पोखरा / गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल रहेका १२ मन्त्रालय घटाएर ९ पुराउने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा मुख्यमन्त्री अधिकारी रहेका छन् ।
मन्त्रालयको संख्या घटाउने र सरकारमा आबद्ध गठबन्धनका दलहरुको सहमतीमा मन्त्रिपरिषद परिषद विस्तार गर्ने सोचमा मुख्यमन्त्री अधिकारी रहेको सरकारका प्रवक्ता एवं मन्त्री सीता सुन्दासले बताइन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिलाई भेटर आएका मुख्यमन्त्री अधिकारीले आफुले पहिलैके अवस्थामा ७ वटा मन्त्रालय बनाउन चाहेका छन् । केन्द्रिय गठबन्धनका शिर्ष दुई नेता प्रचण्ड र ओलिले पनि सम्भव भएसम्म ७ वटा मन्त्रालय बनाउदा राम्रो हुने सल्लाह दिएका छन् ।
तर प्रदेशका गठबन्धनका नेताहरुले मुख्यमन्त्री अधिकारीलाई ९ वटा मन्त्रालय बनाउन सुझाएका छन् । उनीहरुले पहिलेका १२ वटा मन्त्रालय घटाएर ९ वटा मन्त्रालय बनाउदा राम्रो हुने सल्लाह दिएको सत्ता गठबन्धनका एक नेताले ढोरपाटनलाई वताए । पार्टीभित्र र वाहिरका विभिन्न क्षेत्रका विज्ञहरुको संगको छलफल र परामर्शमा पनि ९ वटा मन्त्रालय बनाउदा राम्रो सन्देश जाने सुझाव आएको छ ।
१२ लाई ७ मन्त्रालय झार्दा केही केही कार्यक्रम हराउने भएकाले ९ मन्त्रालय नै उपयुक्त हुने सुझाव आएको मन्त्री सुन्दासले वताइन । कतिपयले मन्त्रालय कायम नै राखेर मन्त्री मात्रै घटाउने सल्लाह पनि दिएका छन् ।
मुख्यमन्त्री मन्त्रालयको संख्या घटाएर पहिलेकै अवस्थामा झार्ने तयारीमा हुनुहुन्छ,’ मन्त्री सुन्दासले भनिन्, ‘केन्द्रको निर्देशन पनि त्यही अनुसार छ । प्रदेशमा कतिपय व्यक्तिबाट ९ मन्त्रालय कायम राख्नुपर्ने सुझाव पनि आएको छ ।’
अहिले प्रदेशमा मन्त्रालयको संख्या बढी भएकोले संघियता र प्रदेश संरचनाप्रति नै नकारात्मक टिप्पणी हुन थालेको छ । मुख्यमन्त्री स्वयम पनि मन्त्रालाय घटाउदा बाहिर राम्रो सन्देश जाने र पाटीभित्र मन्त्री बनाउन नसक्ने सांसदहरुलाई चित्त बुझाउन पनि सहज हुने निश्कर्षमा पुगेका छन् ।
सुरुमा मुख्यमन्त्रीले केन्द्र सरकारले पूर्णता पाएपछि प्रदेश सरकारले पनि पूर्णता पाउने वताएका थिए । तर अहिले मुख्यमन्त्री १/२ दिन घरायसी काममा रहेको र १/२ दिन गठबन्धन दल र शिर्ष नेताहरुसंग छलफल र सल्लाह गर्नुपर्ने भएकोले अर्काे साता मात्रै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ ।
मुख्यमन्त्रीसंगै नियुक्त भएका तीन मन्त्रीका लागि जिम्मेवारी दिने कि भन्ने छलफल चलेको भए पनि मन्त्रालयको टुंगो लगाएर मात्रै जिम्मेवारी दिने निर्णय भएको छ । मुख्यमन्त्रीसँगै पुस २५ मा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सिता सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
अहिले तीनै जना मन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने र आउने काम मात्रै गर्दै आएका छन् । ‘मन्त्रालयको जिम्मेवारी नपाएपछि मन्त्री भएपनि व्यक्तिगत र पार्टीका काममा व्यस्त रहेको मन्त्री चुमानले वताए । उनले मन्त्रालयको टुंगो लागेपछि मात्र आफूहरूको जिम्मेवारी तोकिने बताए ।
अर्का मन्त्री गुरुङले पनि एक साताभित्रमा मन्त्रालयको टुंगो लाग्ने बताए । उनले प्रदेश सभामुख, उपसभामुखको निर्वाचन पनि सकिएकोले अब मन्त्रिपरिषद् विस्तारको काम छिट्टै हुने बताए । ‘हामीलाई न बस्ने ठाम छ न गर्ने काम,’ उनले भने, ‘मुख्यमन्त्रीकोमा जाने/आउने मात्र काम भएको छ ।’





