मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

स्वस्थानीको सामाजिक मूल्य र मान्यता

स्वस्थानीको सामाजिक मूल्य र मान्यता


  • माधव शर्मा
  • पुष २४ २०७९, आइतबार

नेपालको सन्दर्भमा तराईमा छठीमाइको व्रत पूजा र पहाडमा श्री स्वस्थानी माताको व्रत हिन्दु संस्कृति र धार्मिक महत्वलाई उचाइमा पु¥याउने, सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने व्रतहरु हुन् ।

हिन्दु धर्मावलम्बीहरुले हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म मनाउने पर्व एवं व्रतको नाम हो– श्रीस्वस्थानीको व्रत । शाब्दिक अर्थमा स्वस्थानी भन्नाले आफू बसेको स्थानकी देवी बुझिन्छ । तिनै देवीको पूजा गर्नु नै स्वस्थानीको पूजा गर्नु हो । सूर्य उत्तरायणपछि योग सिद्धिका लागि उपयुक्त समय निर्माण हुने भएकाले स्वस्थान अर्थात् आफ्नो हृदय वा आत्माशुद्ध अभ्यास गर्नुलाई स्वस्थानी भनिएको जनविश्वास नेपाली समाजमा छ । यस व्रतमा स्वस्थानी देवी र देवादिदेव महादेवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी यो व्रत बसेकी थिइन् र व्रतका प्रभावले उनको मनोकामना पुर्ण भएको थियो । स्कन्द पुराणमा कमलासनमा बसेकी सुवर्ण वर्णीय प्रसन्न मुन्द्राकी, त्रिनेत्रधारी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिएको छ । यस्ती देविको विधिपूर्वक व्रत गरेमा विछोडिएका जोडीको पुनः मिलन हुने, परिवारमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, रोग–व्याधीको भय नहुने, आयू आरोग्यतासहित श्रीवृद्धि हुने, पति वा पत्नीका रूपमा इच्छाएको व्यक्ति प्राप्त हुने जस्ता विश्वास गरिन्छ । यस व्रतको प्रभावले विछोडमा परेका नाग–नागिनीको पुनः मिलन भएको, पुत्र वियोगमा रहेकी गोमा ब्राह्मणीले छोरा नवराजलाई त्यतिबेलाको लावण्य देश अर्थात् वर्तमानमा काठमाडौंको साँखु क्षेत्रको राजा भएको देख्न पाएको कुरा पनि जनविश्वासमा रहेकोे छ ।

यसरी विधिपूर्वक गरिएको व्रतले मानिसका मनोकामना पूरा गर्ने धार्मिक विश्वास हिन्दु धर्ममा रहेको छ । पौराणिक धर्म ग्रन्थहरूमा यस व्रतका प्रभावले शिव पार्वतीको विवाह सम्भव भएको कुरा पनि चर्चा गरिएको पाइन्छ । यस कारण पौराणिक र धार्मिक जनविश्वासका आधारमा यो व्रतकथा चार युगमध्ये चौथो अर्थात् घोर कलियुगमा पनि प्रचलित हुँदै आएको छ । यो व्रत बस्नलाई कर्तापूर्ण एक महिनाका लागि शुद्धतामा त अवश्य रहनुपर्छ, नै व्रत प्रारम्भ हुनुपुर्व तीन अहोरात्र अर्थात् ७२ घण्टा अगाडिबाट विभिन्न नियमहरु पालन गर्नुपर्छ । हिन्दु धर्मले मानवीय चरित्रलाई सत्य र नैष्ठिकताको पथमा हिडाउँछ । यो काम गर्न हुन्छ ।

यो हुँदैन भनेर नियम निर्माण गरेको यो धर्मशास्त्रले यो गर्नै हुँदैन भनेर हस्तक्षेप गर्दैन बरु यदि यस्तो गरिएछ भने यसरी मुक्ति पाइन्छ भन्ने सकारात्मक दण्डको निर्माण गरेको पाइन्छ । यस धर्ममा सजिवदेखि निर्जीव वस्तुसम्म र सुक्ष्मातिसुक्ष्म बोटविरुवा वा झारपातदेखि वृहत्तर वृक्षसम्म पुजा गर्ने प्रचलन छ । त्यसै गरेर सामाजिक सद्भाव र मानवीय मुल्यको प्रत्याभूत गराउन विभिन्न समय र सन्दर्भमा मानिसले मानिसकै पुजा गर्न लगाएर समतामूलक अभियान धर्मले थालनी गरेको अनुभव गर्न सकिन्छ । धर्म आँफैमा धारण गरिने चिज भएकाले जस्ले धर्म एवं नीतिशास्त्रको पालना गर्दछ उस्को भलाई हुने गरेको देख्न सकिन्छ । यस्तै महत्व र सदाचारितालाई आत्मसाथ गरिएको व्रत हो स्वस्थानी, जस्का कारण मानिसहरू एक महिनासम्म सात्विक आहार गरेर शुद्धतामा रहन्छन् । भने हरेक दिन बेलुका स्वस्थानीको कथा श्रवण गरी भजनकिर्तन गरेरपछि शयन गर्ने प्रचलन रहेको पाइन्छ ।

