
पोखरा / कास्कीमा अहिले मौसममा आंशिक बदली छ । तर, पानी पर्ने अवस्था नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठले पोखरालगायत स्थानमा पानी पर्ने सम्भावना अत्यन्त न्यून रहेको बताए ।
‘पोखरामा पानी पर्ने अवस्था छैन । बदलीको अवस्था छ,’ उनले भने, ‘देशका कुनै पनि भूभागमा पानी त्यस्तो पर्ने सम्भावना छैन । उच्च पहाडी र हिमाली भूभागमा चाहिँ हल्का हिमपात हुनसक्छ ।’
पोखरा आसपासलगायत स्थानमा अहिले आंशिक बदली मात्र भएको उनले बताए । उनका अनुसार आंशिक बदली हुँदा १० देखि २० प्रतिशत आकाशलाई बादलले ढाक्ने हुन्छ ।
‘आंशिक बदली भनेको १० देखि २० प्रतिशत आकाशलाई बादलले ढाकिएको र सामान्य बदली भनेको चाहिँ ३० देशि ५० प्रतिशतसम्म आकाश ढाकिएकोलाई सामान्य बदली भनिन्छ,” उनले भने ।
आंशिक बदली हुँदा भिजिबिलिटी कम नहुने उनले जानकारी दिए । उनका अनुसार मौसममा बदलीकै कारण अहिले पोखरा आसपासलगायत स्थानमा भिजिबिलिटी कम भएको छैन ।
‘भिजिबिलिटी कम हुँदैन । भिजिबिलिटी कम भएको छैन । अहिले बिहानपखचाहिँ हुस्सु/कुहिलो गर्दाखेरि केही भिजिबिलिटी कम भएको हुनसक्छ,’ उनले भने, ‘तर, बदलीले मात्रै भिजिबिलिटी कम गराउँदैन । जमिनी सतहमा भएको पारदर्शीता पनि बदलीले घटाउँदैन ।
आज बिहान पौने ६ बजे पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्यलाई आज पनि निरन्तरता दिइँदै छ । हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।
हिजो दिनभरि नै उद्धारकार्य गरिएको थियो । रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६९ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।





