मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

माघी पर्व

माघी पर्व


  • माधव शर्मा
  • माघ १ २०७९, आइतबार

नेपाल बहुभाषिक, बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो । त्यसैले नेपालका चाडपर्व, रितिरिवाज, परम्परा र संस्कृतिको महिमा विश्वमा अनुकरण योग्य रहेका छन् । यहाँ हिमाल, पहाड र तराईका भिन्न–भिन्न भौगोलिक अवस्थितिमा मानिसको बसोबास रहेको छ भने यिनै पृथक भौगोलिक विशेषताहरुले भरिपुर्ण मानिसहरुका भिन्न सँस्कृती, रितिरिवाज र परम्पराहरुले नेपाली सँस्कृतिलाई जीवन्त बनाउने प्रयास गरिरहेका छन् । अनेकतामा एकताको सन्देश प्रवाह गर्ने हाम्रा संस्कृतीहरुमा हाम्रा चाडपर्वहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन्छन् ।

माघे संक्रान्ती पनि यस्तै विविध विशेषताहरुले युक्त पर्व हो । हिन्दु धर्ममा भगवानको रुपमा पुजा गरिने एक देवताको नाम हो सुर्य, सुर्य बाह्र महिना बाह्र राशीमा परिभ्रमण गर्दछन् । वैशाखबाट क्रमशः मेष राशीहुँदै चैत्रमा मीन राशीमा पुगेर वर्ष समाप्त हुन्छ । र, पुनः मेषराशीको प्रवेशसंगै हामीहरुले नयाँ वर्ष अथवा नयाँ सम्वत्सरको आगमनलाई नविनतामा पुर्णताको आशासहित खुशी र हर्षका साथमा भित्र्याउँछौं । यिनै महिनामध्येको एक महत्वपुर्ण महिना हो माघ, हो त्यहि माघ महिनाको पहिलो दिन अर्थात् सक्रान्तिलाई माघे सक्रान्ति भनिन्छ । सुर्यको राशीअनुरुप मकर सक्रान्ती भनेर चिनिने यस दिनलाई हिन्दु धर्मावलम्बीहरुले विशेष चार्डको रुपमा मनाउँछन् । माघे सक्रान्ति, मकर सक्रान्ती र माघी पर्वका नामले चिनिने यस पर्व नेपालको एक प्रमुख चाडको रुपमा रहेको छ । सूर्यले आफ्नो भ्रमणलाई एक सम्वत्सरमा बाह्र राशिमा परिभ्रमण गर्दछन् ।

ज्योतिषी मान्यता अनुरुप सुर्यको यस भ्रमणले राशी, मास र वर्षलाई प्रभावित गर्छन् भन्ने मान्यता मुताविक सूर्यको कर्कट र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । त्यसैले हाम्रो सामाजिक र धार्मिक परम्परा अनुसार साउने सक्रान्ती (कर्कट सक्रान्ती) र माघे सक्रान्ती (मकर सक्रान्ती)लाई विशेष महत्व सहित पर्वका रुपमा मनाउने प्रचलन छ । एक वर्षलाई एक सम्वत्सर मानिन्छ जस्मा अहिले नल नामको सम्वत्सर चलिरहेको छ । सुर्य वर्ष अनुसार दुई खण्डमा विभाजन गरिएको हुन्छ, जस्लाई सुर्य उत्तरायण र दक्षिणायन भनिन्छ । साउनमा सुर्य पृथ्वीको उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धमा प्रवेश गर्दछन् र दिन छोटा र रात लामा हुन्छन् भने माघ महिनाबाट सुर्य पृथ्वीको दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने धार्मिक विश्वास रहेको छ । त्यसैगरी माघे संक्रान्तिकै दिनदेखि पृथ्वीमा माङ्गलिक कार्यहरू जस्तैः गृह प्रवेश, तीर्थ यात्रा, विवाह, ब्रतबन्ध, रुद्रि, अग्नि पुजन, जप, तप एवं अन्य शुभ कार्यहरू गर्न सर्वोत्तम मानिन्छ ।

