पोखरा / पोखरा ३ नदीपुर स्थित माउण्ट अन्नपूर्ण मा.वि.ले शितकालिन खेलकुद शिविर सम्पन्न गरेको छ ।
जाडो बिदाको सदुपयोग गर्दै विद्यालयले ‘शितकालिन खेलकुद शिविर’ आयोजना गरेको थियो । पुष ३० गतेबाट शुरु भएको खेलकुद शिविर माघ ६ गते सम्पन्न भएको हो ।
औपचारिक रुपमा शिविर सम्पन्न भएपनि माघदेखि हरेक शनिबार जारी रहनेछन् । १४ बर्षमुनिका विद्यालयका र विद्यालय आसपासका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।
खेलकुद शिविरमा एथलेटिक्स, थ्रो बल, ह्यान्डबल, बास्केटबल लगायतका खेलको आयोजना भएको थियो ।
उक्त प्रतियोगितामा २९ विद्यालयका २ सय ५० बढी खेलाडीको सहभागिता रहेको थियो ।
यस्तै ९३ जना खेलाडी प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्दै पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा ३ का वडाअध्यक्ष प्रकासमान उदासले जाडो बिदाको समयमा विद्यालयले आयोजना गरेको कार्यक्रमले बालबालिकामा सकरात्मक असर गर्ने बताए ।
उनले जाडोको समयमा अधिकांश विद्यार्थीहरु मोवाइल तथा अन्य अनावश्यक कुरामा भुल्ने गर्दा विद्यार्थीमा नकरात्मक असर गर्दै गर्दा विद्यालयले आयोजना गरेको खेल गतिविधिले विद्यार्थीलाई खेलकुदका साथै स्वस्थ्य रहन समेत टेवा पुगेको सुनाए ।
कार्यक्रम संयोजक अशोक कुमार शाहिले पौष खेल शिविर बारेमा बोल्दै छिमेकीमैत्री कार्यक्रमका रहेको सुनाए ।
नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा विद्यालयका डाइरेक्टर तेज बहादुर गुरुङले खेलले विद्यार्थीहरुलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै स्वस्थ्य भएपछि पढाइलेखाईमा पनि मद्धत पुग्ने बताए ।
बालबालिकाको सर्वार्गिण विकासका लागि खेलकुदले राम्रो योगदान दिने उनको भनाइ रहेको थियो । बृहत नारायणथान क्षेत्र विकास समितिका सचिव तथा पोखरा महानगर वडा नं. ३ का वडासदस्य सनकमान सिकेले विद्यालयले गरेको यो खेलकुदको कार्य प्रशंसा गर्न योग्य रहेको सुनाए ।
कार्यक्रममा नदीपुर प्रहरी बिटका हवल्दार देव बहादुर घर्ती, वडा नं. ३ मा रहेका ८ टोलका प्रतिनिधि, युवा क्लब, बुहारी समुह, नेवा मिसा पुच,
गुठी तथा समाजघर प्रतिनिधि, विद्यालय प्रशासनका सदस्यहरु, कक्षा ११ तथा १२ मा क्रियासिल खेलकुद क्लब, सामाजिक सेवा क्लब, कला, संगीत तथा साहित्य क्लब तथा विद्यार्थीहरुको सहभाथिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज प्रकास प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लेखा प्रमुख नवराज शर्मा पौडेलले गरेका थिए ।





