बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

दुर्घटनाको अध्ययनमा जहाज निर्माता टोली

दुर्घटनाको अध्ययनमा जहाज निर्माता टोली

एक यात्री अझै बेपत्ता ।


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७९, बिहिबार

पोखरा/ पोखरामा माघ १ गते दुर्घटना भएको एटीआर ७२ जहाज फ्रान्समा बन्छ । फ्रान्स र इटालीका संयुक्त लगानीमा सन् १९८१ मा स्थापित कम्पनीको मुख्यालय पनि फ्रान्समै छ ।

यो कम्पनीले उत्पादन गर्ने एटीआर ७२ संसारकै सुरक्षित हवाइजहाज मानिन्छ । एटीआर ७२ जहाजमा २ वटा इन्जिन रहन्छन् । दुईवटा इन्जिन हुनु नै यो जहाजको विशेषता हो । तर, एटीआरको इतिहासमै सबैभन्दा बढी अर्थात् ७२ जनाको ज्यान जाने गरी दुर्घटना भयो । एभिएसन सेफ्टी नेटवर्क (एएसएन)का अनुसार एटीआर ७२ शृंखलाका जहाज सम्मिलित हालसम्म ठूला साना गरी ६६ वटा दुर्घटना भएका छन् । जसमा मानिसको ज्यानै जाने गरी १२ वटा मात्रै दुर्घटना भएको एएसएनले जनाएको छ । एटीआर ७२ जहाजसन् १९९४ मा पहिलोपटक अमेरिकामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ६८ जनाको मृत्यु भएको थियो । त्यसयता एटीआर ७२ जहाज क्युबा, इरान, लाओस, ताइवान, रसिया, इटाली र थाइल्यान्डमा दुर्घटना भएको छ ।

धेरै मान्छेको ज्यान जानेगरी एटीआर ७२ दुर्घटनामा परेसँगै अध्ययनको लागि निर्माता कम्पनीले विशेषज्ञको टोली पोखरा पठाएको छ । फ्रान्सबाट आएको नौ सदस्यीय टोलीले दुर्घटनास्थलको अवलोकन र जहाजका भग्नावशेषको अध्ययन गरेको छ । सो टोलीले नेपालमा रहँदा गर्ने कार्यतालिका सार्वजनिक गरेको छैन । बुधबार पनि टोलीले यहाँका स्थानीय र संचारकर्मीसँग कुरा गरेन । तर, स्रोतका अनुसार त्यो दिनको उडानमा संलग्नहरुसँग भने टोलीले जानकारी लिएको छ ।

दुर्घटनालगत्तै नेपाल सरकारले पनि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । सो समितिले ४५ दिनभित्र दुर्घटनाका कारण र आउँदा दिनमा हवाइ सुरक्षाको लागि अवलम्बन गर्नुपर्ने सुधारका कदमहरुबारे सुझाव पेश गर्नेछ ।

एक यात्री अझै बेपत्ता ।

माघ एक गते सेती खोंचमा भएको यतीको जहाज दुर्घटनामा परेका एकजना यात्रुको अझै पत्तो लागेको छैन । निरन्तर सेती खोंच र दुर्घटना भएको क्षेत्रमा खटिएको उद्धार तथा खोज टोलीले बुधबार पनि उनलाई नभेटेको हो । विमानमा यात्रारत अन्य ७१ जनाको भने निधन पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->