यो व्रत बस्नुपूर्व हात गोडाका नङहरु काटेर स्नान गरी शुद्ध वस्त्र धारण गरेर प्रारम्भ गरिन्छ । व्रतमा प्रत्येक दिन बिहान माघ स्नान गरी मध्याह्नकालमा देवादिदेव महादेवको पूजा गरिन्छ । । मनमा सद्भावनाको विकास गरि बेलुकी स्कन्द पुराणअन्तर्गत केदार खण्डमा रहेको माघ माहात्म्य अर्थात् कुमार अगस्त्य संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेको छ । यो व्रतको प्रारम्भ पुर्व वा पश्चात् भारत वर्षअन्तर्गत पर्ने देवभूमि नेपालका विभिन्न नदीहरु, पशुपतिनाथको मन्दिर, गौरीघाट, गुहेश्वरी, सतीदेवीका विभिन्न अंगहरु पतन भएका धार्मिकस्थल तथा भगवान शिवका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ भने स्वस्थानी व्रत कथामा सबैभन्दा धेरै चर्चा र महिमा प्रस्तुत गरिएको काठमाण्डौंको साँखुस्थित शाली नदी किनारमा व्रतको अबधिभर मेला लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ यो व्रत महिनाभर मनाइन्छ । विशेषतः महिलाहरूले गर्ने यो व्रत गर्ने गर्दछन् । यो व्रत नेपाल लगायत नेपालीहरु पुगेका सबै देश र हिन्दु धर्मावलम्बी भएका राष्ट्रमा लोकप्रिय रहेको छ । नेपालको सन्दर्भमा तराईमा छठीमाईको व्रत पूजा र पहाडमा श्री स्वस्थानी माताको व्रत हिन्दु संस्कृति र धार्मिक महत्वलाई उचाइमा पुर्याउने, सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने व्रतहरु हुन् ।

हिन्दु धर्ममा सङ्ग्रहित १८ पुराणहरुमा ठूलो पुराण स्कन्दपुराणमा उल्लेखित श्री स्वस्थानी माताको व्रतकथामा नेपाल भूमिलाई देवादिदेव महादेवको क्रिडास्थलका रुपमा वर्णन गरिएको छ । सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव पति पाँऊ भनि गरिएको यो व्रत कलियुगका लागि निक्कै फलदायी भएको र धेरै मानिसहरूले विश्वास गरेको व्रत मानिन्छ । नेपालमा रहेका साली नदी, श्लेशमान्तक वन र हिमालय पर्वत लगायतका अन्य धार्मिक स्थल र मठमन्दिरका विषयवस्तु र घटनाहरु यही व्रत कथामा समेटिएका छन् ।

यो व्रतको विधान निक्कै वैज्ञानिक र सार्थक रहेको छ । सात्विक भोजन, देह शुद्धी, शारीरिक अवयबहरु स्थिरता, वाक शुद्धीलगायतका नियमको पालना गरि व्रत बसिन्छ । त्यसैगरी व्रतालुका मन र हृदय एवं समाज शुद्धीकरणका लागि व्रत अवधिभर व्रतालुहरुलाई झैझगडा नगर्नु, झुटो र दुर्वचन नबोल्नु, लोभ, मोह, आशक्ती र द्वेषता त्याग्नु, सबैको भलो चिताउनु, सुत्ने, उठ्ने र आहार गर्ने समयमा एकरुपता ल्याउनु, थोरै खानु, थोरै बोल्नु, धेरै सुन्नु, टाढाको यात्रा नगर्नु, ब्रह्मचर्य को पालन गर्नु, सरसफाईमा ध्यान दिनु, सात्विक भाव मात्र हृदयमा राख्नु जस्ता नियमहरुले व्रतलाई वैज्ञानिकताको दिशामा डोर्याएका छन् ।

