
पोखरा / यती एयरलाइन्सको आईतवार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु भएर पहिचान खुल्नेमा पोखरा-११ का ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा- १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा-१७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा-४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर रहेका छन् ।
पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल, पोखरा-१३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा-७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा-९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी-१ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा-२२ का रक्की गुरुङ छन् ।
यस्तै, रुपन्देही शंकर-८ का डा. गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा-८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती-६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएर पहिचान खुलेका शव आजै परिवारलाई जिम्मा लगाइने र पहिचान नखुलेका शव काठमाडौं पठाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसीले जानकारी दिए ।





