बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पत्रकार त्रिभुवनको स्मृतिमा अक्षयकोष र पत्रकारिता पुरस्कार स्थापना

पत्रकार त्रिभुवनको स्मृतिमा अक्षयकोष र पत्रकारिता पुरस्कार स्थापना


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७९, सोमबार

पोखरा / नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा सोमबार बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

१० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक बर्ष पौडेलको स्मृतिमा ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ । महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरे जुटाउने महासचिव सुवेदीले बताए ।

उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई प्रदान गरिनेछ । पुरस्कार सम्बन्धि कार्यविधि पछि बनाइने प्रदेश सदस्य रञ्जिता शर्माले बताईन । ‘अहिलेलाई अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ । यही कोषबाट हरेक वर्ष हाम्रा संस्थापक अध्यक्षको स्मृतिमा प्रदेश स्तरीय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । यसको कार्यविधि पछि बनाइने छ’ शर्माले भनिन् ।

पत्रकार महासंघ गण्डकीले सोमबार नै पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जली सभामा कार्यबाहक अध्यक्ष सोनी शर्माले गण्डकी प्रदेश मात्र नभई सिंगो पत्रकारिताको क्षेत्रमा पौडेलको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जना सहित पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेलको निधन भएको हो ।

पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकारका साथै त्यसअघि महासंघ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भएका थिए । राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट २ दसकभन्दा अघि पत्रकारिता सुरु गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आवद्ध भई पत्रकारिता गरे । पछिल्लो समय उनी पोखरा हटलाइन दैनिकको प्रकाशक सम्पादक थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->