमा भुटनिजका थोमसको उत्कृष्ट प्रहारलाई गोलरक्षक दिप कार्कीले बचाउ गरे । ८१ औं मिनेटमा मनाङका सुमित श्रेष्ठले प्रहार गरेको निकै लामो प्रहारलाई गोलरक्षक पुजन थापा मगरले बचाउ गरे ।
८४ औं मिनेटमा भुटनिजको दोस्रो गोलमा रमेश थापा बाधक बने । भुटनिजका रोजिन प्रजापतिले सेन्टरलाइबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षक दिप कार्की समेत अघि आई जोउन खोज्दा उनले फ्लिक गरेको बलले कार्कीलाई नाघ्दै गएको बललाई रमेशले गोललाइनबाट उत्कृष्ट तरिकाले क्लियर गरिदिए ।
खेलको म्यान अफ दि म्याच भुटनिजका प्रदिप बस्नेत घोषित भए । मनाङ आहा गोल्डकपको सर्वाधि फाइनल खेल्ने टिम समेत हो ।
मनाङले १२ पटक फाइनल खेल्दा ६ पटक उपाधि चुमेको छ । पुलिसले पाँच पटक उपाधि उचालेको छ ।
भुटनिज क्लबको यो दोस्रो सहभागिता हो । यस अघिको संस्करणमा समेत सहभागिता जनाएको भुटनिज एपिएफसंग ३–१ को हार व्यहोरेको थियो ।