नेपालमा माघे (मकर) सक्रान्ति पर्वमा देशका विभिन्न शक्तिपिठहरु भएर बग्ने नदिहरु तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र, पाल्पाको रिडी, बागलुङको ज्यामिरघाट, भक्तपुरको लेले, काभ्रेको पनौती, काठमाण्डौको पशुपति मन्दिर आर्यघाट, गोकर्ण, साली नदि, गोरखाको बुढीगण्डकी, दाङको देउखुरी कुण्ड, पर्वतका मोदीवेनी र सेतीवेनीलगायत दोलालघाट, दामोदर कुण्ड, बेत्रावती, कागवेनी जस्ता स्थानमा भक्तजनहरुले स्नान, दान र पितृहरुलाई तर्पण दिएर भगवानको पुजाआजा गर्ने प्रचलन छ । यी स्थानहरुमा हरेक वर्षको माघ महिनामा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । भने, नेपालका केही शक्तिपिठ र नदि किनारहरुमा माघेसक्रान्ती मेला लाग्ने गरेको पाइन्छ । हिन्दु धर्ममा प्रचलित विभिन्न धार्मिक ग्रन्थ एवं पुराणहरुमा शिशिर ऋतुमा पर्ने यस पर्वमा स्नान गरि शुद्ध भएर घ्यू, चाकु, तिलका लड्डु, सुठुनी, वन तरुल, खुदो, नयाँ वस्त्र, जलपुर्ण घडा, र अन्नसहित सिदा सत्पात्र अथवा आफ्ना भान्जा एवं ब्राह्मणलाई दान गर्नाले पुण्य मिल्दछ । तिलको तेल र सख्खरको दानले शरीरमा निर्मलता प्राप्त हुने र पाप नाश हुने कुरा बताइएको छ ।

यस दिन भोजन गरिने विभिन्न मिष्ठान्न एवं परिकारहरुले मानिसका शरीरलाई पौष्टिकता प्रदान गर्ने र निरोगीपन थपिने साथै मानिस थप उर्जावान बन्ने धार्मिक विश्वास पनि रहिआएको छ । यस दिन स्नान गरेर शुद्ध भए पश्चात् सत्पात्र एवं ब्राह्मणहरुलाई पवित्र हृदयद्वारा भोजन गराई उनीहरूलाई जुत्ता, कम्बल र जलपात्र दान गरी आफ्ना पितृहरूलाई तृप्त पारेको अनुभव गर्नाले वैगुण्ठलोक प्राप्तिको लागि अधिकार प्राप्त हुने भनाई पुराणहरुमा जनाइएको छ । यस दिन धार्मिक मान्यताका आधारमा पुजा सम्पन्न भए पश्चात् आफ्ना चेलिबेटी, भान्जाभान्जी, परिवारका अन्य सदस्य, आफन्त, इष्टमित्र र मान्यजनहरु एक ठाउँमा जम्मा भई दुखसुख साट्ने र हर्षोल्लासका साथमा मनोरञ्जन लिने कार्य गरिन्छ । राम्रो लगाउने, मीठो खाने र अरुको भलाई हुने कार्य गर्ने/गराउने यस पर्वमा आफ्ना गुरु, पुरोहित, र ब्राह्मणहरु आ–आफ्ना यजमानको घरमा गएर शुख, शान्ति, समृद्धि एवं उन्नतिको आशिर्वाद दिने र माघी पर्वको महत्व दर्शाउने प्रवचन गर्ने प्रचलन पनि नेपालमा रहिआएको छ । शरद र हेमन्त ऋतुको समयमा चिसोका कारण शरीरमा धेरै किसिमका शारीरिक कमजोरीहरु देखा पर्ने भएकाले ती शारीरिक कमजोरीहरुलाई मेटाउन गर्मीको मात्रा बढाउने र शरीरमा थप शक्ति दिने भोजन ग्रहण गराउने पर्वका रुपमा पनि यो पर्वलाई लिइन्छ । नेपाली सँस्कृतीमा माघ महिनाको प्रारम्भदेखि नै धेरै समाज र समुदायमा बूढो खुवाउने परम्परा रहेको छ । जस्लाई हाम्रो धार्मिक मान्यता अनुसार वैज्ञानिक मान्न सकिन्छ । किनकी वृद्धवृद्दाहरु र बालबालिकालाई छिटो चिसोले समात्ने भएकाले बूढो खुवाउने परम्परा र बालबालिकाहरु भगवान् हुन भन्ने सोचको विकास गरि उनीहरुलाई सबै नीति नियमहरुबाट स्वतन्त्र छोडिएको हुन्छ । यस भनाई अनुसार यस पर्वमा मास, मेथी, ज्वानो राखेर पकाइएको तेल शरीरमा लगाउनुपर्छ जसको प्रभावले शरीरको चिसो सोस्ने गर्दछ, भने मासको दाल, अदुवा, घ्यू, चामल एकै ठाउमा पकाएर सख्खरसंग खाने प्रचलन निक्कै पुरानो र हितकारी रहेको सिद्ध हुन्छ । माघे सक्रान्तीसंग सम्बन्धित यस्ता वैज्ञानिक नियमहरुले मानिसका छाला सम्बन्धी विभिन्न रोगहरु नाश हुने विश्वास गरिन्छ ।

