बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरामा अवतरण गर्न लागेको विमानमा चरा ठोकियो

पोखरामा अवतरण गर्न लागेको विमानमा चरा ठोकियो


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७९, बुधबार

पोखरा/ पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना सेलाउन नपाउँदै मंगलबार अवतरणको क्रममा रहेको अर्को विमानमा चरा ठोकिएको छ । विमानमा चरा ठोकिँदा संकटापन्न सूचीमा रहेको ‘गोमायु महाचील’ पंक्षी मरेको छ ।

तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भने यसलाई स्विकार गर्दैन । विमानसँग ठोकिएर मरेको चरा विमानस्थल परिसरमा नै खसेपछि कर्मचारीहरुले त्यसलाई हटाएका छन ।
तस्बिरमा पनि विमानस्थलका कर्मचारीहरुले भुइँ सफा गर्दै गरेको देखिन्छ ।

चरा ठोकिएर दुर्घटना हुनबाट बचेतापनि विमानस्थलका प्रमुख विक्रमराज गौतमले कुनै घटना नभएको बताएका छन ।

तर, सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले, ‘विमानमा चरा ठोकिएर भुइँमा खसेको आफूले प्रत्यक्ष देखेको’ उल्लेख गरेका छन । “ …. यो घटनालाई गुपचुप नै राखियो किन कि, अस्तिको घटनाको त्रासदी नसकिँदै अर्को घटना सुनाउँदा जनमानसमा नकारात्मक समाचार फैलिने डरले त्यो घटना बाहिर ल्याइएन । त्यो पंक्षीको एक मिटर दुरीबाट खिचिएको तस्बिर कुनै अवस्थामा चाहियो भने म सँग सुरक्षित छ ।” उनले लेखेका छन ।

क्रममा चरा ठोकिएको विमानले मंगलबार दोश्रो उडानका रुपमा अवतरण हुँदै थियो ।
चरासँग ठोक्किएको उक्त जहाज दिउँसो १ः १५ मा पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।

स्रोतका अनुसार विजयपुरबाट अवतरण गर्ने क्रममा धावनमार्ग छुनासाथ लोपोन्मुख उक्त पंक्षी विमासँग ठोकिन पुगेको थियो । विमानमा चरा ठोकिएपछि विमानस्थल टावरलाई चालक दलले ‘बर्ड हिट’ को जानकारी पनि गराएको थियो । तर, विमानमा कुनै समस्या नदेखिएपछि उक्त विमान यात्रु बोकेर काठमाण्डौ गएको थियो ।

विमानस्थल परिसरमा कर्मचारीहरुले भुइँ पुछिरहेको देखेका एक प्रत्यक्षदर्शीले ‘कर्मचारीले उक्त घटना लुकाउन खोजेको’ बताएका छन ।

उनी भन्छन, “विमानस्थलमा धेरै साइरन बजेपछि म घरको छतमा उक्लिएको थिएँ । एकजना भाइले चरा ठोकिएछ भनेर भन्नुभयो । मैले हेर्दा विमानस्थलमा कर्मचारीहरुले रनवे सफा गरिरहेका थिए ।”

फ्लाइट अवतरण हुने बेलामा विमानको पखेटामा चरा ठोकिएको र अवतरणको क्रम भएर यात्रुहरुले थाहा नपाएको हुनसक्ने उनले बताए । पंखामा ठोकिएपछि पंखा चेक गरेर विमान चाहिँ काठमाण्डौ नै फिर्ता गएको उनले बताए ।

यता, विमानस्थल प्रमुख विक्रम गौतमले एयर मिस भएको तर, ‘बर्ड हिट’ नभएको बताए । “मान्छेलाई के छ भने जहाजको नजिक चरा गए ठोकियो भन्ने छ । जहाजको हावाले चरा भुइँमा खस्ने हुन्छ, त्यस्तो इस्यु केही पनि होइन । म सँग इन्फर्मेसन पनि थिएन । चरा मरेको भन्ने सूचना हामीसँग नै छैन ।” उनले भने ।

विज्ञहरुका अनुसार विमानस्थल नजिकै रहेको पुरानो ल्यान्डफिल साइटमा १०८ प्रजातीका चराहरु पाइन्छन । यहाँ विश्वमै दुर्लभ मानिएका गिद्ध, महाचिल, सेतो गिद्ध, डंगर, सानो खैरो गिद्ध लगायतका चराहरुको बासस्थान पनि छ । अहिले ल्याण्डफिल साइट सरेतापनि चराचुरुङ्गीको आवागमन भने उस्तै छ । विमानस्थलले चरा धपाउनकै लागि भनेर सवारीसहित दुई कर्मचारी नै खटाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->