पोखरा/ ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ ।
विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने ।प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर ।
उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।
फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ । त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो–पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ । ‘कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा नोट हुन्छ र त्यसबाट विमानको प्राविधिक पक्षको विश्लेषण गर्ने हो,’सुमनले भने । तर कतिपय साना र ट्विनअटर विमानमा यो हुँदैन । यसअघि मुस्ताङमा दुर्घटनामा परेको तारा एअरको ट्विनअटर विमानमा यस्तो उपकरण थिएन ।
ककपिट भोइस रेकर्डरमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ । यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ । यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड हुने सुमन बताउँछन् । दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा संग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन् । ‘पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को–पाइलटलाई जानकारी दियो कि दिएन, यात्रु र टावरलाई दियो कि दिएन त्यो कुराहरूको आवाज सुनेपछि धेरै थाहा हुन्छ,’ यसअघिको तारा एअर दुर्घटना जाँचबुझ समितिका संयोजक समेत रहेका सुमनले भने ।
पुराना जहाजहरूमा म्याग्नेटिक टेपमा यस्तो आवाज रेकर्ड हुन्थ्यो र सुन्नका लागि विदेश जानुपर्ने बाध्यता थियो ।
नागरिक उड्डयन प्राधिकरणको हवाई दुर्घटना अनुसन्धान शाखामा लामो समय काम गरेका इन्जिनियर सुमनले आफू सन् १९९२ मा ककनीमा दुर्घटना भएको थाई एअरको सीभीआर लिएर क्यानडा गएको बताए । ‘म आफैं ब्ल्याक बक्स लिएर क्यानडा र फ्रान्स गएको छु । तर अहिले धेरै काम नेपालमै हुन्छ,’ उनले भने । पछिल्ला विमानहरूमा यस्तो आवाज डिजिटल माध्यममा रहने र नेपालमै सुन्न सकिने सुमनले बताए । पछिल्लो समय नेपालमै ब्ल्याक बक्सको विश्लेषण हुने भए पनि फ्लाइट डेटा रेकर्डरको कतिपय अध्ययनका लागि विदेशी विशेषज्ञहरूको पनि सहयोग लिने गरिएको छ ।