यस पर्वलाई नेपालमा भिन्न भिन्न रुपले मनाउने प्रचलन रहेको छ । तराई मधेसमा बसोबास गर्ने थारु जातिले नयाँ वर्षका रुपमा माघी मनाउँछन् । उनीहरुले वर्षभरिको पाप पखालीने विश्वासका साथ यस दिन तिलको आगो ताप्ने चलन छ । तराई र सुदूर पश्चिमका जिल्लाहरूमा कमैयाका रूपमा बसेका मानिसहरुले माघबाट नयाँ वर्ष प्रारम्भ हुने मान्यताका आधारमा आफ्ना साहुसंग आफ्नो वर्षभरिको हिसाबकिताब गर्ने वा खोज्ने प्रचलन रहेको छ । साथै, कमैयाहरुले आफ्नो मालिकसंग वैमनस्यता भएमा साहु फेरेर नयाँ साहुको घरमा काम गर्न जाने चलन पनि रहेको छ । हिमाल तथा पहाडी जिल्लाहरूमा पशुपंक्षी एवं अभयहरु किनबेचमा यहीँ संक्रान्ति वा महिनाको भाका राख्ने चलन थियो भने तराइ मधेसमा वर्षभरिका कारोबार एवं लेनदेनको पुर्णरुपमा हिसाबकिताब गरिने मुख्य समयका रूपमा पनि यस पर्वलाई लिइन्थ्यो । हिमाली, पहाडी तथा देशका अन्य भुभागमा बसोबास गर्ने मगर जातिले माघ्या÷सेर्ल्हेस भनेर माघीलाई मुख्य चाडका रूपमा धुमधामको साथ मनाउँछन् । नेपालका हिमाल, पहाड र तराईका साथै अन्य देशहरुमा बसोबास गर्ने नेपाली बाहुन, राई, क्षेत्री, लिम्बु, गुरुङ, नेवार आदि सबै जातजातीले माघे सक्रान्तिलाई आआफ्ना रितिरिवाज र परम्परा अनुसार मनाउने गरेको पाइन्छ ।

यसरी माघे संक्रान्ति पर्वले नेपाल जस्तो हिन्दु संस्कृति र परम्परा भएको देशमा वर्षौदेखी विशेष महत्व, सामुहिक जीवनशैली र रीतिरिवाजलाई जीवन्त बनाउने प्रयत्नका साथ नेपालीहरुको पहिचान र हिन्दु धर्मको धार्मिक आस्थालाई विश्वसामु प्रस्तुत गरेको यथार्थ भेट्न सकिन्छ । हाम्रा धार्मिक चाडपर्व र रितिरिवाजले मानवीय जीवनको आयुआरोग्यता, व्यवहार, सामाजिक नियम र नैतिकता, आर्थिक समुन्नति, लाभ र सांस्कृतिक महिमा जस्ता विषयलाई समेट्छन् । नेपालभित्र र बाहिर मनाइने विभिन्न जाती र समुदायका चाडपर्व, रितिरिवाज र परम्पराहरुले एकअर्कामा आत्मियता, सामाजिक सद्भाव, कल्याणको भावना र परोपकारी कार्यमा लाग्न प्रेरित गरेको पाइन्छ । यहाँ बसोबास गर्ने मानिसहरुमा रिस, द्वैष, शत्रुता र घमण्डका भावहरु पैदा हुनबाट जोगाउन, परिवारबाट टाढा रहेका मानिसहरुको मिलन गराउन, सामाजिक एकताको सन्देश प्रवाह गर्न र सामाजिक नीतिनियमको बोध गराउनुका साथै आफन्त, इष्टमित्रमा आत्मियताको भाव जागृत गराउनमा माघी पर्व लगायतका चाडपर्वहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->