पोखरा/ पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
प्रेसर र सुगरसंगै महोत्सवमा आउने दर्शकहरुले तीनवटै स्वास्थ्य संस्थाबाट अन्य चेकजांचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिए । महोत्सवको सातौ दिनमात्रै दुई सय जनाले सुगरको निशुल्क परिक्षण गरेका छन । महोत्सवमा प्रत्येक दिन सुगर र प्रेसरको निशुल्क परिक्षण गराइरहेको समेत पनेरुले बताए ।
महोत्सवको सातौ दिन सम्म आइपुग्दा साढे तीन करोडको कारोवार भएको र असी हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । बानियाका अनुसार महोत्सवमा विशेष गरी जाडो यामका सामाग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतिय प्रयोजनका सामग्रीसंगै तरकारी जन्य सामग्रीहरुको बिक्रीवितरण भएको छ ।