यस व्रतमा ब्रतालुहरुले आफ्नो नित्य कर्म सकेपछि पञ्चगब्य प्राशन गरि पुजास्थल र आफुलाई शुद्ध पार्न जल र भुत प्रेतको विघ्न हटाउन जौ तिल र सर्स्यु छर्कनु पर्दछ । त्यसपछी क्रमशः गोदान, प्रतीज्ञा संकल्प, दिप, कलश, गणेशसहित चार वेदको पुजा गरी प्रधान देवताको पुजा गर्नुपर्दछ । र, यज्ञ मण्डपको इशान कोणमा बालुवाको शिवलिङ्ग बनाई पुजा गर्नुपर्दछ । व्रतभरी भगवान शिवको पुजा आराधनासहित शक्तीस्वरुपा भगवती देवीलाई क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीका नामले पूजाअर्चना गरिन्छ । पुजाको आरम्भ र अन्त्यमा आफुले चिताएको पुगोस् भनी श्री स्वस्थानी माता समक्ष अर्घ्य चढाइन्छ । महिनादिनसम्म नित्यरुपमा गरिने यो पुजामा कथा आरम्भ गर्नुभन्दा पहिले र कथा भनिसकेपछि धूप, दिप र आरती गर्नुपर्दछ । आरती र पुष्पान्जली गरिसकेपछि भगवानलाई भोग लगाइएका पन्चामृत सहित पक्वान्न नैवेद्यहरु अन्य उपस्थित वा आमन्त्रित बन्धुवर्गादीहरुलाई वितरण गर्नुपर्छ । आफुले लिएको मनोकामना पुर्ण होस् भनी भगवानलाई साक्षी राखी निकटका व्यक्तिलाई भोजन गराइ आफूले पनि भोजन गर्नुपर्दछ ।

व्रतालुले कथावाचन सम्भव भए आफै गर्नु, आफुले नजाने आफ्नो नजिकका व्यक्तिलाई लगाउनु, त्यो पनि सम्भव नभए पण्डितलाई वाचन गर्न लगाउनु, सुन्ने श्रोता नभए पनि अन्यथा नमानी वाचन गर्नु भन्ने कुरा कथामा वर्णित छ । त्यसैगरी चन्दन, अक्षता, फुल र भेटीसहित भगवती र पुस्तकको पूजा गर्नु पर्दछ । पुर्णतः श्रद्धा भाव प्रकट गरेर गरिने यस व्रतमा रातको समयमा सम्भव भएसम्म जाग्राम र भजनकिर्तन गर्नुपर्दछ । यसरी क्रमशः गरिएको पुजा आराधना माघ महिनाको शुक्ल पूर्णिमाको दिनसम्म गरिन्छ । यस दिनमा नित्य गरिदै आएको पुजा अर्चना, अग्निस्थापनाको विधि अनुरुप हवन र स्वस्थानी माताको समष्टिमा पुजा गरिन्छ । पूजामा बेलीको फुल, पान, जनै, सेलरोटी, सुपारी कुड्का, आरतीका बत्तीहरू, भेटी, अक्षता, जौं, तिल इत्यादी सबै वस्तु १०८ को गणनामा चढाउनु पर्दछ । अन्य फल तथा नैबैद्यहरू यथाशक्ति चढाउनु, पुजा पश्चात् १०८ परिक्रमा र भगवान शिव, पार्वती अर्थात् स्वस्थानी मातालाई ढोग गरी व्रत समाप्तीको सुखानुभुती प्रकट गर्दै स्वस्थानी माताप्रती कृतज्ञता प्रकट गरिदै आएको परम्परा छ । भगवानलाई भोग लगाइएका मिष्ठान्नमा ८ को गणनाका नैवेद्यहरु आफ्ना श्रीमानलाई दिनु, श्रीमान नभएको अवस्थामा छोरा, मित छोरा, दुवै छोरा नभए कार्य पुर्णताको कामनासहित नदिमा बगाई दिनु र अन्य नैवेद्यहरु आफुलगायत इष्टमित्रले ग्रहण गरी रात्रीमा जाग्रम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यसरी श्री स्वस्थानी माताको पुजा गरेपछि समस्त दुःख नाश भइ मनोकामना पूर्ण हुनेछ भन्ने कुरा व्रतकथा र स्कन्द पुराणमा जनाइएको छ । जय श्रीस्वस्थानी माता । स्वस्थानी माताले सबैको कल्याण गरुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->